एमाओवादी अध्यक्ष अब बाबुराम भट्टराई !
काठमाडौं । संविधानसभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसका मुद्दा सम्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादीकै मधेस केन्द्रित सभासद्हरूले आग्रह गरेका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सोमबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरू रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव र रामकुमार शर्मासहितका नेताहरूले नयाँ एजेन्डासहित मधेसीका मुद्दाको नेतृत्व लिइदिन भट्टराईसँग आग्रह गरेका हुन्। संविधानसभाबाट घोषणा भएको संविधानले मधेस र थारूसहित जनजातिका मुद्दा समेट्न नसकेकामा असन्तुष्ट रहँदै आएका भट्टराईले नियमित छलफल गर्दै अगाडि बढ्न नेताहरूलाई सल्लाह दिएका छन्।
‘हामी उत्पीडित समुदायका राजनीतिक अधिकार समाप्त गरिदिनुभयो। मधेस र थारूसहितका जनजातिका मुद्दालाई अलग राखेर संविधान जारी गराउनुभयो। उत्पीडित समुदायलाई अधिकार दिलाउन ०५२ मा बन्दुक उठाइयो। अन्तरिम संविधानले दिएका अधिकार पनि कटौती गरिदिनुभयो’ आफूहरूले भट्टराईसमक्ष राखेको गुनासो उद्धृत गर्दै पासवानले भने, ‘मधेसी, थारूसहित दुई तिहाइ जनमतबाट जारी संविधानका विपक्षमा छन्। नेपालको अखण्डताबाट मधेस नटुक्रियोस्। संशोधन प्रक्रियाबाट मधेस र थारूसहितका जनजातिको मुद्दा सम्बोधन गर्न भूमिका खेलिदिनुपर्‍यो भनेका छौं।’
मधेसलाई अधिकार सम्पन्न प्रदेश बनाइदिए राष्ट्र बलियो हुने तर्क मधेसी नेताहरूले भट्टराईसमक्ष राखेका थिए। उनीहरूले पार्टीको नेतृत्व लिनसमेत डा. भट्टराईलाई आग्रह गरेको स्रोतले बतायो। ‘शासकवर्गको नीतिका कारण मधेस नेपालमा रहने कि नरहने भन्ने स्थिति छ’ पासवानले भने।
मधेसीका मुद्दा सम्बोधन गर्न अग्रसरता नलिएका कारण आफ्नो पार्टी मधेसमा कमजोर बन्दै गएको जानकारी पनि उनीहरूले भट्टराईलाई गराए । भट्टराईले अधिकार प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएको जानकारी पासवानले दिए।
मधेसी नेताहरूको भेटघाट सकिने बेला एमाओवादी सचिव टोपबहादुर रायमाझी र नेता नवराज सुवेदी भट्टराई निवास पुगेका थिए। भट्टराईलाई भेट्न जनजाति नेताहरू पनि सानेपा पुगेका थिए।
khabardabali

भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.