भारतको उपनिवेश कुनै हालतमा सहिदैन : एमाअोवादी नेता
महोत्तरी । स्वाभिमानी नेपाली भारतको कुनै पनि हालतमा उपनिवेश सहेर नबस्ने एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरीराजमणि पोखरेलले बताएका छन् ।
आइतबार बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पोखरेलले मधेसबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसवादी दलले तराई मधेसमा आन्दोलन गरिरहेको आरोप लगाए ।
भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले भने – “संविधान जलाउने मधेसी दलहरुले नयाँ संविधान स्वीकार गरिसके । संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।”
नयाँ संविधानले मधेसी जनताका अधिकार खोसेको प्रचार गरेर मधेसवादी दलले मधेसी जनतामा भ्रम सिर्जना गरिरहेका भन्दै उहाँले अब त्यसलाई चिर्नुपर्ने बताए ।
उनले नयाँ संविधान बहुसङ्ख्यक मधेसी जनताको हितमा बनेको तर मधेसका केही ठालुहरुले नयाँ संविधानमा मधेसी जनतालाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाए ।
मधेसवादी दलले आगामी चुनावलाई केन्द्रित गरेर आन्दोलन गरिरहेका भन्दै उनले अहिलेका मधेसवादी दलले मधेसका बहुसङ्ख्यक श्रमजीवि मधेसी जनताको प्रतिनिधित्व गर्न नसक्ने तर्क गरे ।
0 comments
Write Down Your Responses