हिन्दू राष्ट्र र धार्मिक स्वतन्त्रतामा जोड
संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा आज रुपन्देहीको क्षेत्र नं ४ अन्तर्गत बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले प्रदेशको सीमाङ्कन र नामाङ्कन गर्दा लुम्बिनी अञ्चलका जिल्ला टुक्र्याउन नहुने र प्रदेशको नाम पनि लुम्बिनी राखिनुपर्नेमा जोड दिए । उनीहरुले सङ्घीय प्रदेशको सङ्ख्या कम बनाउनसमेत सुझाव दिए ।
नेकपा(एमाले)का उपमहासचिव एवम् सभासद् विष्णुप्रसाद पौडेलले जनआन्दोलन २०६२÷०६३ को जनादेश विपरीत वर्तमान संविधानसभा जान नमिल्ने उल्लेख गर्दै जनआन्दोलनको भावनाअनुरुपको संविधान बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले जनस्तरबाट आएका सुझावलाई आफूले संविधानसभामा जस्ताको तस्तै लैजाने आश्वासन दिनुभयो ।
एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले संविधान वास्तवमै जनताको अधिकार स्थापित हुने गरी निर्माण गर्न सुझाव दिनुभयो । त्यस अवसरमा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरिबहादुर आचार्य, नगर सभापति खेलराज पाण्डेलगायतले आआफ्ना सुझाव राख्नुभएको थियो ।
यस्तै रुपन्देहीका विभिन्न ११ स्थानमा सुझाव सङ्कलनको व्यवस्था मिलाइएको थियो । सभासद् पौडेल, बालकृष्ण खाँण, दीपक बोहोरा, अब्दुल रज्जाक, भरतकुमार शाह, भक्ति पाण्डे, आदित्यनारायण कसौधनलगायतले जनताका सुझाव ग्रहण गर्नुभएको थियो ।
मर्चवारमा सुझाव सङ्कलन
रुपन्देही क्षेत्र नं ६ मा संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्ने काम सम्पन्न भएको छ । क्षेत्र नं ६ को मझगावं मर्चवारमा भएको कार्यक्रममा १०८ जनाले लिखित र १५० जनाले मौखिक सुझाव दिएको सभासद् सोनिया यादवले बताउनुभयो ।
मर्चवारस्थित मझगावं उच्च माविभित्र सुझाव सङ्कलन भइरहँदा विद्यालय बाहिर सभासद् सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको समूहले मस्यौदाको विरोध गरिरहेको थियो । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses