स्वचालित हतियारसहित सशस्त्र समूह नेपाल पसेको अनुमान : शुरक्षा ब्यवस्था कडा
प्रभात देवकोटा  / काठमाण्डौ १० असोज – स्वचालित हतियारसहितको लडाकू समूह दक्षिणतिरबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि नेपाली सुरक्षा निकाय हाइ अलर्ट भएको छ । भारतको पटना नजिकै दानापुर बजारदेखि ६ किलोमिटर टाढा पर्ने एक गोप्य स्थानमा डेढ महिना सशस्त्र तालिम लिएर करिब २ सय ५० जना हतियारधारी नेपाल पसेको सूचना सुरक्षाअधिकारीहरुलाई प्राप्त भएको छ ।
नेपाल पसेको लडाकू समूहमा मधेसी समुदायका युवा र राष्ट्र संघको प्रमाणिकरणमा नपरेका माओवादी लडाकूहरु रहेको बताइएको छ । उनीहरु अधिकांस मधेसी समुदायका छन् । उनीहरुलाई भारतीय योजना अनुसार नै सशस्त्र तालिम दिएर नेपालमा परिचालन गरिएको स्रोतले जनाएको छ ।
श्रोतले दिएको जानकारी अनुसार प्रहरी चौकीमा आक्रमण गर्ने, तराई–मधेसमा रहेका पहाडी समुदायमाथि आक्रमण गर्ने र साम्प्रदायिक हिंसा फैलाउने हतियारधारीको योजना छ । त्यस्तै उनीहरुले तराई–मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले र एनेकपा माओवादीका कुन–कुन नेतामाथि आक्रमण गर्ने भन्ने सुची नै तयार पारेको सूचना पनि नेपालका सुरक्षा अधिकारीहरुलाई प्राप्त भएको छ ।
तर, सूचीमा को–को नेता छन् भन्ने एकिन भएको छैन । सम्भावित सुरक्षा खतरामा रहेका नेताहरुलाई सावधानी अपनाउन सुरक्षा अधिकारीले सचेत गराएका छन् । प्रहरीले यसअघि केही मधेसी युवालाई मध्य तराईका विभिन्न ठाउँबाट अत्याधुनिक हतियारसहित पक्राउ गरिसकेको छ ।
तर, सुरक्षा अधिकारीहरुले भने यसबारे प्रष्ट जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले आफुहरुलाई यसबारे जानकारी नरहेको बताए । उनले भने, ‘यस विषयमा हामीलाई त्यस्तो केही जानकारी छैन । भए पनि यो हामीले बताउन मिल्ने विषय होइन । आधिकारीक जानकारी दिने निकाय नेपाल प्रहरी हो, त्यतै सोध्नुहोस् ।’
त्यस्तै अनुसन्धान विभागकै एक अर्का उच्च अधिकारीले अनुमानका भरमा कसैले त्यस्तो भनेको हुन सक्ने बताए । ‘घटनाक्रमहरु हेरेर कसैले यस्तो अनुमान गरेको हुन सक्छ । तर, त्यस्तो जानकारी हामीसम्म आइपुगेको छैन ।’ उनले भने ।
असोज ५ गते वीबीसी नेपाली सेवासँगको रेडियो अन्तवार्तामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षा खतरा बढेको भन्ने सुरक्षा निकायका उच्च अधिकारी र आफ्ना सुरक्षा गार्डबाट जानकारी पाएको बताएका थिए । दाहालका अनुसार उनलाई लाजिम्पाट, बालुवाटार, नयाँ बानेश्वर, सिंहदरबार लगायतका ठाउँबाहेक अन्त नजान सुरक्षाकर्मीले सुझाएका छन् ।
हतियारधारी समूह नेपाल प्रवेश गरेको भन्ने प्रश्नबारे नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले पनि यसबारे प्रष्ट कुरा नआइसकेको जानकारी दिए । उनले यसबारे विभिन्न माध्यमबाट आफुहरुले हल्ला सुने पनि पुष्टि भइनसकेको बताए । प्रहरी प्रवक्ता डीआइजी बमले भने, ‘हामीले पनि यो कुरा सुनेका छौं । यस्तो कुराहरुको भेरिफाई नगरेर हो भनिहाल्न मिल्दैन । यथार्थ बुझ्न हाम्रो इन्टेलिजेन्स यूनिट परिचालन भएको छ ।’
आफ्नो सुरक्षा खतरा बढेको भन्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको प्रशंगमा उनले भने, ‘यस्तो सिच्युएसनमा भीभीआइपीहरुलाई सुरक्षा थ्रेट हुन सक्ने भएकोले हाइ हलर्ट हुनुपर्ने हुन्छ । त्यही सन्दर्भमा सुरक्षा सजगता अपनाइएको हो ।’
                                                                                                           साभार :  नेपालपार्टीबाट


भिडियो हेर्न तल क्लिक गर्नु होस


0 comments

Write Down Your Responses

Powered by Blogger.