यसरी चलेको छ राजधानीमा जुवाको खाल र यौनधन्दा
काठमाडौँ, १० साउन ।
पछिल्लो समय काठमाडौँ, भक्तपुर र ललितपुरमा यौन व्यवसाय फस्टाएको छ । उसो त १२ वैशाखको भूकम्पपछि विस्तारै सामान्य बन्दै गएको उपत्यकामा यौनधन्दासँगै जुवाको खाल पनि सुरु भएको छ । सामान्य भट्टीदेखि सुविधासम्पन्न होटल र अपार्टमेन्टमा दलालले यौन व्यवसाय सञ्चालन गरेका हुन् ।
बालाजुको बसपार्क, पुरानो बसपार्क, जडिबुटि, पेप्सीकोला, कलंकीका समान्य भट्टी, गेष्टहाउस र केही राम्रै नाम आउने होटलमा समेत सञ्चालक आफैँले युवती राखेर यौन व्यवसाय चलाउँदै आएका छन् । ललितपुरको ग्वार्को, सातदोबाटो र भक्तपुरको सूर्यविनायक आसपासका क्षेत्रमा विगत दुई वर्षदेखि खुल्लमखुल्ला यौन व्यवसाय सञ्चालन हुँदै आएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, गोरखा, नुवाकोटलगायत पहाडी जिल्लाबाट रोजगारीको खोजीमा राजधानी भित्रिएका युवतीलाई दलालले विभिन्न प्रलोभन देखाएर वेश्यावृत्तिमा लगाउने गरेका छन् । सुरुमा रेष्टुरेन्टमा काम लगाइदिएर वेश्यावृत्ति गराउन बाध्य पार्ने गरेका छन् ।
दलालहरुले गेष्टहाउस नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् । यस्ता गेष्टहाउसमा युवतीलाई नै राखेर व्यावसायिक रुपमा धन्दा गर्ने गिरोह नै राजधानीमा सक्रिय छ । विगत पाँचवर्ष पहिले यस्ता धन्दा चलाउने एक दर्जन दलालका नाइकेले तत्कालीन परिसर प्रमुख एसपी रमेश खरेलले कानुनको दायरामा ल्याएपछि राजधानीमा यौन अखडा चलाउनेको भागदौड मच्चिएको थियो । तर यतिखेर प्रहरीले नदेखेजस्तो गरेपछि सुविधासम्पन्न अपार्टमेन्ट र होटलमा युवती सप्लाई गर्ने गिरोहसँगै राजधानीमा यौनधन्दा फेरि सुरु भएको हरेक शुक्रबार सरकारी गाडी लिएर काठमाडौँ आउने अधिकृतहरुको संख्यासँगै अरु युवा पनि राजधानी धाउन थालेकाले देखिएको छ । कतिपय दलालले अपार्टमेन्ट भाडामा लिएरै यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने भारतीय मूलका पर्यटकलाई पाँचचारे होटलमा युवती पठाउने धन्दासमेत निर्बाध चलेको छ ।
यता, प्रहरीले प्रहरीले नेपाली जुवाडेलाई क्यासिनो प्रवेशमा पूर्ण बन्देज लगाएपछि सुरक्षित स्थलको खोजी गर्दै जुवाडे रिसोर्ट र अपार्टमेन्टमा पुग्न थालेको अपराधखबरडटकमले लेखेको छ । जुवाको अखडा थाप्ने दलाललाई प्रहरीले विशेष निगरानी गरेपछि प्रिपेड जुवा हाउसको नाम दिँदै दलालहरुले रिसोर्ट र अपार्टमेन्टको कोठामा जुवा खेलाउन थालेका हुन । टोलटोलमा रहेका अखडाबारे स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि जुवा खेल्न सुविधासम्पन्न अपार्टमेन्ट र रिसोर्टको कोठा बुक हुन थालेको हो ।
क्यासिनो बन्द भएपछि प्रहरीले टोलटोलमा क्यासिनो शैलीमा सञ्चालित अखडामा छापा मार्न थालेपछि जुवाडे र दलालले गोप्यरुपमा अपार्टमेन्ट र रिसोर्टको कोठामा जुवा खेलाउन थालेका हुन । समाचार स्रोतका अनुसार रानीवारीस्थित रिसोर्ट जुवाडेको लागि सुरक्षित जुवा खेल्ने अखडा बनेको छ । राम्रै आम्दानी हुने भएपछि रिसोर्ट मालिककै संरक्षणमा जुवा खेलाउन थालिएको रिसोर्टका कर्मचारीले बताए । रानीबारीमा अमर तमाङ, अशोक श्रेष्ठ र राम तमाङले जुवा खुलाउँदै आएका छन् । एकै दिन जुवा खालमा ५० लाख रुपैयाँ माथिको हारजीत हुँदै आएपनि प्रहरीले सुईँको पाएको छैन । राम तमाङले जुवा खेलाउन गौरीधार र चप्पल कारखाना पछाडि दुई वटा घर १० वर्षदेखि भाडामा लिएर अखडा सञ्चालन गर्दै आएका हुन् ।
