प्रयोग भइसकेको खाने तेलबाट जैविक इन्धन निकाल्न सुरु
असोज १२, देशमा इन्धन संकट गहिरिदै गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रयोग भइसकेको खाने तेलबाट जैविक इन्धन निकाल्न थालेको जनाएको छ । घरघरमा खाने कुरा पकाउन तथा विभिन्न उत्पादनका लागि उद्योग कलकारखानामा प्रयोग भइसकेको तेलबाट हालसालै नास्टले निकाल्न थालेको उक्त इन्धन त्यहिको जेनेरेटरमा परिक्षणको रुपमा प्रयोग समेत भइरहेको  वैज्ञानिकहरुले जनाएका छन् । निजि क्षेत्र तथा सरकारलाई ठुलो मात्रामा त्यस्तो इन्धन उत्पादनका लागि बाटो खोलिदिने वैज्ञानिक आधार बनाइदिन प्रकृया पनि थालिएको नाष्टले बताएको छ ।

प्रयोग भइसकेको १ लिटर तेलबाट त्यसको ८५ प्रतिशत अर्थात ८ सय पचास मिलिलिटिर जैविक इन्धन निस्कने अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरुले बताएका छन् । अहिले प्रयोगशालामा सिमित उक्त विधिबाट निकालिएको तेल प्रतिलिटर १ सय ९५ रुपैयाँ पर्न आउने नाष्टको भनाइ छ । त्यसलाई व्यवसायिक उत्पादनको स्तरमा लैजानु अघि उत्पादन खर्च घटाउने विकल्प माथि अध्ययन थालिसकेको अनुसन्धानमा संलग्न नाष्टका वैज्ञानिक रविन्द्र प्रसाद ढकालले बताए ।
यसरी उत्पादन भएको जैविक इन्धनलाई डिजलको केहि मात्रा मिसाएर हालकै सवारी साधनहरुमा इन्जीनमा कुनै फेरवदल विना प्रयोग गर्न सकिने अनुसन्धान कर्ताहरुले जनाएका छन् । तर त्यसका लागि प्रतिलिटर डिजलमा २ मिलिलिटर जैविक इन्धनको अनुपात रहनु पर्ने वैज्ञानिक ढकालले बताए ।

उनकै मातहत पुलचोक क्याम्पसकी स्रोत कर्ता स्तुति श्रेष्ठले गरेको अध्ययनले काठमाडौँ उपत्यकाबाट वार्षिक १ लाख लिटर प्रयोग भइसकेको तेल संकलन गरी जैविक इन्धन निकाल्न सकिने देखाएको छ । त्यस्तो सम्भावनाबाट उत्साहिहत जस्तो देखिएको नाष्टले ठुलो मात्रा उत्पादनको लागि प्रकृया थालिसकेको उक्त निकायका उपकुलपति जिवराज पोखरेलले बताउनुभयो । सजिवन, नरिवल र वदामको तेलबाट जैविक इन्धन निकाल्न सकिने भएपनि प्रयोग गरिएको तेलबाट इन्धन निकाल्दा वातावरण स्वच्छ राख्न मद्यम मिल्ने अनुसन्धान कर्ताहरु बताउँछन् । यसरी इन्धन निकाल्न स्वदेशमा पाइने एक प्रकारको चट्टानलाई क्याटालिस्ट अर्थात उत्प्रेरकको रुपमा प्रयोग गरिएको र सो चट्टानको नमुना अन्य नमुना भन्दा फरक भएकोले पेटेन्ड्राइट अर्थात विशिष्ट अधिकार पत्र लिने प्रकृयामा रहेको नाष्टका वैज्ञानिक रविन्द्र प्रसाद ढकालले बताउनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.