पाँचलाख पचाउन ज्वाइँलाई जेल, छोरी बिक्री, छोरीको पेटमा अर्कैको गर्भ
ज्वाइँले साउदी अरबको तातोमा पसिना बेचेर कमाएको पैसामा आँखा लगाउने सासुससुराले कतिसम्म गर्छन् भन्ने उदाहरण जनकपुरमा देखिएको छ । ज्वाइँले पठाएको पैसा छोरीसँग लिएका सासुससुराले ज्वाइँ नेपाल फर्किएपछि हतियारको मुद्दामा फसाएर जेल पठाएका छन् र छोरी बेचेका छन् । हो, यो नेपालकै पवित्र धाम जनकपुरको हो, जहाँ सीता र रामको नाम जोडिएको छ । यही धुनषामा ज्वाइँको पाँचलाख रुपैयाँ पचाउन ज्वाइँलाई जेलमा सडाउने र छोरी बेच्ने काम भएको छ ।
छोरीसँग लिइएको पाँचलाख सापटीमा बेइमान गर्न रघुनाथपुर–८ का मिश्री ठाकुर बरही र कुमारी ठाकुरले ज्वाइँलाई जेल हालेको र छोरीलाई बेचेको आरोप लागेको छ । धनुषा पटेर्वा–३ का २८ वर्षीय ज्वाइँ विष्णु ठाकुरलाई हतियारसहित फसाएर जेल पठाइएको र २३ वर्षीया छोरी सुशीला ठाकुरलाई बेचेको रहस्य खुलासा भएको हो । ज्वाइँ डेढ वर्ष जेल जीवन बिताएर बाहिर आएपछि रहस्य सार्वजनिक भएको हो ।
यस्तो छ घटना
विष्णु र सुशीलाको विवाह २०६६ मा सामाजिक परम्पराअनुसार भएको थियो । निम्न घरपरिवारका शुशीलाका पति विष्णु बिहे भएको दुई वर्षपछि परिवारको भविष्यका लागि वैदेशिक रोजगारीका लागि साउदी अरब गए । उनले विदेशमा मिहिनेत साथ कमाएको पैसा पत्नीका नाममा घर पठाउने गरेका थिए । सुशीलाले पतिले पठाएको रुपैयाँले घर खर्च चलाउने र बचत गगर्दै आइन् ।
विदेशबाट ज्वाइँले पठाएको पैसामा सुशीलाका आमाबुबाको नजर परेपछि पैसा हात पार्ने दाउ निकाले । उनीहरुले छोरी र ज्वाइँलाई फकाई विभिन्न बहानामा सापटीका नाममा पटक–पटक पाँच लाख ५० हजार रुपैयाँ लिए । सुशीलाले भनिन्, ‘पैसा लेनदेनका बेलासम्म माइतसँग सम्बन्ध सुमधुर थियो, तर जब पति विदेशबाट आउनु भयो र पैसा माग्न भन्नुभयो, त्यसछि आमाबुबासँगको सम्बन्ध चिसिँदै गयो ।’
ज्वाइँ फर्केपछि षड्यन्त्रमा परे
दुई वर्षपछि विदेशबाट ०७०मा विष्णु घर फर्के । विदेशमा मिहिनेतसाथ कमाएर पटकपटक दिइएको सापटी साढे पाँचलाख रुपैयाँ माग्न थालेपछि सासुससुरा पैसा पचाउने षड्यन्त्रमा लागे । पत्नी सुशीलाकी जेठी दिदी धनुषा मथलेश्वर पुरन्दाहा बिहे भएकी कोशिला पनि संलग्न रहेको विष्णुको भनाइ छ ।
एक दिन पतिपत्निी औषधि उपचार गराउन जनकपुर आएको मौका छोपी जेठी दिदी कोशिलाले साँझ प¥यो, भोलि घर जानु भन्दै आफ्नो घर लगेको सुशीलाले बताइन् । ‘दिदी कोशिलाले आफ्नो घरमा लगेर एउटा कटुवा पेस्तोल पति विष्णुको सिरानीमा राखी प्रहरी बोलाएर पक्राउ गराए,’ सुशीलाले बताइन् । हातहतियार तथा खरखजानको मुद्दामा धनुषा जिल्ला अदालतले डेढ वर्षको कैद सजाय सुनएपछि विष्णु महोत्तरीको जलेश्वर जेल जानु प¥यो ।
सुशीला पनि बेचिइन्
त्यसपश्चात आमाबुबाले आफूलाई प्रभावमा पार्न सफल भएको सुशीलाको भनाइ छ । आफूले त्यतिबेलासम्म पनि आमाबुबाको षड्यन्त्र बुझ्न नसकेको उनी बताउँछिन् । उनका अनुसार एकदिन रौतहटको शिवगढी मेला हेर्न जाने भनी आमाबुबा र बुबाका छिमेक नेंग्रा यादवसँग सुशीला र उनको चार वर्षको छोरा समर लिएर गए । ०७१ वैशाखमा सुशीला र उनका छोरा रौतहटको शिवमन्दिरमा पुगे । त्यँहीबाट रौतहटको अजगेवी गाविसका छुठु राय यादवका ३५ वर्षीय छोरा शौखीलाल राय यादवसँग ४० हजार रुपैयाँमा उनी बेचिइन् । सुशीलाले भनिन्, ‘म र मेरो छोरालाई बेचेको कुरा मैले त्यतिखेर थाहा पाएँ जब तीन चार पुरुष हामीलाई लिन आए । उनीहरुले हात समातेर तिमीलाई ४० हजारमा बेचेको छ भने ।’
आमाबाबु आएनन्
आमाबुबाले ‘तिमी र छोरो यहाँ बस्दै गर, हामी केहीबेरमा घुमफिर गरेर आउँछौ भनी गएको र साँझसम्म पनि नआएको सुशीला बताउँछिन् । त्यसपछि आफूलाई किनेको व्यक्तिले समातेर लगेको सुशीलाको वेदना छ । बेच्ने कार्यमा आमाबुबाको साथै मेला हेर्न सँगै गएका बुबाका छिमेक नेंग्रा यादव र उनकी छोरी रौतहटको विरती गाउँमा बिहे भएकी सकुन्ती यादव, आफ्नी दिदी कोशिलासमेत गरी पाँचको हात रहेको सुशीलाले बताइन् । आफू र छोरालाई किनेका यादवले घरमा लगेर कतै निस्किन नदिई थुनेर राख्ने, कुटपिट गर्ने, यौन शोषण गर्ने र यातना दिने गरेको सुशीलाले बताइन् ।
विष्णुले खोजे पत्नी र छोरा:
डेढ वर्ष जेल सजाय भोगेर गत फागुन महिनामा रिहा भएका विष्णु घर फर्केपछि पत्नी सुशीला र सानो छोरा खोज्न थाले । तर उनीहरु एक वर्षदेखि बेपत्ता रहेको थाहा पाए । यसमा पनि सासुससुराकै चाल छ भन्ने कुरा शंका लागेपछि खोज अनुसन्धान सुरु गरेको बताउँदै डेढमहिनापश्चात् रौतहटको एक गाउँमा यादव थरका व्यक्तिसँग ४० हजार रुपैयाँमा बेचेको कुरा चैतको अन्त्यतिर मात्र थाहा पाएको विष्णुको भनाइ छ । विष्णुले भने, ‘मैले थाहा पाउनेबित्तिकै रौतहटको स्थानीय कोपबा प्रहरी चौकीमा आफ्नी पत्नी र छोरालाई बेचिएको उजुरी दिनासाथ प्रहरीले सुशीला र छोरो समरलाई उद्धार गरिदिए ।’
सासुससुराकै षड्यन्त्र:
सासु ससुराले लिएको पैँचो रुपैयाँ बेईमानी गर्न यस्तो षड्यन्त्र रचेको विष्णुको भनाइ छ । सुशीलाको गर्भमा उनलाई किन्ने यादवको ८ महिनाको बच्चा छ । यादवले यातनाको क्रममा तलको खुट्टाको भागमा आगोले जलाइदिएको पीडा पोख्दै सुशीलाले अपराधमा संलग्नलाई कडा सजाय र आफ्नो लागि न्याय मागेकी छन् ।
सुशीलाको बिचल्ली
आफ्नो पत्नीको गर्भमा यादवको ८ महिनाको बच्चा रहेको कुराले विष्णु तनावमा छन् । विष्णुले सुशीलालाई घरमा राख्न अस्विकार गरेका छन् । सुशीला डेढ महिनादेखि ओरेक नेपाल धनुषाको शरणमा छिन् । आफूलाई सुशीलाको माया नलागेको हैन, तर समाजले के भन्ला भन्ने डरले राख्न अस्विकार गरेको विष्णुको भनाइ छ ।
विष्णुले पत्नी र छोराको बेचबिखनमा संलग्न छ जनामाथि कडा कारबाही र आफूसँग लिएको साढे पाँच लाख व्याजसहित उपर गराइ पाऊँ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
सासुससुरा साखुल्ले पल्टँदै
सुशीलाका बुबा मिश्रीलाल र आमा कुमारीले आफूहरुले ज्वाइँको पैसा नलिएको दाबी गर्छन् । सुशीलाको बेचबिखनमासमेत आफूहरु संलग्न नभएको उनीहरु बताउँछन् । धनुषाका सिडिओ कृष्णप्रसाद ढुंगानाले घटनाका दोषीलाई खोजअनुसन्धान गरी कडा कारबाही गरिने बताए । उनले विष्णुलाई सुशीलालाई घरमा राख्न सुझाव पनि दिए । ढुंगानाले पीडित दम्पतीलाई न्याय दोषी कुनै बहानामा उम्किन नसक्ने र उनीहरुमाथि कारबाही हुने आश्वासन दिए ।–शिरीष न्युज डटकमबाट ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
0 comments
Write Down Your Responses