जुवा खेलाएकै भरमा तमाङसँग करोडौँ रुपैयाँबराबरको सम्पत्ति छ । सम्पत्तिको स्रोत खोज्ने हो भने लामाको सबै सम्पत्ति जफत हुने उनकै समकक्षी बताउँछन् । अवैध रुपमा अमेरिकामा मानवतस्करी गर्दै आएका गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको समूह पनि जुवा अखाडाका ग्राहक भएको स्रोत बताउँछ । मानवतस्कर कुवँर, लामा र बुढाथोकीले जुवा खोलाउन जुवाडे भेला पार्ने र अमर तमाङ, राम लामाले खेल्ने ठाउँको चाँजोपाँजो मिलाउँने गरेको जुवाडेहरु नै बताउँछन् ।
अपार्टमेन्ट र रिसोर्ट छाडेर केहीले घरमै पनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । यसरी जुवा अखडा सञ्चालन गर्नेमा डिल्लीबजारका प्रभुशमशेर राणा अग्रपंक्तिमा आउँछन् । राणाले डिल्लीबजार कालिकास्थानस्थित आफ्नै घरमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत दशैँदेखि तिहारसम्म एक महिनाको अवधिमा त्यहाँ एक अर्ब रुपैयाँ बराबरको हारजीत भएको जुवाडेबीच चर्चा छ । मोबाईल शैलीमा अखडा सञ्चालन हुने गरेको स्रोत बताउँछ ।
गौशाला राममन्दिरका लीला उप्रेतीले पनि ठूलै जुवा अखडा सञ्चालन गर्दै आएका छन् । उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडामा लिएका घरमा जुवा सञ्चालन गर्दै आएका हुन् । एक दिन आफ्नो घरमा अर्को दिन अर्को घरमा गर्दै उप्रेतीले २० वर्ष देखि जुवाको खाल थाप्दै आएका छन् । उता ५ वर्षदेखि सञ्चालित राणाको जुवाघरबारे नेपालका सबै प्रहरीलाई सूचना भए पनि कसैले छापा मार्ने आँट गरेका छैनन् । पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहका भाइ हरिस सिंहलेसमेत जुवा अखडा सञ्चालन गर्दै आएका छन् । सिंहले विशालनगरमा जुवा अखडा सञ्चालन गरेका हुन् । सिंहको जुवा अखडामा राजपरिवारका सदस्यदेखि मिटर राजा महेश सिंह, गुण्डाका नाइकेकोसमेत जमघट हुने गरेको स्रोतको दाबी छ ।
बानेश्वरमा रहेको नेत्रकमल छुनामुना विद्यालयअगाडि मदनबहादुर कँडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कँडेलको अखडा टपटेनमा पर्छ । जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानुन क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्ति जुवाका पारखी भएको स्रोत बताउँछ । त्यस्तै, बौद्ध चुच्चेपाटीमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् ।
राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारे पनि लामा फुत्किदै आएका छन् । जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउँदै आएका व्यक्ति हुन् । प्रहरी र सेनाका अधिकृतको घर भाडामा लिएर जुवा अखडा सञ्चालन गर्ने सिन्धुपाल्चोकका नारायण खड्का पनि जुवा अखडा थाप्नेमा टप फाइभमा पर्छन् । कमलपोखरीका किरण गौतमले पनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गतवर्ष उनको कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै उनलाई समेत पक्राउ गरिएको अपराध खबर डटकमले लेखेको छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.