तीन महिनासम्म आफ्नै पिसाव खाएर बाँचेका उपसभामुख यादव
पञ्चायती व्यवस्था २०१८ सालमा आयो । त्यो समयमा गाँउमा बुबाको चहलपहल सुरु भएको थियो । कुस्ती खेल्ने हुँदा पनि बुबाको अगाडिपछडि मान्छेहरु हिड्न थालेका थिए । त्यहि समयमा बुबा प्रधानपञ्च हुनुभयो । त्यतिबेला जोगिनिया पञ्चायत थियो । अहिले जोगिनिया गाविस छ । बुबा मुनिलाल यादव प्रधानपञ्च हुनुभयो । उहाँ जिल्लामा सबै भन्दा जनप्रिय हुनुहुन्थ्यो । उहाँले राजनीतिको साथै भैँसीको व्यापार पनि गर्नुभयो । घरको आर्थिक अवस्था बुबाले राम्रै बनाउनुभयो ।
म स्थानीय महाविर निमाविमा भर्ना भएँ । मैले कक्षा ७ सम्म नेपालमै पढेँ । मेरो गाँउमा विज्ञानको पढाइ हुँदैनथियो । त्यसपछि म पढ्न भारतको विहारको विरपुर गएँ । विज्ञान पढेर डाक्टर हुने ठूलो सपना थियो । त्यहिबाट म्याट्रिक पास गरेँ । त्यो बेलासम्म पनि राजनीतिमा चासो राख्ने भइसकेको थिएँ । विहारमा पढ्दापढ्दै गाउँ पञ्चायतको सदस्य भएँ । १६ वर्षको उमेरमै निर्वाचित भएर वडा सदस्य बनेँ ।
पञ्चायतमा पनि दुई गुट थियो । अर्को गुटले मेरो उमेर नपुगेको भन्दै उम्मेदवारी रद्द गर्न निवेदन दियो । तर भोटर लिस्टको आधारमा मेरो उम्मेदवारी सदर भयो । १० कक्षामा विहारमा पढदै गर्दा जोगिनिया गाउँ पञ्चायतको सदस्य बनेँ ।
म्याट्रिक पासपछि फारवेस्ट गञ्जमा आइएस्सी पढ्न थालेँ । तर त्यहा पढाई भन्दा पनि राजनीति बढी गरियो । विद्यार्थी संगठनको सचिव भएँ । राजनीतिमा सक्रिय हुँदा पढाई बिग्रिसकेछ । आइएस्सीमा थर्ड डिभिजन आउँदा बल्ल थाहा भयो । त्यसपछि न डाक्टर पढ्न पाएँ, न त बिएस्सी अनर्सनै । त्यहि कलेजमा राजनीतिशास्त्रमा बिएमा भर्ना भएँ ।
यता म वडा सदस्य थिएँ । बुबा प्रधानपञ्च । घर आउँदा बुबालाई सहयोग गर्थेँ । घर आउँदा पढेलेखेको भएर पञ्चायतमा मलाई पनि बोलाउथे । कयौ पटक म पञ्चायतमा बुबाको निर्णको विरोधमा उभिएको छु । बुबाले कतिपटक त मलाई पञ्चायतमै गाली समेत गर्नुभयो । मैले बुबालाई भन्थे, म पनि पञ्च, तपाईपनि पञ्च । यहाँ होइन, घर गएर गाली गर्नुहोला । निर्णय क्षमताको कारण म स्थापित हुँदै गएँ ।
नेपाल आएपछि २०२७ सालमा युवाको जिल्ला सभापति भएँ । त्यो समयमा युुवाको सभापति जिल्ला विकासमा पदेन सदस्य हुन्थ्यो । म पनि जिल्ला पञ्चायतमा सदस्य भएँ । जिल्लास्तरको राजनीतिमा स्थापित हुँदैथिएँ । त्यहि समयमा नेपालमा भारतको पश्चिमी क्यानलको काम हुँदै थियो । तर उसले सबै कर्मचारी भारतबाट ल्याएको थियो । त्यसको विरोध गरेँ । मैले ठेक्का पनि नेपालीले पाउनुपर्छ भनेँ । विरोधपछि ठेक्का नेपालीले नै पाए । म र अञ्चलाधीश मिलेर ढेड सय जति कर्मचारी राख्यौँ । त्यो समयबाट म झन चर्चित भएँ । भारतको विरोधमा खडा भएपछि पञ्चायत सरकारले मलाई राष्ट्रवादी युवाको रुपमा लियो । त्यही भएर होला मैले २०२८ सालमा गोरखा दक्षिण बाहु पाएँ । त्यसपछि झन चर्चा हुन थाल्यो । राजनीतिमा अझ सक्रिय भएँ । त्यतिबेलासम्म बुबा प्रधानपञ्च नै हुनुहुन्थ्यो ।
२०३२ सालमा दुई वटा पञ्चायत मिलाएर एउटा पञ्चायत बन्यो । त्यो समयमा म निर्विरोध प्रधानपञ्च भएँ । बुबाले मलाई सहयोग गर्नुभयो । बुुबाले मलाई होइन, गंगालाई जनताले रुचाएका छन, उसले राम्रो काम गर्छ, म सहयोग गर्छु भन्दै हिडनुभयो ।
२०३६ सालको जनमत संग्रहमा युवाको केन्द्रीय सदस्य थिए । पार्टीको जिल्ला सदस्य थिए । २०३९ सालमा पञ्चायत विभाजन भएर पहिलेको जस्तै दुई पञ्चायत भए । पुरानो पञ्चायतको प्रधानपञ्च पुनः बुबा हुनुभयो । बुबा आफ्नो जीवनकालभरी (२०४२ सालमा मृत्यु नहुँदासम्म) प्रधानपञ्च हुनु भयो ।
राजनीतिक परिवर्तपछि भएको स्थानीय निर्वाचनमा भने मैले १२ भोटले हारेँ । डाकाले गोली हानी भाइ दिनेशको हत्या र बुबाको निधनले गर्दा मैले चुनाव हारेको हुँ । तर म राजनीतिबाट कहिल्यै टाढा भइनँ । जिल्लाको राजनीतिमा सक्रिय भएर लागेँ । गाँउमा समय दिन सकिनँ । तर त्यहि समयमा राजा वीरन्द्रले मेरो भाइको नाममा एउटा स्कुल (दिनेश प्राथमिक विद्यालय) बनाइदिनुभयो ।
२०५४ सालको स्थानीय निर्वाचनमा अत्याधिक मतले गा.वि.स अध्यक्ष निर्वाचित भएँ । त्यो समयमा तीनवटा गा.वि.समा राप्रपाले निर्वाचन जितेको थियो । यी सबै मेरो क्षेत्रमा पथ्र्ये ।
राजा ज्ञानेन्द्रको पालामा जिल्ला विकास समितिको उपसभापति भएँ । म काठमाडौँ आएको भए सभापति नै हुन्थेँ । राजाको सचिव पशुपति महर्जनले फोन गर्दा म पदको लागि काठमडौँ आउँदिन भनेको थिए ।
२०६० सालमा एक्कासी विरामी भएँ । चितवनमा जचाउँदा क्यान्सर भएको पत्ता लाग्यो । उपचार गरेँ । तर अव बाँचिदैनहोला भन्ने लागेको थियो । छोराछोरीको विवाह पनि गर्न सकेको थिइनँ । सबैलाई बोलाएर काम भाग लगाइदिएँ । काललाई नजिकबाट देखेँ । मैले भगवानसंग प्रार्थना गर्थे ‘हे भगवान केहि समयको लागि बचाइदिनुहोस ।’ भगवानले मेरो प्रार्थना सुन्नुभयो, म बाँचेँ । मैले उपचार भरतपुरमा गराएको हुँ । मुम्बईको टाटा अस्पतालमा एक पटक जचाउन गएको थिएँ । अहिले पनि डाक्टर छक्क पर्दै भन्छन ‘तपाईले त क्यान्सरलाई जित्नुभयो ।’
टाटा अस्पतालबाट बाहिरिने क्रममा भारतको कुनै नेतालाई क्यान्सर भएर लेखेको किताव देखेँ । ‘स्वमुत्रपान’ किताव किनेर पढेपछि घर आएर तीन महिनासम्म आफ्नै पिसाव खाएँ । बिहानको पहिलो पिसाव गर्र्दा बीचको पिसाब गिलासमा भर्थेँ । पहिलो दिन पिसाव खादा अप्ठ्यारो लाग्यो । कस्तो कस्तो भयो । तर पछि बिस्तारै बानी नै भयो ।
क्यान्सरबाट निको हुँदै गएँ । डाक्टरले मलाई तीन महिनामा आउनु भन्नुभएको थियो, तर म गइन । निरन्तर पिसाव भने खाइरहेँ । भरतपुरमा जचाउन जाँदा डाक्टर नै छक्क परे । तर उनलाई मैले भनिन कि म आफ्नै पिसाव खान्छुँ । किन कि डाक्टरले त्यो कुरा पत्याउदैनन् । म पूरा ठिक भए । तर त्यहि समयमा मेरो गालाभन्दा अलि माथि तिनवटा गिर्खा आए । मलाई शंका लाग्यो कि यो पनि क्यान्सर हो ।
त्यहि कितावमा लेखिएको थियो–पिसावले मालिस गर्दा ठिक हुन्छ भनेर । त्यो कितावमा लेखे अनुसार सातवटा बोतलमा एक–एक दिन पिसाव गरे । सात दिनपछि पहिलो दिनको पिसावले मालिस गरेँ । दैनिक यसरी मालिस गर्दा ती गिर्खापनि हराएँ । अहिले म पुरा ठिक भएको छु ।
राजनीति भनेको समय अनुसार चल्न जान्नुपर्छ । पञ्चायतमा त्यहि किसिमको राजनीति गरियो । बहुदलमा त्यहि किसिमको । अहिले देशमा गणतन्त्र आएको छ । त्यहि किसिमको राजनीति गर्नुपर्छ । पञ्चायतमा पनि बहुदलवादीहरुले निर्वाचनमा भाग लिएर जितेका उदाहरण छन् । उनीहरु कहिल्यै पञ्च भएनन् । बहुदवादी नै रहे । अहिलेका गणतन्त्रवादीहरुले बहुदलमा चुनाव जिते तर उनीहरु बहुदलवादी भएनन् ।
राजनीतिमा आफ्नो विचार अनुसार चल्नुपर्छ । अहिले पनि राप्रपा नेपालको राजनीतिक मुद्धामा कुनै फरक छैन । हामी पुरानै मुद्धामा अडिग छौँ । हामीले फरक मत राखेर देश र जनताको भाग्य र भविश्यसँग जोडिएको संविधान बनाएका छौँ ।
अहिले म उपसभामुख भएको छु । आफ्नो जिम्मेवारी निष्ठाका साथ पुरा गर्ने छु । म देशको उपसभामुख हुँ । अब मबाट कुनै भेदभाव हुने छैन । अव मैले आफूमा भएको विद्रोही स्वभाव छोड्नुपर्छ । उपसभामुख जस्तो गरिमामय पदलाई कहिल्यै विवादमा ल्याउने छैन ।
प्रस्तुतिः कृष्ण गिरी
nepalpati
0 comments
Write Down Your Responses