श्रीमान् विदेश गएको एक हप्तापछि फेरि महिनावारी भयो । तर, अहिले मेरो महिनावारी रोकिएको छ
म २८ वर्षीया महिला हुँ । माघ ७ महिनावारी भएको थियो । त्यसपछि माघ २६ गते महिनावारी भयो । यो बीचमा श्रीमान्सँग यौनसम्पर्क पनि भयो । श्रीमान् चैत ९ गते विदेश जानुभयो । विदेश गएको एक हप्तापछि फेरि महिनावारी भयो । तर, अहिले मेरो महिनावारी रोकिएको छ ।
श्रीमान् विदेशिएपछि यौनसम्पर्कविना नै महिनावारी रोकिएपछि पिसाब जाँच गराएँ । जाँच गर्दा म गर्भवती भएको खुल्यो । तर, श्रीमान्ले ममाथि शंका गर्नुभयो । अब मैले के गर्नुपर्ला ? –पी यहाँले राख्नुभएको जिज्ञासामा केही कुरा अस्पष्ट छन् । तपाईंले जिज्ञासामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गरे वा नगरेको खुलाउनुभएको छैन । यो विषयमा खुलाउनुभएको भए निकै सजिलो हुन्थ्यो । किनकि, कहिलेकाहीँ परिवार नियोजनका अस्थायी साधनका कारण पनि महिनावारी ठीक समयमा नहुने समस्या हुन्छ । यहाँले यौनसम्पर्कपश्चात् गर्भनिरोधको आकस्मिक चक्की प्रयोग गर्नुभएको थियो वा थिएन, त्यो पनि जानकारी छैन । यदि प्रयोग गर्नुभएको थियो भने यसले पनि तपार्इंको महिनावारी छिटो–छिटो भएको हुनुपर्छ । यहाँले यी कुरा उल्लेख नगर्नुको पछाडि प्रयोग नगरेको कारण पनि हुनसक्छ । जिज्ञासाका आधारमा तपार्इंको समस्यालाई हेर्दा पाठेघरको मुख वा योनीमार्गमा संक्रमण भएमा पनि रगत देखिएको हुन सक्छ । यसरी संक्रमणका कारण आएको रगतलाई यहाँले महिनावारी भएको पनि ठानेको हुन सक्छ । कतिपय अवस्थामा पाठेघरमा ट्युमर वा अन्य खराबीले पनि महिनावारी रोकिने हुन सक्छ । यसरी महिनावारी रोकिँदा गरेको परीक्षणमा पोजिटिभ देखाउँछ । कहिलेकाहीँ पाठेघरबाहिर बच्चा बस्दा पनि यस्तो समस्या देखिन सक्छ । यहाँले प्रसूति एवं स्त्रीरोग विशेषज्ञकहाँ गएर राम्रोसँग देखाउन आवश्यक छ । भिडियो एक्सरे गर्दा पनि तपाईंको पेटमा रहेको बच्चा कति महिनाको हो भन्ने स्पष्ट हुने भएकाले तपाईंले श्रीमान्लाई सहजै सम्झाउन सक्नु हुनेछ । तर, तपाईंले छिटो चिकित्सककहाँ भने जानुपर्ने हुन्छ ।
– डा. ज्योति अग्रवाल वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses