मध्यराति किन सन्किए लोकमान ?
काठमाडौं, २७ जेठ।
 देशले शाही शासनबाट मुक्ति पाइसकेको छ । तर, नयाँ–नयाँ रंग र ढंगका ‘महाराजहरू’ ओइरिन थालेपछि राष्ट्रसेवकहरू नै मारमा परेका छन् । शक्तिपीठहरूको दर्शन गर्न हेलिकोप्टर चार्टर्ड गरेका लोकमानबाट हो, ठाउँ–ठाउँका प्रहरी अधिकृतले गत साता हैरानी व्यहोरेको ।
लोकमान आएको कुरा सुनेर उनको खातिरदारीमा नेपालगञ्जमा भएभरका प्रहरी हाकिम जुट्ने नै भए । पत्नीसहित पुगेका उनलाई राम्रोसँग राख्ने र मीठो खुवाउने काममा खटेका हाकिमहरूले मध्यरात कुकुरले नपाउने दुःख पाए । त्यहाँको सबभन्दा सुविधासम्पन्न भनिने भवानी राणा सञ्चालिका रहेको होटल स्नेहामा बसेका थिए लोकमान । भगवानको पाऊ पर्न हिँडेका उनले त्यहाँ मदिरा र मासुका सितनसँग रात काट्न थाले । अब सुत्लान् कि भन्दाभन्दै ड्युटी बसेका प्रहरी अधिकृतहरू आफैँ झुप्प–झुप्प निदाउने स्थितिमा पुगे । रातको १२ बजे लोकमान पड्किए, ‘यस्तो पनि हुन्छ ? के सम्झिएका छन् यिनीहरूले ? मलाई यहाँ ल्याएर राख्ने ? एउटा कार्पेट सद्दे छैन । यस्तो फोहोरको डंगुरमा ल्याएर राख्ने ?’ यसरी लोकमान पड्किएपछि होटलभरि हंगामा भयो । सुतिसकेका हाकिमहरू ज¥याकजुरुक्क उठे । ‘यस्तो ठाउँमा बसिन्नँ’ भन्दै घुर्की लगाएका लोकमानले प्रहरीहरूलाई नै अह्राए, ‘गाडी ठीक पार । धनगढी जान्छु ।’ एकजना हाकिम भन्दै थिए, ‘भोलि सबेरै गए हुन्न हजुर ?’ लोकमान किन मान्थे र, ‘मलाई तिमीहरूले यस्तो ठाउँमा बस्ने देख्यौ ?’ भन्दै झन् पड्किए । यसपछि राति साढे १२ बजे धनगढीका लागि हिँडे, प्रहरीको साइरनयुक्त एस्कर्टसहित हेलिकोप्टर ल्याण्ड गरिएको राँझा विमानस्थलतिर । मध्यरात, नेपालगञ्जमा के घटना भएछ भनेर बजार क्षेत्रका बासिन्दा झ्यालझ्यालबाट हेर्दै थिए । एउटा गाडीलाई दुई–तीनवटा प्रहरीको गाडीले अगाडि–पछाडिबाट घेरेर लगेको दृश्य त्यहाँका बासिन्दाका लागि बुझिनसक्नुको भयो । विहान मात्र उनीहरूले चाल पाए, बास बस्नेगरी नेपालगञ्ज पुगेका लोकमान मध्यरातै त्यहाँबाट रवाना भएछन्, मदिराको तालमा ।
नेपालगञ्जमा त यति भयो । फेरि दुःख पाए, कैलालीका प्रहरीले । धनगढी पुग्नुअघिका सम्पूर्ण युनिटलाई हाई अलर्टमा राखियो । बिहान ५ बजेदेखि लोकमानको ‘सवारी ड्युटी’ लगाइयो । उनी नेपालगञ्जबाट उडेको आधा घन्टामै धनगढी पुगे । नेपालगञ्जका प्रहरीले धनगढीलाई रिले गरिसकेका थिए, होटलका कारण बिच्किएर मध्यरात हिँडेका हुन् भनेर । यो कुरा सुन्नासाथ जिल्ला प्रहरी कार्यालय, कैलालीको एउटा टोलीले तुरुन्तै धनगढी बजारस्थित होटल साफी अघोषित रुपमा कब्जामा लियो । त्यहाँ बस्न गएका पाहुना र काम गर्ने कर्मचारीले कुरा बुझेनन् । पहिला–पहिला राजा–महाराजाहरूको सवारी चल्दा त्यसरी होटल सफा गर्ने, सुरक्षाकर्मी तैनाथ गर्ने र कोही कसैलाई झ्यालबाट चिह्याएर हेर्न नदिने गरिन्थ्यो । तर, अहिले देशमा महाराजाहरू नभएको बेला कसका लागि प्रहरी यस्तो गर्दैछ ? केहीबेरमा धनगढी बजारै थर्कमान हुने गरी एउटा हेलिकोप्टर आकाशबाट झर्न थाल्यो । राष्ट्रपति नै आएछन् क्यार भन्ठानेका त्यहाँका बासिन्दाले भोलिपल्ट विहान मात्रै थाहा पाए, आएकाचाहिँ लोकमान रहेछन् । धनगढीबाट उनी विहानै बाजुरास्थित बडीमालिका मन्दिरको दर्शनमा निस्किए । र, दिउँसो महेन्द्रनगरमा स्थापित क्षेत्रीय सम्पर्क कार्यालय भवन निर्माणस्थलको शिलान्यास गर्न भ्याए । पहिलो कुरा त, सरकारले भूकम्पका कारण भवन निर्माणका लागि नक्सापास गर्नै रोक लगाएको छ । जनतालाई लागेको रोक्का अख्तियारलाई नलाग्दो रहेछ क्यार † अनि, लोकमान पो प्रमुख आयुक्त हुन् र उनले रिबन काटेर भवन शिलान्यास गरे, पत्नी सुनीताले पनि साथ लागेर शिलान्यासको रिवन काट्न भ्याइन् । राजाको शासनमै पनि रानीहरूले नगर्ने काम नयाँ–नयाँ महारानीहरूबाट भएको देख्दा कर्मचारीहरू लाजले मुख छोप्ने स्थितिमा पुगे ।
लोकमानको यो भ्रमणको खर्च निस्किएको छ, २० लाख रुपैयाँ । एउटा सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण हुने बजेट हो त्यो । अख्तियारसँग भवन निर्माण शीर्षकमा केही रकम छ । तर, भ्रमण शीर्षकमा २० लाख रुपैयाँ निकासा हुने स्रोत छैन । लेखामा काम गर्ने कर्मचारीहरू हैरान छन्, बजेट मिलाउन नसकेर । अख्तियारकै मामिला भएका कारण अहिल्यै केही समस्या नपर्ला, तर ती कर्मचारीले जागिर त लोकमानले अख्तियारबाट बिदा लिएपछि पनि खानुपर्छ । लोकमान गएपछि आज ‘ठोकठाक’ गरेर मिलाइएका मामिला बल्झियो भने त्यसबेला लोकमानको हैन, ती कर्मचारीको हातमा हत्कडी ठोकिन्छ ।
उता, भूकम्पपीडितका नाममा पियन र ड्राइभरको समेत तलब कट्टा गरी जम्मा पारिएको रकम अख्तियारले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ । त्यति गरेर पनि लोकमान निक्कै सक्रियतासाथ लागि परे त्रिपाल बाँड्नलाई । त्रिपाल रहेछ, सहरी विकास मन्त्रालयबाट सोझै ट्रकका ट्रक अख्तियारमा झारिएको । जबकि, अख्तियारलाई सरकारले ‘जनतालाई त्रिपाल बाँड्नु’ भनी जिम्मेवारी दिएकै छैन । अख्तियारस्रोत भन्छ, सहरी विकास मन्त्री डा.नारायण खड्काले अनुमति नदिएपछि लोकमानले सचिव अर्जुन कार्कीलाई फोनमा कडिकडाऊसँग ‘पठाउने भए पठाऊ, नत्र फेला पर्लाऊ’ भने । सहरी विकास मन्त्रालयले ती त्रिपालको खरिद बिनाटेण्डर गरेको छ । यो ३५ करोडको मामिला हो । अख्तियारका आयुक्तमध्ये सहरी विकास मन्त्रालय हर्ने जिम्मेवारी लोकमानले पहिल्यै दीप बस्न्यातलाई दिइसकेका छन् । त्यहाँबाट भनेजति त्रिपाल बाँड्नका लागि अख्तियार पठाइएपछि त्यस्ता अनियमितता मिलाउन ३५ मीनेट पनि नलाग्ने स्रोतले जनायो । जनआस्थामा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.