निरपेक्षताबारे बुझाउन सकिएन, धर्मको राजनीति घातक हुन्छ
गगन थापा, (काठमाडौं क्षेत्र नं-४)
काठमाडौंमा मेरो क्षेत्र बाहेक अन्यत्र समानुपातिकमा राप्रपा नेपालको बढी मत आएको थियो । त्यो उसको मत होइन, कांग्रेस र एमालेका कार्यकर्ताले नै समानुपातिकमा राप्रपा नेपाललाई मत दिएका थिए ।
अहिले जनमत संकलन गर्दै गर्दा पनि कांग्रेस र एमालेका स्थानीय नेताहरु धर्मनिरपेक्षताको विपक्षमा देखिए । मैले के देर्खेँ भने दोस्रो जनआन्दोलनपछि जेठ ४ गते धर्मनिरपेक्षता घोषणा गर्दा मन नपरे पनि चुप लागेर बसेकाहरु अहिले के हो भन्ने अवस्थामा आएका छन् ।

अर्को, राप्रपा नेपालका कार्यकर्ताले संगठितरुपमा नै धर्म परिर्वतन गर्न पाउनुपर्छ भनेर हिँडेको पनि पाएँ । ३०/४० जनाको समूहमा बसमा जान्छन्, लिखितरुपमा आफ्नो कुरा राख्छन् ।
उनीहरु स्थानीय होइनन्, मलाई राम्रोसँग थाहा छ । तर, उनीहरु दबाव वा प्रभावमा पारेर धर्म परिर्वतन गराउनु दण्डनीय हुनेछ भन्ने उपधारा हटाउनुपर्छ भन्छन् । र, एकजनाले बोलेपछि अरुले हुटिङ गर्छन् ।
यसले पनि धर्मनिरपेक्षताको पक्षमा मत लिएर आएकाहरु पनि प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । तर, अनौठो के छ भने सनातन हिन्दु धर्मनिरपेक्ष हुनुपर्छ भन्नेहरु अरु मुद्दामा भने परिर्वतनकै पक्षमा छन् ।
कपनमा सुरुमा एकजनाले हिन्दु राष्ट्र हुनुपर्छ भन्ने अधिकांशले हात उठाए । तर, राप्रपा नेपालका नेताले राजा पनि चाहिन्छ भने पनि उनको समर्थनमा अर्का एकजना मात्रै देखिए । संविधान च्यात्नुपर्छ भन्दा उनी मात्र भए र बाहिर निकालिए ।
गणतन्त्र, समावेशीता, आमाको नाममा नागरिकता हुनुपर्छ भन्नेमा उनीहरुको सहमति छ । अहिले धर्मका नाममा जेजस्ता कुरा भइरहेका छन्, त्यसले मानिसहरुमा एकखालको डर, भर र आशंका देखिएको छ ।
त्यसैले हामीले अब नयाँ ढंगले सोचिएन भने धर्मका नाममा पसलहरु खुल्छन् र धर्मका नाममा हुने राजनीति निकै घातक हुन्छ ।
हामीले धर्म निरपेक्षता घोषणा गर्दै गर्दा जे भन्न खोजेका थियौं, त्यसलाई सैद्धान्तिक रुपमा स्थापित गर्न सकिएन । हामीले नेपाल बहुधार्मिक देश हुनेछ, राज्यको कुनै धर्म हुँदैन भन्न खोजेका हौं । अर्को धर्म व्यक्तिको आस्थाको कुरा हो । तर, राज्यले धार्मिक समूहहरुको संरक्षण नै गर्दैन । पुरै वेवास्ता गर्छ पनि भनिएको होइन । र, मिसनका रुपमा धर्म परिर्वतन गर्नेलाई दण्डनीय बनाइनेछ भनिएको हो ।
अहिले त दबाव वा प्रभावलाई समेत दण्डनीय बनाइएको छ प्रस्तावित मस्यौदामा । तर, हामीले जुन ढंगले धर्म निरपेक्षतालाई सकारात्मक ढंगले लैजानुपर्ने थियो, त्यो भएन ।
बाहिरबाट कसैको योजनामा ल्याइएको हो भनेर प्रचार भयो र हामी रक्षात्मक भयौं । प्रधानमन्त्री सुशील कोइराला स्वयमंले कताबाट आयो, थाहै भएन भन्नुभयो । जनमत संकलनका क्रममा एकजना स्थापित नेताले त के भन्नु भो भने जेठ ४ को घोषणा गर्दा सभामुखले धर्मनिरपेक्षता थपेर आफैं ल्याएका हुन्सम्म भने ।
हाम्रो जनमत संकलनको उद्देश्य भनेको संविधानमा जनताको स्वीकृति लिने हो । जनताको यस्तो मत आएपछि अब हामीले केही सोचिएन र जस्ताको त्यस्तै अघि बढ्न खोज्यौं भने नियोजितरुपमा धर्मको धन्दा गर्नेहरु छन् र उनीहरुले समाजमा उत्तेजना फैलाउन सक्छन् र संविधान कार्यान्वयन गर्न गाह्रो हुन्छ ।
संविधानको मस्यौदा रातरात परिर्वतन गरियो भनेर कमल थापाहरुले संसदमा भनेकाले पनि के देखिन्छ भने उनीहरु साना-साना लुपहोलहरु खोजिरहेका छन् । आखिरमा मस्यौदामा कुनै थपघट गरिएको त थिएन भनेर मैले अनलाइनखबरमा नै लेखेको थिएँ ।
त्यसैले धर्म निरपेक्षताको अर्थमा हामी सबै सहमत छौं भने यो शब्दको विकल्पतिर पनि जानुपर्ने हुनसक्छ । गज्जब के छ भने त्यो समूह गणतन्त्र भन्दा ताली बजाउँछ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्छ । राजा चाहिन्छ भन्नेहरुलाई बाहिर निकाल्छ । समावेशी हुनुपर्छ भन्छ । तर, धर्मको कुरामा सनानत हिन्दु धर्म हुनुपर्छ भन्छ । त्यसैले हामीले गम्भीर भएर छलफल गर्नु पर्ने देखिन्छ ।
(कुराकानीमा आधारित)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.