प्रचण्डलाई प्रधानमन्त्री बनाउन गगन थापाको प्रस्ताव
शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले आगामी सरकारको नेतृत्वबारे तीन विकल्प पेस गरेका छन् । त्यसमध्ये एक प्रचण्डलाई प्रधानमन्त्री बनाउने पनि हो ।
उनले एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी नहुने भन्दै त्योभन्दा एनेकपा माओवादीको नेतृत्वमा सरकार बनाउन उत्तम हुने धारणा राखे । अहिलेको संविधान जारी गर्न खेलेको भूमिका र शान्ति सम्झौताको एकमात्र हस्ताक्षरकर्ताको हैसियतले प्रचण्डलाई अघि सार्दा कांग्रेसलाई राम्रो हुने उनको भनाइ थियो । उनले प्रचण्डलाई मनाउन शीर्ष नेतृत्वलाई सुझावसमेत दिए ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने गगन थापाको तेस्रो विकल्प हो । उनको पहिलो विकल्प भने कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु हो । सबैभन्दा ठूलो दल र संविधान जारी गरेको हिसाबले पनि कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक रहेको थापाले तर्क गरे । यदि कांग्रेसको पक्षमा समर्थन नजुटे मात्र दोस्रो विकल्पको रुपमा एमालेलाई सर्तसहित समर्थन गर्नुपर्ने उनले धारणा राखे ।
कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी सरकारको नेतृत्वबारे गम्भीर छलफल भए पनि ठोस निर्णय भने भएन । बैठकले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई सरकारबारे निर्णय लिने जिम्मा दिएको छ ।




0 comments
Write Down Your Responses