राहतको २० लाख किलो चामल गोदाममा
राहतको २० लाख किलोग्राम चामल खाद्य संस्थानको गोदाममै थन्किएको छ । अन्य खाद्यजन्य राहत सामग्री भने गोदाममा रित्तिसकेको छ । सरकारले केन्द्रीय राहत संकलन, वितरण र अनुगमन केन्द्रमा जम्मा भएको खाद्य सामग्री संस्थानकै गोदामबाट भूकम्प प्रभावित जिल्लामा पठाउने गरेको छ । बंगलादेश सरकारले दिएको ९९ हजार नौ सय ४२ क्विन्टलमध्येको चामल गोदाममा थन्किएको हो ।
‘बंगलादेशबाट आएकोमध्ये धेरै चामल वितरण भइसकेको छ भने केही परिमाण वितरणका लागि सूची तयार गरिसकेका छौँ,’ खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले भने, ‘२० हजार क्विन्टल चामल मौज्दात छ ।’ बंगलादेशबाट पूर्वीनाका काँकडभिट्टा हँुदै आएको चामल संस्थानको क्षेत्रीय कार्यालयहरूमार्फत पनि वितरण भइरहेको छ ।
राहतको चामलबाहेक संस्थानको गोदाममा थप दुई लाख ३१ हजार चामल मौज्दात रहेको पनि प्रवक्ता उपाध्यायले बताए । ‘राहतमा आएको चामलले नपुगे संस्थानसँग रहेको आन्तरिक मौज्दात पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने । संस्थानसँग उसिना, सोना मन्सुली, बासमती, जिरा मसिनो, गोरखनाथ, मकवानपुरेलगायतका चामल मौज्दात रहेको उनको भनाइ छ ।
यसअघि सरकारले संस्थानकै चामल राहतस्वरूप वितरण गरेको थियो । सुरुमा संस्थानको चामल परल मूल्यमा खरिद गरी सरकारले राहतमा वितरण गरेको थियो । त्यसपछि दातृ राष्ट्र, विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्री सरकारले वितरण गर्दै आएको छ ।
गोदाममा राहत सामग्री अब चामल र त्रिपाल मात्रै बाँकी छ । नेपाल खाद्य संस्थानमा हाल चामल मात्रै स्टक रहेको संस्थानको बागमती अञ्चल कार्यालयले जनाएको छ । कार्यालयबाट भूकम्प प्रभावित क्षेत्रमा सबैभन्दा धेरै चामल, नुन, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री जिल्लामा पठाइएका छन् । सोमबार मात्रै पाँच गाडी चामल प्रभावित क्षेत्रमा पठाइएको संस्थानको बागमती अञ्चल कार्यालयले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।*
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses