फेरि चीनको झण्डा जलाएपछि मधेसी मोर्चामा खैलाबैला
काठमाडौँ, २१ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद बढेको छ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच मतभिन्नताले चर्काे रुपमा लिएपछि विवाद बढेको हो । विहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोप्रति आक्रोश पोखेका छन् ।
महतोको निर्देशनमा मोर्चाका कार्यकर्ताले फेरि चीनको झण्डा जलाएपछि उपेन्द्रले आक्रोश पोखेका हुन् । देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकोमा उनले आफ्नै मोर्चाका नेता राजेन्द्र र कार्यकर्ताको आलोचना गरे ।
त्यो कदममा आपत्ति जनाउँदै कार्यकर्तालाई मधेस आन्दोलन नेपाल सरकारसँग सम्बन्धीत भएकाले छिमेकी राष्ट्रका झण्डा नजलाउन आग्रह गरे । उनले भने-‘अब झण्डा जलाइएको पाइएमा मोर्चाले कडा कारवाही गर्छ ।’ उनले झण्डा जलाइएकोमा दुःख व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायसँग माफी समेत मागे ।
फरक प्रसंगमा बोल्दै यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताए । सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढेको उनको भनाई थियो ।
विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उनले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताए ।
विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उहाँले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राखे ।


0 comments

Write Down Your Responses

Powered by Blogger.