अर्थमन्त्री र चीनका वाणिज्य सचिवबीच भेट, पोखरा विमानस्थलको काम शीघ्र थालिने
काठमाडौँ, ७ साउन । अर्थमन्त्री डा रामशरण महतसँग नेपाल भ्रमणमा रहनुभएका चीनका वाणिज्य सचिव चाङ स्योङछेनले आज अर्थमन्त्रालयमा भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच आपसी हित र पारस्परिक चासोका विविध विषयका साथै पोखरामा निर्माण हुने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र प्रारम्भ गर्नेबारेमा छलफल भएको थियो ।
अर्थमन्त्रीले उक्त विमानस्थल निर्माण आयोजना कार्यान्वयनका निम्ति नेपालको तर्फबाट केही अप्ठेरा भए त्यो तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पोखरा विमानस्थल नेपालको प्राथमिकता प्राप्त आयोजना भएकाले त्यसलाई छिटो निर्माण गर्नुपर्नेमा जोड दिनुभएको तथा मुआब्जासम्बन्धी समस्या पनि प्रायः समाधान भइसकेकाले आयोजना चाँडो कार्यान्वयन होस् भने नेपालको चाहना अभिव्यक्त गर्नुभयो ।
नेपालले पुनर्निर्माण प्राधिकरण चाँडै गठन गर्ने र पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने उहाँले जानकारी पनि दिनुभयो ।
चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाको शीघ्र निर्माण तथा स्याफ्रुबेसी– रसुवागढी सडकलाई व्यापारिक मार्गको रुपमा स्तरोन्नति गर्न र अरनिको राजमार्गको पुनर्निर्माणका बारेमा पनि उहाँहरूबीच विचारविमर्श भएको अर्थमन्त्रालयले जनाएको छ ।
सचिव चाङले नेपालको पुनर्निर्माणमा जिम्मेवारी पाउनासाथ काम थालिहाल्ने जानकारी दिँदै पोखरा विमानस्थल निर्माणका लागि पनि कर्जाको ब्याजदरसँग सम्बन्धित विषय चाँडै समाधान गरी आगामी दुई महिनाभित्रैमा त्यसलाई कार्यान्वयनमा ल्याउन सकिने बताउनुभयो । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.