व्यापारी अपहरण गरी गणेश लामाले ४० लाखको कागज बनाए
काठमाडौं, ६ असोज ।
गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँको कागज गराएका छन् । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ । नाइके लामा भने भागेर विदेश पुगेका छन् ।
जग्गा कारोबारसम्बन्धी विवादमा लामाले ३० साउनमा ललितपुरको भैँसेपाटीबाट एक व्यवसायीलाई अपहरण गरेका हुन् । पेस्तोल देखाएर आफ्नो गाडीमा राखी कोटेश्वरस्थित आफ्नै घरमा चार घन्टा थुनेर लामाले ४० लाख रुपैयाँको कागज गराएको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार तीन महिनाभित्र पैसा दिनेगरी जबर्जस्ती कागज गराइएको थियो । प्रहरीलाई खबर गरे परिवार नै मारिदिने भन्दै पीडितलाई लामाले धम्क्याएका थिए । त्यही कारण व्यवसायीले उजुरी दिएका थिएनन् । तर, अर्का डन कुमार घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले सो अपहरणमा केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताए । पीडित व्यवसायीले करिब १५ दिनअघि गुन्डा नाइके लामासहित तीनजनाविरुद्ध ललितपुर परिसरमा जाहेरी दिएका थिए । ललितपुर प्रहरीले लामाका सहयोगी विक्रमजितलाई सोमबार पक्राउ गरी मंगलबार अपहरण मुद्दामा अदालतमा म्याद थप गरेको छ । नाइके गणेश लामासहित अरू एकजना फरार रहेको एक प्रहरी अधिकारीले बताए । ‘अनुसन्धान गर्दा लामा सिंगापुरमा रहेको खुलेको छ,’ ललितपुर प्रहरी स्रोत भन्छ, ‘जाहेरी परेको थाहा पाएलगत्तै उनी भागेका रहेछन् ।’
पीडित व्यक्तिले ०६७ मा एक महिलालाई १० लाख रुपैयाँमा भैँसेपाटीमा सात आना जग्गा किनिदिएका थिए । पछि ०७० मा जग्गा किन्ने व्यक्तिले जग्गा फिर्ता दिने बताएपछि उनले पैसा फिर्ता दिने बताएका थिए । त्यस विषयमा दुई पक्षबीच त्यही वेला मिलापत्र भएको थियो । सोही जग्गाको विषयलाई लिएर लामाले उनलाई भैँसेपाटीबाटै अपहरण गरेका थिए । पेस्तोल देखाएर गाडीमा राखी कोटेश्वरस्थित घरमा पुर्‍याइएको र मारिदिने धम्की दिएर जबर्जस्ती कागज गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।
अपहरण गर्दा लामाले आफैँ गाडी चलाएकोसमेत पीडितले बताएका छन् । डन घैँटेको इन्काउन्टरसँगै प्रहरी गुन्डागर्दीविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत भएपछि गुन्डागर्दीमा संलग्नहरू विदेश भागिसकेका छन् । घैँटेको इन्काउन्टरपछि लामाले आफूहरू सुध्रिसकेको भन्दै अन्तर्वार्ता दिएका थिए । तर, बाहिरी रूपमा सुध्रिएको देखिए पनि गुन्डाका नाइकेहरू भित्री रूपमा भने नसुध्रिएको प्रहरी अधिकारीहरू बताउँछन् । राजनीतिक आवरणमा उनीहरूले धम्क्याउने र पैसा असुली जारी राखेको प्रहरीको भनाइ छ । गुन्डाविरुद्ध उजुरी जारी रहेको र अप्रेसन पनि जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । घैँटे इन्काउन्टर घटनापछि गुन्डाहरूविरुद्ध उजुरी दिने क्रम बढेको उनी बताउँछन् ।
गत ३ भदौमा प्रहरीसँगको मुठभेडमा कुमार घैँटे कपुरधारास्थित आफ्नै घरअगाडि मारिएका थिए । गत वर्ष प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’का सहयोगी पञ्चे लामाले केही दिनअघि अदालतमा आत्मसमर्पण गरेका थिए । उनी पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । अपराध महाशाखाले गुन्डागर्दीमा संलग्न सबैको गतिविधि निगरानी गरिरहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


भिडियोको लागि तल क्लिक गर्नुहोस् :


0 comments

Write Down Your Responses

Powered by Blogger.