उपेन्द्र यादवले भने–अब उत्तरी नाका पनि बन्द हुन्छ
काठमाडौं । भारतसँग जोडिएका दक्षिणका नाका बन्द गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चीन तर्फका नाका पनि बन्द गर्ने घोषणा गरेको छ ।
भारततर्फको नाकाबन्दीले आपूर्ति व्यवस्था अस्तव्यस्त भएकाले उत्तरतर्फको नाका खोल्नुपर्ने आवाज उठिरहेकाबेला मोर्चाले चीनसँग जोडिएका नाका पनि बन्द गर्ने घोषणा गरेको हो ।
‘अहिलेसम्म दक्षिणका बोर्डर र सरकारी कार्यालय बन्द छन् अब उत्तरी बोर्डर पनि नाकाबन्द हुन्छ । सरकारी कार्यालय पनि बन्द हुन्छन्,’ मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भने ।
उनले सरकारलाई आर्थिक र राजनीतिक रुपमा असहयोग गर्ने आन्दोलन जारी रहने बताए ।
मोर्चाले एक सातादेखि भारतसँग सीमा जोडिएका भन्सार नाकामा धर्ना बसेर आवात जावत ठप्प पारेको छ । मोर्चाले आन्दोलन सुरु गरेकै दिनदेखि भारतले पनि अघोषित रुपमा नाकाबन्दी गरेपछि आपूर्ति व्यवस्था अस्तव्यस्त भएको छ । त्यसको प्रभाव काठमाडौं उपत्यकासहित देशभर परेपछि सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ ।
सरकारसँग तत्काल वार्तामा नबस्ने
प्रमुख तीन दलले मधेसी मोर्चासँग वार्ता गर्न सोमबार तीन सदस्यीय समिति गठन गरे पनि यादवले भने तत्काल वार्तामा नबस्ने बताए । उनले भने, ‘वार्ता समिति गठन हुनु ठूलो कुरा होइन, मुख्य कुरा संविधान संशोधन कसरी गर्ने, पुनर्लेखन गर्ने की परिवर्तन गर्ने भन्ने हो ।’
कांग्रेस एमाले र एमाओवादीको सोमबार विहान बसेको बैठकले मोर्चासँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् ।
समितिले सोमबारै असन्तुष्ट मधेस केन्द्रित दलसँग वार्ता समेत सुरु गरिसकेको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् ।
तर, बीबीसी नेपाली सेवासँगको कुराकानीमा अध्यक्ष यादवले मोर्चालाई सहमतिमा ल्याउन भनेर गठन गरिएको वार्ता समितिको अर्थ नभएको बताए ।
यादवले विगतमा सरकारसँग भएका ८ बुँदे र २२ बुँदे सहमति कार्यान्वयन गरेमा, तराई–मधेसमा आन्दोलन चर्किएपछि परिचालित सशस्त्र प्रहरी फिर्ता गरेमा वार्ताको वातावरण बन्ने बताए ।
भिडियो हेर्न तल क्लिक गर्नु होस


1 comments

कतै मधेशी नेताले मधेशी जनतालाई ढाल बनाएर निजि स्वार्थका लागि देशमा अनाबश्यक अस्त व्यस्तता निर्माण गर्दै छन?

Write Down Your Responses

Powered by Blogger.