तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो
काठमाडौँ १ कार्तिक ।  भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् ।

रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय ५० रहेको छ । ‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट नयाँ पत्रिकासँग टेलिफोनमा भने । जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् ।

पूर्वका काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर रोकिएका छन् । यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् । ‘कोलकाताबाट नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्, तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने अवस्था छ,’ घिमिरे भने । घिमिरेका अनुसार करिब ८५ हजार मेट्रिकटन मल तथा आइरन, तेललगायत धेरै सामग्री भारतमा रोकिएका छन् ।

भन्सार, बन्दरगाह र ट्रान्सपोर्टरलाई बेग्लाबेग्लै विलम्ब शुल्क तिर्दा दैनिक करिब अढाइ करोड रुपैयाँ पर्न आउने उनले बताए । ‘हामीले सम्बद्ध नेपाली र भारतीय सरोकारवालालाई महावाणिज्य दूतावासमा बोलाएर शुक्रबार छलफल गर्‍यौँ र नेपालको परिस्थिति जानकारी दिएर विलम्ब शुल्क मिनाहा गरिदिन आग्रह गरेका छौँ,’ घिमिरेले भने, ‘उनीहरूले सकारात्मक छौँ भनेका छन्, सायद केही दिनभित्रै सकारात्मक जवाफ दिनेछन् ।’ नयपत्रिका


0 comments

Write Down Your Responses

Powered by Blogger.