भारत रिसाउनुको कारण यस्तो रहेछ, नेपाली राजदूतको बयान
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (मंगलबार) बिहान कुरा गर्दै राजदूत उपाध्यायले नरेन्द्र मोदीका विशेष दूतसँग नेपालमा भएको नेताहरूको व्यवहारले पछिल्ला राजनीतिक घटना हुन पुगेको बताउनुभएको हो । ‘एस जयशंकर भारतीय विदेश सचिव मात्रै होइनन्’, नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत पनि हुन् । त्यसतर्फ अलिकति ध्यान दिइएन । यस विषयमा मैले बुझ्ने कोशिष गर्दैछु ।’
‘विशेष दूतको अन्तिम बेलाको भ्रमण थियो’, उहाँले भन्नुभयो, ‘संविधान आउने बेला थियो । भारतले भनेको मान्ने अवस्था पनि थिएन । समय धरै अगाडि बढी सकेको थियो । केही समय रोकेर गएको भए पनि हुने थियो ।’
नेपाली राजदूत उपाध्यायले भारतको समर्थन बढाउनका लागि आफूले पहल गर्ने र गरिरहेको बताउनुभयो । भारतीय पक्षसँग आफू सम्पर्कमा रहेको तथा नेपालका विषयमा छलफल गरिरहेको उहाँको भनाइ छ ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग पनि नयाँदिल्लीमा सम्पर्क भएको उपाध्यायले बताउनुभयो । ‘राजदूत रञ्जित रे नेपालको पछिल्लो परिस्थितिबाट चिन्तित हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
वार्ता र सम्वादबाट मधेसमा आन्दोलनरत समूहसँग निकास निकाल्नु पर्ने बताउनुभएका राजदूत उपाध्यायले भन्नुभयो, ‘वार्ता पनि कसले गरिदेओस् ? अझै पनि समय छ । वार्ता गरेर माग सम्बोधन गर्नुपर्छ ।’
विहारमा हुँदै गरेको चुनावका कराण पनि मधेसको आन्दोलनबाट भारतीय पक्ष चिन्तित रहेको राजदूत उपाध्यायको भनाइ छ । सिमानामा हुने आन्दोलन र हिंसाले आफ्नो मुलुक तथा निर्वाचनलाई पर्न सक्ने सुरक्षा खतराले भारतले असन्तुष्टि जनाएको उपाध्यायले उल्लेख गर्नुभयो ।
‘सिमानाका बन्द गर्ने ठाउँसम्म पुग्दैन, पुग्न दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘बाह्र बुँदेदेखि सहयोग गरेको छ । भारतले अभिभावकत्व लिनुपर्छ । त्यसपछि लाभैलाभ छ । नेपालको कुनै पनि समस्याको असर पर्ने कहाँ हो ? त्यो पनि बुझ्न जरुरी छ ।’
भारतका लागि नेपाली राजदूत उपाध्यायले राष्ट्रवादको नाममा नकारात्मक कुरा गर्नु नहुने बताउनुभएको छ । ‘भारतलाई गाली गर्नु हुँदैन’, उपाध्यायले भन्नुभयो, ‘वार्ता कसले गरिदिने ? कसले गराई दिने ? भारतसँग नेपालबाट के अपेक्षा भनेर सोध्ने छु । भारतको इच्छा बुझ्ने छु । मिलाउन यता पनि उता पनि पहल गर्नेछु ।’
भिडियोको लागि तल क्लिक गर्नुहोस् :




0 comments
Write Down Your Responses