गणतन्त्र नेपालको अनौठो संयोगः राष्ट्रपति र पूर्व राजाको एउटै चाहाना
काठमाडौं ।
२४० वर्ष लामो राजतन्त्र समाप्त गरेर नेपाल गणतान्त्रिक मुलुक बनेको धेरै भएको छैन । जतिसुकै शक्तिशाली र हिन्दु राष्ट्रका राजाकोरुपमा देशमा शासन चलाएका भएपनि पूर्व राजा ज्ञानेन्द्रले सहजै नारायणहिटी राजदरबार छोडे । उनले दरबार छोड्न आनाकानी गर्लान र शक्तिको प्रयोग पनि गर्नु पर्ला भनेर नेताहरु चिन्तित थिए तर त्यस्तो भएन । राष्ट्र प्रमुखककोरुपमा रहेका ज्ञानेन्द्रलाई पन्छाएर नेपाल गणतान्त्रिक मुलुक बनि सक्दा पनि देशमा राष्ट्र प्रमुखको ब्यवस्था भने भैसकेको थिएन । अन्तरिम संविधानले सबै कुरा प्रधामन्त्रीलाई मानेको थियो । तर संविधानसभाको पहिलो निर्वाचन भएपछि भने देशले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपति   पायो ।
विगत देखि नै आफूले जनआन्दोलनपछि सम्बोधन गर्दा भएको भनिएको सम्झौता कार्यन्वयन गर्न सार्वजनिक माग गर्दै पूर्व राजा ज्ञानेन्द्रले यस्तो माग राख्नु अनौठो नभएपनि गणतन्त्रमा राष्ट्रपति भएर आफूलाई निर्वाचित गर्ने संविधानसभा विघटन भएर अर्को निर्वाचन भएपछि पनि पदमा कायम रहिरहेका राष्ट्रपतिले पनि यसै आसयको भाव ब्यक्त गर्नु चाँहि अनौठो मानिएको छ ।
एमाओवादीले अप्रत्यासित मत प्राप्त गरेको संविधानसभाको पहिलो निर्वाचनपछि राष्ट्रपति पनि एमाओवादीले नै बनाउला भन्ने अनुमान विपरित उसकै काँचो ब्यवहारको परिणामस्वरुप रिसाएका तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले राष्ट्रपतिको रुपमा प्रस्ताव गरे तत्कालीन महामन्त्री डा रामबरण यादवलाई ।
भाग्यको खेल मान्नु पर्छ रामबरण यादव सोंच्दै नसोंचेको समयमा राष्ट्रपति बने त्यो पनि गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति । उनले नै पूर्व राजा ज्ञानेन्द्रलाई विस्थापित गरेर र राजा सहभागी हुने सांस्कृतिक देखि हरेक जसो समारोहमा राष्ट्रपति पुग्न थाले । खासमा भन्दा ज्ञानेन्द्रलाई विस्थापित गरेर रामबरण स्थापित भए । तर अनौठो संयोग मान्नु पर्छ एउटै संविधानसभाले देशको राष्ट्रपति बनाएका रामबरण यादव र सत्ताच्युत गरिएका तत्कालीन राजा ज्ञानेन्द्रका स्वर संविधानसभाले नै संविधान जारी गर्ने भनिएको अन्तिम समयमा आएर भने मिल्न थालेको भान परेको छ ।

राष्ट्रपति र पूर्व राजाको एउटै स्वर

करिव ८ वर्ष सम्म राजनीतिक तनावबाट गुज्रिएको देश बैशाख १२ को भूकम्पपछि नेपाली राजनीतिमा देखिएको अप्रत्यासित मेलको समिकरणबाट तंग्रिन खोज्दैछ । जेठ २६ मा प्रमुख ४ दलबीच भएको १६ बुँदे सहमतिले देशमा संविधान जारी हुने आशा जगायो । दलहरु संविधान निर्माणको प्रक्रिया अघि बढाउन सहमत भए र सोही सहमति अनुसार संविधानसभाले विभिन्न सहमति तथा असहमति सहितको संविधानको पहिलो मस्यौदा संसदमा पेस गर्‍यो । संविधानसभामा प्रस्तुत मस्यौदा जनतामा सुझावका लागि गयो । देशका विभिन्न भागमा औपचारिकताका लागि भएपनि फरक फरक सुझाव संकलनका काम भए । जनताका प्रतिनिधी भनिएका राजनीतिक दलका प्रतिनिधीले आफ्नै खाले सुझाव दिए र सुझाव सहित संविधानको मस्यौदा संविधानसभामा फर्कियो । तर यही समयमा संविधानसभाले स्थापित गरेका राष्ट्रपति र विस्थापित गरेका पूर्व राजाले एउटै भाव आउने धारणा सार्वजनिक गरे । राष्ट्रपतिले मस्यौदामा विभिन्न कमजोरी रहेकाले सच्याउनु पर्छ भन्ने अभिब्यक्ति दिए भने पूर्व राजाका ससुरा वुहारी (ज्ञानेन्द्र र हिमानी) दुवैले संविधानको मस्यौदा सच्याउनु पर्ने माग गरे ।
विगत देखि नै आफूले जनआन्दोलनपछि सम्बोधन गर्दा भएको भनिएको सम्झौता कार्यन्वयन गर्न सार्वजनिक माग गर्दै पूर्व राजा ज्ञानेन्द्रले यस्तो माग राख्नु अनौठो नभएपनि गणतन्त्रमा राष्ट्रपति भएर आफूलाई निर्वाचित गर्ने संविधानसभा विघटन भएर अर्को निर्वाचन भएपछि पनि पदमा कायम रहिरहेका राष्ट्रपतिले पनि यसै आसयको भाव ब्यक्त गर्नु चाँहि अनौठो मानिएको छ ।

के चाहन्छन् राष्ट्रपति ?
राष्ट्रपति रामबरण यादवले आफ्नो पदको आयु पनि तोकिदिएको १६ बुँदे सहमति मन पराएनन् र यो हतारमा गरिएको टिप्पणी गरे । उनले संविधानको मस्यौदामा समेत अनेक कमजोरी रहेको भन्दै त्यसलाई सच्चाउन सुझाव दिए । राष्ट्रपति डा. यादवले संविधान निर्माणका क्रममा अन्तर्राष्ट्रिय मान्यता र जनताको स्वामित्व लिनुपर्ने दोहोर्‍याएका थिए । ‘१६ बुँदे सहमति यति हतारमा भएको छ कि संविधानको मस्यौदामा धेरै पक्षको असन्तुष्टि आइरहेको छ,’ राष्ट्रपति डा. यादवले नेपाल वातावरण पत्रकार समाजसम्बद्ध पत्रकारहरूसँगको भेटमा राष्ट्रपतिले भनेका थिए, ‘यो परिमार्जन आवश्यक छ भन्ने आवाज उठिरहेको छ ।’
राष्ट्रपतिलाई सबै भन्दा मन नपरेको विषय बनेको छ संविधानको मस्यौदाको भाग ३५ मा गरिएको संक्रमणकालीन ब्यवस्था । जसमा संक्रमणकालिन व्यवस्थाअनुसार ‘राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था’ मा ‘यो संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यस संविधानबमोजिम रुपान्तरित व्यवस्थापिका संसदबाट नेपालको अन्तरिम संविधान, ०६३ मा व्यवस्था भएबमोजिम हुनेछ ।’ भनेर राखिएको छ । यो प्रावधानप्रति राष्ट्रपतिको असन्तुष्टी छ । नयाँ संविधान जारीभएपछि पनि अन्तरिम संविधानको ब्यवस्था अनुसार नै आफ्नो पद जाने देखेर उनले यो प्रावधान सच्याउन नेताहरुलाई दवाव दिएको श्रोत बताउँछ । यसै क्रममा राष्ट्रपतिले बुधबार राति ८ बजे एमाओवादीका नेता एवं संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितका सभापति बाबुराम भट्टराई तथा मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई शितल निवास बोलाएर यस विषयमा केरकार पारेको कुरा बाहिर आएको छ । राष्ट्रपतिले घुमाउरो ढंगले आफूलाई नयाँ निर्वाचन नभए सम्मका लागि नहटाउने ब्यवस्था गर्न दवाव दिएको बताइएको छ ।
राष्ट्रपति यादवले संविधान जारी गर्न हतार गर्न नहुने भन्दै उनले आफ्नो पदलाई अर्को निर्वाचन नभए सम्मका लागि सुरक्षित गर्नु पर्ने मनसाय ब्यक्त गर्दै आएका छन् । मधेशी भएको नाताले पनि मधेशी सन्तुष्ट नभएको संविधान जारी गर्नु पर्ने र संविधान जारी भए लगत्तै पद छोड्नु पर्ने भएका कारण राष्ट्रपतिलाई यो संविधान जारी गर्ने म्याद छिटो नआए हुन्थ्यो भन्ने चाहाना हुन सक्छ । मधेशी नेताहरुले राष्ट्रपतिलाई भेटेर अहिलेको संविधानमा हस्ताक्षर नगर्न दवाव दिइसकेका छन् । यसैकारण पनि हुन सक्छ रामबरण गणतन्त्र नेपालको राजा बन्न खोजेको भनेर कतिपय एमालेकै नेताबाट समेत सार्वजनिक टिप्पणी भएको छ ।
एमालेले संविधानसभाको दोश्रो निर्वाचन लगत्तै राष्ट्रपति फेर्नु पर्ने भनेर दवाव दिएपनि पछि कांग्रेससँग उसको सौदाबाजी मिलेपछि कुरा यत्तिकै सेलाएको थियो । तर अव संविधान नै जारी भएपछि पनि तत्काल पद छोड्न तयार नदेखिएका रामबरणको चाला देखेर कतिपयले भने उनको नियत र ब्यक्तिगत छविमाथि नै प्रश्न उठाउन थालेका छन् ।

