६३ हजार पुगेको सुनको मूल्य किन घट्यो ?
काठमाडौं, ११ साउन । बिगत केही दिनदेखि सुनको मूल्यमा भारी गिरावट आएको छ । प्रति टोला ६३ हजार एक सय ५० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रवार ४७ हजार रुपैयाँमा कारोवार भयो । सोमबार भने केही बढेर ४८ हजार पुगेको छ ।
नेपालको आन्तरिक कारणले सुनको मुल्यमा त्यति धेरै असर गर्दैन । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको मुल्य तलमाथि हुने गर्दछ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य आठ वर्ष यताकै सस्तो बनेको छ । कारण, नेपालमा पनि सुन सस्तीयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही बढेको कारण, नेपालमा पनि आइत र सोमबार सुनको मूल्य बढेको हो ।
मणिरत्न शाक्य
तेलको मुल्यले पनि सुनको भाउ घटबढमा असर गर्दछ । केही समयदेखि तेलको मुल्य निरन्तर ओरालो लागेको कारण सुन पनि सस्तीएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, ‘सुन उत्खननमा अत्याधिक तेलको आवश्यक पर्दछ । तेल र सुनको भाउ समानान्तर रुपमा जान्छ । तेल सस्तीएपछि सुनको मूल्य पनि स्वत सस्तीन्छ ।’
यसवर्ष चीनमा सुनको खपत कम हुनु पनि सुनको मुल्य घट्नुको एउटा कारण भएको अध्यक्ष शाक्य बताउँछन् । ‘विश्वमा सबैभन्दा बढी सुन खपत हुने देश चीन हो’, उनले भने, ‘सुरुमा चीनले जति सुन खरिद गर्ने भनेको थियो, पछि नीति परिवर्तन गरेर त्यति खरिद गर्न सकेन् । जसले गर्दा सुनको मूल्यमा भारी गिरावट आयो ।’ चीन सरकारले सुनमा कालोबजारी गर्नेहरुलाई छानीछानी कारवाहीको घेरामा ल्याएकाले पनि चीनमा कम सुन गएको हो ।
सुनको मूल्य घट्नुको अर्को कारण डलरको मुल्य पनि हो । डलर र सुनको मूल्य ठिक उल्टो हुन्छ । डलर बढ्दा सुन घट्छ र घट्दा सुनको मुल्य पनि बढ्छ । अहिले एक डलरको मूल्य एक सय दुई रुपैयाँ ७५ पैसा पुगेको छ । जसले गर्दा सुन घटेको हो । अमेरिकाको केन्द्रिय बैंकले डलरको मुल्य एक सय ३ सम्म पुग्न सक्ने र सुनको मूल्य ३० हजारभन्दा पनि तल झर्न सक्ने विश्लेषण गरेको छ । अमेरिककाको केन्द्रिय बैंकले निक्षेपमा ब्याज बढाउने प्रक्षेपण गरेपछि मानिसहरुमा सुनप्रतिको आकर्षण घट्दै गएको अध्यक्ष शाक्यले बताए । यो पनि सुनको मुल्य घट्नुको एउटा कारण भएको उनको तर्क छ ।
सुनको मूल्यमा भारी गिरावट आउनुमा केही आन्तरिक कारण पनि रहेका छन् । सरकारले यसै बजेटबाट सुनको भन्सारदर घटाएको छ । घटेको भन्सार साउन १ गतेबाट लागु भएको छ । त्यसयता सुनको मुल्य निरन्तर ओरालो लागेको छ ।
मूल्य घटेपनि व्यवसायीलाई नै सुन अभाव
भूकम्पपछि घटेको सुनको व्यापारमा मुल्य घटेसँगै उत्साहजनक रुपमा बढेको छ । पसलमा ग्राहकको बस्ने ठाउँ समेत नभएको अध्यक्ष शाक्यले बताए ।
अहिले दिनमा तीस किलोभन्दा बढी सुन खपट भएको शाक्य बताउँछन् । ‘पसलमा ग्राहकले सुन खोसाखोस गरेका छन्’, उनले भने, ‘तर, बैंकले सुन नबेच्दा व्यवसायीहरुले ठूलो गहनाको अडर लिन सकिरहेका छैनन् ।’
अब कहाँ पुग्ला सुनको मुल्य ?
नेपालमा कायम हुने मूल्यमा अन्तर्राष्ट्रिय बजारले निर्देशन हुँदा अहिले यसै भन्न सकिदैन । तर, सुनचाँदी व्यवसायी महासंघका अध्यक्षले केही हप्ता सुनमा त्यति ठूलो घटबढ नहुने बताए ।
उनले भने, ‘अगामी हप्ता सुनको मुल्य हजारौँले पनि बढ्दैन, घटेर ४५ हजारमा पनि पुग्दैन । एक दुई सय तलमाथि हुने हो ।’
सुनको भाउँ दुई थरी
सोमबार सुनको मुल्य दुई दरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति टोला ४८ हजारमा कारोबार गरिरहेको छ भने, बैंकले भने पाँच सय रुपैयाँ बढी लिएको छ ।
ठूला बैंकले राष्ट्र बैंकको निर्देशनलाई नमानेर दादागिरी गरेको अध्यक्ष शाक्यले बताए । जसको कारण व्यवसायीलाई बैंकबाट सुन खरिदमा समस्या परेको समेत उनले बताए । बैंकले गर्दा सुनको कालोबजारी मौलाउँदै गएको शाक्यको आरोप छ ।
– विश्वास खड्काथोकी
dainiknepal.
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses