के गर्दैछ दिल्ली ?
‘नेपाललाई कमजोर पार्ने होइन, बलियो पार्ने मोदीजीको अठोट छ । विकासका लागि भारत नेपालको बराबरी साझेदार बन्न चाहन्छ,’ साउथ एसिया पिस इनिसियटिभ्सले आइतबार साँझ दिल्लीमा आयोजना गरेको कार्यक्रममा जोलीले भने, ‘तर काठमाडौंमा मोदीजीको पुत्ला जलाइयो । नेपाल–भारत सम्बन्ध बिगार्न चाहने केही तत्त्वले यस्तो काम गरे ।’
भारतमा ५५ लाखभन्दा बढी नेपालीले काम गरिरहेको र भारत निर्माणमा उनीहरूको योगदानलाई पार्टीले उच्च मूल्यांकन गरेको पनि जोलीले बताए । जोलीले नयाँ संविधानमा केही गुनासो राखेको, तर भारतले अस्वीकार नगरेको पनि तर्क गरे । ‘हाम्रा केही मतभेद छन्, तर नयाँ संविधान आएकोमा म भारतीय जनता पार्टीका तर्फबाट स्वागत गर्न चाहन्छु र नेपाली जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ जोलीले भने, ‘हामीलाई थाहा छ कि यो नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । तर, जातीय, क्षेत्रीय विभेदमा परेकाहरूलाई सहमतिमा ल्याएर अघि बढ भारत सरकारले भनेको छ । यति कुरा त नजिकको छिमेकीले गर्न पाउनुपर्छ ।’
१२ बुँदे समझदारीमा भारतले सहजीकरणको भूमिका निर्वाह गरेको उल्लेख गर्दै जोलीले अहिले पनि नेपाललाई अप्ठेरो पर्दा भारतले सहजीकरण गरिदिने बताए । पूर्वमन्त्री तथा कंग्रेस आईका नेता मणिशंकर ऐयरले भारतको भूमिकाको चर्को आलोचना गरे । उनले भने, ‘म नेपाली जनतासमक्ष भारतीय जनताका तर्फबाट माफी माग्न चाहन्छु । दु:ख दिइरहने बडेभाइको भूमिका भारतको रह्यो ।’ भाजपाप्रति कटाक्ष गर्दै उनले बिहारको चुनावमाझ नेपालमा संविधान जारी हुनु ठूलो गल्ती भएको बताए ।
संविधान निर्माणको काम सम्पन्न भइसकेपछि भारतले विशेष दूत पठाएर गल्ती गरेको र भारतले पञ्चशीलका मान्यता उल्लंघन गरेको पनि उनले बताए । नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले निकटको छिमेकी हुँदा दुईपक्षीय सम्बन्ध तल–माथि भइरहने उल्लेख गर्दै अहिले कर्मचारीतन्त्रमा केही असमझदारी देखिएको बताए ।
‘भारतको मूलभूत नियत नकारात्मक थिएन र छैन, तर पछिल्लो असमझदारी हटाएर जानुपर्छ,’ राजनले भने । जवाहरलाल नेहरुका प्राध्यापक तथा गोर्खाल्यान्ड आन्दोलनका अभियन्ता महेन्द्र पी लामाले नेपालमा मधेसीहरूको आफ्नो लगाव भारततिर हो कि नेपालतिर भन्ने स्पष्ट नहुँदा समस्या उत्पन्न भएको बताए । ‘उनीहरू नेपालप्रति प्रतिबद्ध हुनैपर्छ । तर, उनीहरूको व्यवहार त्यस्तो छैन, अहिले उनीहरूका लागि ठूलो हानि हो,’ लामाले भने, ‘हामी गोर्खाहरू यहाँ भारतप्रति प्रतिबद्ध छौँ, लोयल छौँ, गोर्खाल्यान्डका लागि सहयोग गर भनेर नेपाललाई भनेका छैनौँ, मधेसीले पनि यो कुरा गर्नुपर्छ । ’
कंग्रेस सरकारका पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यसमेत रहेका लामाले अब नेपालमा भारतले लोकतान्त्रिक संस्था बनाउन सहयोग गर्नुपर्ने बताए । उनले सीमामा अहिले उत्पन्न अवरोध र भविष्यमा हुन सक्ने अवरोध हटाउन नेपाल र भारतले केन्द्रीय, क्षेत्रीय, जिल्लास्तरको संयुक्त सुरक्षा कार्यदल बनाउपर्नेमा पनि जोड दिए । सिक्किमका मन्त्री जिएम गुरुङले नेपालको संविधानलाई सिक्किमका जनताले स्वागत गरेको बताए । ‘संविधानरूपी बच्चा भर्खरै जन्मेको छ । यसलाई बलियो बनाउन सहयोग गरौँ,’ उनले भने ।
नेपालका सांसद तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतले संविधानमा समर्थन नगर्नु र अघोषित नाकाबन्दी लगाउनु दुवै आश्चर्यको विषय भएको बताए । ‘मधेसीको मुख्य माग पूरा भइसकेको छ, प्रक्रियामा सरकार छ । सर्तहरू पूरा भएका छन्, अब उनीहरूले आन्दोलन गरिराख्नुपर्ने जरुरी छैन,’ ढकालले भने । नयाँ पत्रिका दैनिकमा दिल्लीबाट पर्शुराम काफ्लेले खबर लेखेका छन् ।
0 comments
Write Down Your Responses