दसैंलगत्तै एक लिटर पेट्रोल पनि भित्रन नदिने मोर्चाको चेतावनी
दसैंका लागि केही खुकुलो बनाइएको र कोजाग्रत पूर्णिमालगत्तै आन्दोलन थप सशक्त बनाउन लागिएको मोर्चाका नेताहरुले बताएका छन् ।
तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले दसैंसकिए लगत्तै आन्दोलन सशक्त बनाउने तयारीमा आफूहरु रहेको बताए ।
यद्यपि आइतबार हुने वार्तामा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने विषयले आन्दोलनको भावी दिशा तय हुने उनको भनाइ थियो । ‘हाम्रो लडाईं जनताविरुद्ध होइन’, त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘दसैंका लागि केही खुकुलो गरेका थियौं, केही दिनभित्रै फेरि सशक्त बनाउँछौं ।’
सिमांकनमा कुरा नमिलेसम्म आन्दोलन नरोकिने उनले बताए । आफूहरुले अवरोध नगेका कारण वीरगञ्जबाहेक अन्य नाकाबाट सामान ढुवानी भइरहेको दाबी गर्दै त्रिपाठीले अन्य नाकामा पनि धर्ना र प्रदर्शन गरिने उल्लेख गरे ।
‘हामीले छोडिदिएका कारण रक्सौलबोहक अन्य नाकाबाट समान आएको हो’, उनले भने, ‘अब काँकडभिट्टा, जोगवनी, सुनौली, रुपैडिहा र बेलहिया नाकामा पनि धर्ना दिन्छौं ।’
माग सम्बोधन नभएसम्म एक लिटर पेट्रोल पनि नेपाल आउन नदिने निर्णय मोर्चाले गरेको छ । आइतबारको वार्तापछि मोर्चाको बैठक बसेर भावी आन्दोलनबारे ठोस निर्णयमा पुग्ने जानकारी त्रिपाठीले दिए ।




0 comments
Write Down Your Responses