सत्ताधारी दलले पैसाको खोलो बगाएः एमाओवादी उम्मेदवार केसी
सोमबार, चैत्र ३०,
बाग्लुङ–१ मा एमाओवादीका उम्मेदवार कृष्णबहादुर केसीले सत्ताधारी दल नेपाली कांग्रेस र एमालेले पैसाको खोलो बगाएको आरोप लगाएका छन् । गत शनिबार सम्पन्न संविधानसभाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार चम्पा खड्का बिजयी भएकि थिइन । भने एमाओवादीको धरौटी समेत जफत भएको थियो ।

अघिल्ले निर्वाचनको तुलनामा आधा समेत मत नल्याएको एमाओवादीका उम्मेदवार केसीले प्रतिकुल परिस्थितिमा पनि एमाओवादीलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद व्यक्त गरेको छन् । सोमबार एक विज्ञप्ति निकालेर केसीले सम्पूर्ण मतदाता र निर्वाचन सम्पन्न गराउन सम्पूर्णलाई धन्यवाद दिएका हुन् ।

उनले सत्ताधारी दलले सत्ताको चरम दुरुपयोग गरी निर्वाचन प्रभावित पारेको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्–‘आवधिक निर्वाचनलाई संसदीय व्यवस्थामा जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर प्रकृयाको रुपमा व्याख्या गरिन्छ । स्वच्छ, स्वस्थ र निष्पक्ष निर्वाचन त्यसको आधारभूत शर्त हो । यो त झन संविधान सभाको निर्वाचन थियो । यस्तो ऐतिहासिक निर्बाचनमा राजनैतिक, बैचारिक र संविधान सभामा उठाउने मुद्दाहरुलाई गौण बनाई आमजनतामा निरासा र राजनीतिप्रति नै वितृष्णा पैदा हुनेगरी सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग हुनु, निर्वाचन आचार संहिताको उलंघन हुनु, आममतदाताहरूलाई अवान्छित प्रलोभनमा पारिनु, मतदाता खरीद–विक्री गरिनु, त्यस क्रममा विभिन्न ठाउँहरुमा नाराबाजीहरु तथा एक–आपसमा झडपहरु समेत हुनु, सो बारे स्थानीय संचार माध्यममा स्विकारोक्ति आउनु र यी सबै कुरा छर्लङ्ग हुँदा हुँदै पनि निर्वाचन आयोग मौन बस्नु निन्दनीय र भत्सर्नायोग्य मात्र नभई लोकतन्त्र माथिकै प्रहार हो ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्– ‘विजयी हुनको लागि करोडौंको धनराशी खर्च गर्नुपर्ने र सो रकम उठाउन भ्रष्टाचार तथा अन्य विभिन्न अपराधमा संलग्न हुनु पर्ने र पराजित भएमा आर्थिक रुपमा जीवनभर कहिल्यै उठ्न नसक्ने गरी थला पर्नु पर्ने स्थिति पैदा भएको छ । यस प्रकारको निर्वाचनले जनताको वास्तविक अभिमतको प्रतिनिधित्व गर्न र गरीब, दुःखी जनताले निर्वाचनमा प्रतिनिधिको रुपमा प्रस्तुत हुन सक्ने स्थितिको कल्पना समेत गर्न सकिंदैन । यस प्रकारको चुनावी शैलीले वर्तमान संसदीय व्यवस्थाको धज्जी उडेको छ र यसको असफलता प्रस्ट भएको छ । यसबाट हाम्रो पार्टीले प्रस्ताव गरेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै सर्वोत्तम प्रणाली भएको सिद्ध भएको छ ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.