जान्नुहोस् कुन रत्न कुन राशीका लागि फलदायी
एजेन्सी। पृथ्वीको सतहमा पाइने मूल्यवान, कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो। जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग गरिन्छ। ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र चन्द्र क्यालेन्डर (लुनार क्यालेन्डर) को आधारमा प्रयो ग गरिएका हुन्छन्। ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ।

कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले सरल जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ। यहाँ केही फरक–फरक प्रकारका रत्न का बारेमा सामान्य प्रकाश पार्न खोजिएको छ, जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पर्ने गर्छन्।



१. मणिकः मणिक एक मूल्यवान पत्थर हो। जुन मेष लग्नका मानिसका लागि सकारात्मक मानिन्छ। यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ। यो सिंह लग्न भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ। यसले सिंह लग्न भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउँछ। यसले धनु लग्नका मानिसका लागि धनलाभ गराउँछ। पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अति उत्तम मानिन्छ। सामान्यतया सिंह राशि र आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ।

२. मोतीः कर्कट लग्न भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छ, जसले दीर्घायु तथा समृद्धि ल्याउनेछ। त्यसैगरी यसले वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न सहयोग पुर्‍याउछ भने मकर लग्न भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ। यस्तै, मीन लग्न भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ। पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ। सामान्यतया कर्कट राशि र सोमबार जन्म भएकाहरूका लागि पनि मोती धारण फलदायी हुन्छ।

३. मुगाः मेष र वृश्चिक लग्न भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ। सिंह र कर्कट लग्नका लागि पनि मुगा लाभदायक मानिन्छ। पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ। सामान्यतया मेष र वृश्चिक राशि र मङ्गलबार जन्म भएकाहरूका लागि पनि मुगा धारण फलदायी हुन्छ।

४. पन्नाः पन्ना एउटा त्यस्तो रत्न हो, जसको धारणले वृष लग्नका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ। यो धनु लग्नका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह लग्नका लागि भने राम्रो मानिन्छ। त्यसैगरी धनु र मेष लग्नका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ। सामान्यतया मिथुन र कन्या राशि एवं बुधबार जन्म भएकाहरूका लागि पनि पन्ना धारण फलदायी मानिन्छ।

५. पुष्पराजः पुष्पराज धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर हो। यसले यी दुवै लग्नका मानिसको दीर्घायुमा मद्दत पर्‍याउछ। त्यसैगरी प्रेम प्राप्तिका लागि यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण मानिन्छ। पश्चिमा ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ। सामान्यतया धनु र मीन राशि एवं बिहीबार जन्म भएकाहरूका लागि पनि पुष्पराज धारण फलदायी मानिन्छ।

६. हीराः वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि हीरालाई प्रमुख पत्थरको रूपमा लिइन्छ। यो रत्नको प्रयोगले पारिवारिक सुख बढाउनुका साथै सन्तान प्राप्ति हुने विश्वास छ। हीरा कन्या र कुम्भ लग्नका लागि धेरै मूल्यवान् मानिन्छ। यसले मकर लग्न भएकाहरूका लागि बौद्धिक शक्ति तथा सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ। सामान्यतया वृष एवं तुला राशि र शुक्रबार जन्म भएकाहरूका लागि पनि हीरा धारण फलदायी मानिन्छ।

७. नीलमः मकर र कुम्भ लग्न भएका मानिसका लागि नीलम बढी उपयुक्त पत्थर हो। यसले लामो आयु प्रदान गर्ने विश्वास गरिन्छ। यसको धारणले वृष र तुला लग्नका मानिसको भाग्यवृद्धि हुन्छ। सामान्यतया मकर एवं कुम्भ राशि र शनिबार जन्म भएकाहरूका लागि पनि नीलम धारण फलदायी मानिन्छ।

८. गोमेदः यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतिजा पैदा गर्ने क्षमता राख्छ। यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ता अनुसार तत्काल पर्ने हुन्छ।खास गरी सर्पयोग, नागदोष, राहुको महादशा, राशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्दछ।

९. वैदूर्यमणिः अन्य पत्थरको तुलनामा यो एकदमै भिन्न प्रकारको पत्थर हो। यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु ज्यादा फलदायी हुन्छ।



भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.