गोरखामा बन्दकारी लखेटिए
गोरखाबजार, ३ असोज ।
संविधानसभाबाट जनताको प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्ने दिन संविधानको स्वागत गर्नुको सट्टा बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरेका छन् । बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा माओवादी, नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमका नेता कार्यकर्तालाई यातायात सञ्चालन गर्न पाउनुपर्ने, पसलहरु खोलेर व्यापार, व्यवसाय, काम गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको प्रतिकार गरेका हुन् । साथै प्रतिकार टोलीले जारी हुन लागेको संविधान प्रगतिशील र जनचाहनाअनुसार आएको बताएका छन् ।
स्थानीयवासीले चलाएको मोटरसाइकलको साँचो माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएपछि स्थानीयवासीले बन्दको प्रतिकार सुरु गरेका हुन् । नेकपा माओवादीका जिल्ला इञ्चार्ज परशुराम रम्तेल र प्रतिकार समूहबीच पटक–पटक भनाभन भएको थियो । प्रतिकार समूहले बन्द गर्नुको औचित्यबारे माओवादीसँग प्रतिक्रिया मागेका थिए । ‘अब कसैले बन्द गर्न पाउँदैन । बन्दविरुद्ध आजदेखि गोरखाबाट अभियान सुरु भयो’ प्रतिकार समूहका एक सदस्यले भने । करिब २० जना बन्दकर्ता झन्डा बोकेर सडकमा छन् । साथै ५० भन्दा बढी स्थानीय बन्दको प्रतिकारमा अस्पतालमार्गस्थित सडकमा छन् ।
सधैँ बन्द हुँदा व्यापार, व्यवसाय गर्न नपाएको भन्दै व्यापारीहरुले प्रतिकार गरेका हुन् । साथै यातायात मजदुर पनि बन्दको प्रतिकारमा थिए । प्रहरीले बन्दकर्ता र प्रतिकार समूहलाई अलग्याएपछि अहिले परिस्थिति शान्त भएको छ । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएको भन्दै उनले दलित, मुस्लिम, मधेसी, थारुलगायत पिछडिएका समुदायलाई अधिकार नदिएको संविधान जारी हुनुको अर्थ नभएको बताए ।
आइतबार साँझ हरमटारी चोकमा काँग्रेस, एमाले, एमाओवादीले संविधानको स्वागत गर्दै दीपावली कार्यक्रम आयोजना गरेका छन् । २०७२ वटा दीप प्रज्ज्वलन गरी दीपावली कार्यक्रम भव्य गर्ने तयारी रहेको छ । साथै अन्तरपाटी महिला सञ्जालले सद्भावना ¥याली निकाल्ने तयारी गरेको सञ्जालकी रविकला खनालले जानकारी दिइन् । गोरखाको गाउँ–गाउँका साथै सरकारी, गैरसरकारी कार्यालयमा बेलुकी दीपावली कार्यक्रमको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले संविधान आएको खुसियालीमा सबै कार्यालयमा दीपावली गर्न निर्देशन दिएको बताए ।

भिडियोको लागि तल क्लिक गर्नुहोस्


0 comments

Write Down Your Responses

Powered by Blogger.