चीनले ७६ अर्ब र जापानले २५ अर्ब दिन
काठमाडौँ, १० असार ।
छिमेकी चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ (सात सय ५० मिलियन अमेरिकी डलर / ४.७ बिलियन युआन) सहायता उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग अलगअलग भेटी बुधबारै चिनियाँ विदेशमन्त्रीले यसबारे जानकारी गराएका हुन् । जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड रुपैयाँ (दुई सय ५० मिलियन अमेरिकी डलर) सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्मेलनका क्रममा गर्ने भएको छ । छिमेकी भारतका तर्फबाट पनि चीनकै हाराहारीको सहयोग रकम घोषणा हुने सरकारी स्रोतले जानकारी दियो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार हुने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा नेपालका लागि उक्त सहायता घोषणा गर्ने भएका हुन् ।
चीनका तर्फबाट नेपाललाई दिइने यो नै हालसम्मको उच्च सहयोग हुनेछ। यसअघि राष्ट्रपति डा. यादवको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा १४ अर्ब रुपैयाँको सहायता चीनले नेपाललाई दिने घोषणा गरेको थियो ।
यसखालको सहयोग हामीले विदेशी मुलुकहरूलाई दिएको अत्यन्तै दुर्लभ छ । तर नेपाल विपत्मा रहेको अवस्थामा पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउन लागेका हौं, चिनियाँ विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  उक्त सहायता ऋण र अनुदान गरी मिश्रित खालको हुने चिनियाँ पक्षले जानकारी गराएको स्रोतले जनायो । स्रोतका अनुसार चीनले उक्त सहयोग चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर इन्भिस्टमेन्ट बैंकमार्फत गर्ने भएको छ ।  उक्त बैंकमा नेपाल भारतलगायत विश्वका ५७ देश संस्थापक सदस्य बनिसकेका छन् । हामी नेपालसँगको सम्पर्क अझै बढाउन चाहन्छौं । विदेशमन्त्री वाङले भेटहरूमा भने ‘सिल्क रोड परियोजनाअन्तर्गत उक्त सहयोग रकम खर्च गर्ने हाम्रो चाहना छ ।’
छिमेकी मुलुकहरू नेपाललगायत दक्षिण एसिया, युरोपलगायत मुलुकहरूसँग सम्पर्क बढाएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी जिनपिङले ४० अर्ब अमेरिकी डलरको सिल्क रोड परियोजना दुई वर्षअघि अघि सारेका थिए ।  नेपालले गत मंसिरमा सिल्क रोड इकानोमिक बेल्टमा सहभागी हुने निर्णय गरिसकेको छ ।  राष्ट्रपति डा.यादवले गत चैतमा सम्पन्न आफ्नो चीन भ्रमणमा समेत नेपाल सिल्क रोड इकोनोमिक बेल्डमा सक्रियतापूर्वक सहभागी हुने वचनबद्धता गरेका थिए ।
गत कात्तिकमा अर्थमन्त्री डा. रामशरण महतको चीन भ्रमणमा नेपाल चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सदस्य हुनेगरी सम्झौता भइसकेको छ । परराष्ट्रमन्त्री पाण्डेसँगको भेटमा विदेशमन्त्री वाङ्ले नेपालको अहिलेको विपद्को घडीमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताएको परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.