दशैँको मासु, सेल र खाना हिटरमै पाक्योः नायिका थापा
दशैँ कसरी मनाउनुभयो ?
खुशीको आगमनले यसपाली दशैँमा हामीले टीका लगाउन पाएनौँ । देवरको बच्चा जन्मेको कारण टीका नलगाएपनि दुःखी हुनुपर्ने दशैँ यसपाली भएन । रमाइलो गरिरहेका छौँ । खानपिन चलिहाल्छ । हामी तीन दिदीबहिनी ( झरना दिज्यू, म र मेरो देउरानी) पालैपालो खानेकुरा बनाउँछौँ । सवै परिवारलाई डाकेर खाने, बस्ने, अनि रमाइलोको लागि तास खेल्ने आदिइत्यादी भइरहेको छ ।
तासमा के खेल्नुहुन्छ ?
मलाई खासै तास खेल्न आउँदैन । जुटपत्ती खेल्न आउँछ । फरास खेल्न यसपालीदेखि सिकेँ । सवैलाई मिल्ने खालको तास खेल्छौँ ।
यसपाली सवैभन्दा बढी कसले जित्यो ?
अलि धेरै जित्नेमा झरना दिज्यू पर्सिन्थ्यो । तर यसपाली त्यति धेरै खेल्ने मौका पाएका छैनौँ । यसपाली जित्नेमा म पनि परेको छु ।
आफन्तहरु त आउनुभएन होला ?
टीका लगाउन चाहिँ आउनुभएको छैन । तर दशैँ भनेर आउनुपर्ने आफन्त चाहिँ सवै आउनुभयो । खानपिन चल्ने भएकाले सवैजना जमघट भयौँ ।
२०७२ सालको दशैँमा सवभन्दा अविश्मरणीय क्षण कुन रह्यो ?
दशैँको हर्षउल्लास मज्जाले लिन त सकिएको छैन । सासुआमा नरहनुभएको कारण हामी सवैको मनमा खिन्नता छ । तरपनि संस्कृति भएकाले दशैँलाई हामीले मान्नैपर्छ । हामीले हाम्रो जीवनलाई अगाडि बढाउनैपर्छ । जहिले निराश भएर बस्नुपनि भएन । तरपनि मनमा खिन्नता चाहिँ छ । घरमा आमाबुबाको कमी महसुस हुन्छ । बुढापाका घरमा हुनुहुन्न । हामी सवैजना उस्ताउस्तै छौँ ।
दुई जना नायिका भएको घरमा त दशैँ भिन्नै होला हैन ?
खासै त्यस्तो फरक त हुँदैन । हामीपनि मान्छे नै हौँ । एकदमै एक्ट्रा हाम्रोमा हुँदैन । हाम्रो सवै कुरा नर्मल हुन्छ । घरपरिवारमा बसेर आम बुहारीहरुले जे जसरी काम गर्नुहुन्छ, झरना दिज्यू र म पनि त्यसरी नै काम गर्छौँ । हामी आफैँ पकाउँछौँ । तर हाम्रो घरमा फिल्मी माहोल चाहिँ हुन्छ । आफन्तहरुले पनि झरनाको यो फिल्म, शुभेच्छाको यो फिल्म भनेर कुरा निकाल्नुहुन्छ ।
यसपाली त झन ग्यास र पेट्रोलको अभावले समस्या भएको छ । हामी यताउता जान पनि हिडेरै जान्छौँ । नेपाल सरकारलाई धन्यवाद पनि दिनुपर्छ, कमसेकम यो टाइममा बत्ती गएन । त्यसकारण हामीले हिटरमै मासु, सेल, खाना पकाउन पायौँ ।
नायिकाबाट टीका लगाउने भनेर वरिपरीका मानिसहरु आउँछन कि आउँदैनन ?
वरिपरी हामी नायिकाहरु चाहिँ जान्छौँ । सवै आफन्त हुनुहुन्छ । हामीभन्दा सिनियर हुनुहुन्छ । वरिपरीका ३५ घरका हामी बुहारी हौँ । त्यसकारण टीका थाप्न हामी जान्छौँ । हामीसँग टीका लगाउन आउने चाहिँ देवर र देउरानी, भान्जा मात्र हुन ।
पीङ खेल्ने अनि रमाइलो ठाउँमा घुम्न जानुभयो कि भएन ?
पोहोर साल दशैँको टीका लगाएर पीङ खेल्न म नगरकोट गएको थिएँ । बाटोहरुमा पीङ खेल्दै जगरकोटसम्म पुगेर मनोरम दृश्य अवलोकन गरेर फर्किएको थिएँ । यसपाली त्यस्तो अवसर मिलेन । फेरि पहिला बुबाले घरको आगनमै पीङ हालिदिनुहुन्थ्यो । त्यो कुराले पनि अहिले बुबालाई धेरै मिस गर्छौँ । घरमै भएपनि एकपटक पीङमा बस्न पाउँथ्यौँ । तर यसपाली एक पटक पनि पीङ नखेली दशैँ जाला जस्तो छ ।
अन्त्यमा ?
यसपाली निराशपूर्ण दशैँ छ । तरपनि हामीले चाडपर्व मनाउँनैपर्छ । धेरै जाँडरक्सी नखाई, देखावटीमा नभइ साधारण तरिकाले दशैँ मनाऔँ । म पनि त्यसरी नै मनाउँछु । दशैँ भनेको रातो अक्षता र पहेलो जमरा लगाएर खुःशी हुने क्षण हो । त्यो खुःशीको क्षण तपाईहरु पनि राम्रोसँग मनाउनुहोस । अर्को वर्ष मिलेछ भने म पनि अवश्य रातो अक्षता र पहेलो जमरा लगाउने छु ।
-nepalpati
0 comments
Write Down Your Responses