उपेन्द्र यादव भन्छन्, ' ७, १८ र पछिल्लो ३५ बुँदे माग मधेसी मोर्चाको होइन'
काठमाडौँ,  असोज  २१ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताएका छन् ।

उनले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढ्दै गएको बताए ।

विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उनले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताए ।

अध्यक्ष यादवले बाहिर मधेसी मोर्चाको भनि आएको ७, १८ र पछिल्लो ३५ बुँदे प्रस्ताव आफूहरुको नभएको भन्दै त्यस्ता प्रस्ताव थाहै नपाई आफूहरुको टाउकोमाथि थोपरिएको भन्दै असन्तुष्टी प्रकट गरे ।

उनले भने, ‘ मोर्चाको तर्फबाट अहिलेसम्म कुनै मागै प्रस्तुत गरेका छैनौ । त्यो कहाँबाट आयो कस्ले राख्यो आश्चर्यमा परेको छ । त्यससँग केही माग हाम्रा मिल्दा जूल्दा मात्र होलान । हामीले बार्ताको बातावरण बनाउन केही सुझाव दिएका थियौ । हाम्रो माग भनेको ८ बुँदे र २२ बुँदे सरकारले गरेको सम्झौता मात्रै हो । ’

विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उनले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राखे  ।

देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकामा उहाँको आपत्ति थियो । विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा सीमाङ्कनका विषय टुङ्गोमा पु¥याउनुपर्ने उनले बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.