नाकाबन्दी खोल्न चीनको दबाब
राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने
काठमाडौं-एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छिमेकी चीनले भारतलाई दबाब दिएको छ। चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो भने चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल गर्ने जानकारी चिनियाँ राजदूत ऊ चुन्ताईले दिए।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी दुवै राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्।
 दाहाल निवास लाजिम्पाटमा सोमबार बिहान निम्त्याइएका चिनियाँ राजदूत ऊले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका विषयमा चीनले संयुक्त राष्ट्रसंघमा कुरा उठाएको र आफ्ना राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँगको साइडलाइन बैठकमा यसबारे छलफल गर्ने जानकारी प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गराएका हुन्।

'नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दीबारे हाम्रातर्फबाट संयुक्त राष्ट्रसंघमा विषय उठाइएको छ । राष्ट्रपति सीले पनि भारतीय प्रधानमन्त्रीसँग साइडलाइन वार्तामा त्यसबारे छलफल गर्नुहुन्छ', राजदूत ऊले आफूसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै दाहालले आफ्ना सहयोगी नेतासँग पार्टी केन्द्रीय कार्यालयमा भने।

तीन महिनाअघि भएको बेइजिङ भ्रमणका क्रममा पनि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर अगाडि बढ्नेबारे छलफल भएको थियो। दाहालका एक सहयोगी नेताका अनुसार भारतले लगाएको आर्थिक नाकाबन्दी खोल्न उनले कूटनीतिक पहललाई तीव्रता दिएका छन्।
 चीन, भारत र संयुक्त राष्ट्रसंघमा पनि नेपालमाथि भारतले लगाएको नाकाबन्दी अन्त्य गराउन अध्यक्ष दाहालले कूटनीतिक पहल गरिरहेको उनका स्वकीय सचिव चूडामणि खड्काले बताए। 'संविधान निर्माणपछि आएको जटिलता र भारतले लगाएको अघोषित नाकाबन्दीले दैनिक जीवनमा पारेको प्रभावबारे अध्यक्षले चिनियाँ राजदूतसँग छलफल गर्नुभएको हो', खड्काले अन्नपूर्णसँग भने। दाहालले तातोपानी र रसुवागढी नाकालाई छिटो सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि राजदूत ऊसँग छलफल गरेका छन्।

स्रोतका अनुसार चीनले छिटोभन्दा छिटो तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने र भारतीय आर्थिक नाकाबन्दीले पारेको प्रभाव कम गर्न आफ्नातर्फबाट आपूर्ति बढाउने आश्वासन नेताहरूलाई दिएको छ। संविधानसभाबाट ९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी पारित भएको संविधानलाई चीनले स्वागत गरेकोमा दाहालले राजदूत ऊमार्फत चीन सरकारलाई धन्यवाद दिएको खड्काले बताए।अाजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.