ज्ञानेन्द्रको चाहाना

संयोग मान्नु पर्छ पूर्व राजा ज्ञानेन्द्र राष्ट्रपति रामबरण यादव जस्तै तत्काल संविधान जारी नहोस् भन्ने चाहन्छन् । कुनै न कुनै ढंगको अस्थिरता कायम होस् र हिन्दु राष्ट्र वा अन्य कुनै पनि ढंगले पूर्व राजाको स्थान होस् भन्ने उनको चाहाना हो । तत्काल संविधान जारी भएमा यस्तो संभावना टरेर जाने खतरा उनले देखेका छन् । संविधान जारी हुने पूर्व सन्ध्यामा पूर्व राजदरवार पनि चनाखो र सक्रिय छ ।
राजतन्त्र फर्काउन सोझै माग नगरेपनि राजदरवारका सदस्यहरुले घुमाउरो शैलीमा संविधानको अन्तिम मस्यौदामा आफूहरुको स्थान चाहिने संकेत दिइरहेका छन् । केही समय अघि मात्र प्रमुख दलहरु समक्ष आफूसँग भएको सहमति पालना गर्न अमुर्त माग गरेका पूर्व राजा ज्ञानेन्द्रले केही दिन अघि राजधानीमा होम हवन पछि संविधानको मस्यौदा संसोधन गर्न माग गरे । संविधान सबैको साझा हुनुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा पार्ने गरी जनताको भावनालाई उपेक्षा नगर्न राजनीतिक दल तथा नेतालाई आग्रह गरे । ज्ञानेन्द्रले के भन्न खोजेका हुन् भन्ने प्रष्ट नभएपनि उनले ६३ सालको जनआन्दोलनपछि भएको दलहरुसँगको सम्झौताका क्रममा आफ्नो स्पेस पनि राख्न चाहेको कुरा उनले पटक पटक घुमाउरो शैलीमा बुझाउन खोजेको प्रष्ट देखिन्छ । जुन कुरा संविधान जारी हुने समय सम्म लागु होस् भन्ने उनको चाहाना हो ।
पूर्व युवराज्ञी हिमानी साहले पनि आज राजधानीमा पत्रकार सम्मेलनगरेर संविधानमा रहेका त्रुटी सच्च्याउनु पर्ने बताइन् । हिमानीले राजनीतिक आग्रह झल्किने गरी कुरा नगरेपनि यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो ।
आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो । तर आफू राजतन्त्रको अवशेष रहोस् भन्ने पक्षमा रहेको कुरा ज्ञानेन्द्रले लुकाएका छैनन् । तर संविधान सभाले स्थापित गरेका रामबरण यादव र पूर्व राजा ज्ञानेन्द्रको चाहाना तत्काल संविधान जारी नहोस् र भएपनि आफ्नो लागि केही स्थान राखेर होस भन्ने चाहाना सहित फरक फरक स्वार्थका लागि मिल्नुलाई दुर्लभ र अनौठो संयोग मानिएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.