बल्ल ब्युँझीयो निगम, चिनसँग तेल किन्ने तयारी
बुधबार, २० असोज
काठमाडौ। भारतले आवश्यक इन्धन दिन्छ भन्ने भरमा पर्दै आएको आयल निगमले सम्भावना नदेखेपछि तेस्रो मुलुकबाट इन्धन किन्ने तयारी थालेको छ ।
भारतीय आयल कर्पोरेशनले तेल भर्न लाममा बसेका ट्यांकरहरुलाई तेल उपलब्ध गराउन आनाकानी गरेपछि निगमले विकल्पको खोजी गर्न थालेको हो ।
मन्त्रीपरिषद्ले इन्धनको आवश्यक प्रवन्ध गर्न निगमलाई निर्देशन दिएपछि निगम विकल्पको खोजीमा लागेको हो । निगमका प्रवक्ता दिपक बरालका अनुसार चीनसँगको नाका खुलीसकेकाले उताबाटै तेल ल्याउने तयारी गरिएको छ ।
अन्य देशहरुसँग पनि विकल्पका बारेमा छलफल भैरहेको उनले बताए । आइओसीले बल्ल बल्ले भरीदिएका तेलहरु नाकामा आइपुगेपछि पनि नेपाल प्रवेशमा रोक लगाउने प्रवृत्तिका कारण समस्या भएको बरालले बताए ।
आईओसीको सिलगुढी, बरौनी, रक्सौल, बैतालपुर र गोन्डा डिपोमा १ सय भन्दा बढी खाली ट्यांकर तेल लोड हुने प्रतिक्षामा छन् । तर, आईओसीले तेल प्रत्येक डिपोमा दैकिन २ वा ३ वटा ट्यांकरमा मात्रै लोड दिएको छ ।
आइओसीले ६३ वटा खाली ट्यांकर रहेको रक्सौल डिपोमा एउटा पनि ट्यांकरमा लोड दिएको छैन । आईओसीले तेल लिन बोलाएरपनि लोड नगर्दा ती सबै ट्यांकर उतै अलपत्र पारेका छन् ।
यस्तो बेला नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठ आउनै लागेकाले निगम थप दवावमा परेको छ । चाड पर्वका बेला इन्धन नहँदा पर्व मनाउनै समस्या पर्ने भएपछि निगमले विकल्पलाई तिब्रता दिन थालेको हो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.