संविधान जलाउन उपेन्द्र र मातृका यादव एक ठाउँ
राजविराज, ४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र र नेकपा (माओवादी) का अध्यक्ष मातृका प्रसाद यादवले आज राजविराजमा नेपालको संविधान २०७२ जलाएका छन् ।
सोमबार राजविराजमा मधेशी मोर्चा सप्तरीको आयोजनामा आयोजित बिरोध सभाका क्रममा उहाँहरु दुबैले झण्डै ५० हजार मानवसागर अगाडी नेपालको संविधान २०७२ जलाएका हुन् ।
बिरोध सभालाई सम्बोधन गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान जलाउनु कुनै नौलो कुरा नभएको भन्दै यसअघि पनि २०६२÷६३ मा आफूले अन्तरिम संविधान जलाएको स्मरण गराउनु भयो ।
उहाँले अहिले तराई मधेशमा मात्र नभएर हिमाल पहाड समेतमा आदिवासी, जनजाती, पछाडि पारिएका, थारु, महिला, मुश्लिमहरुले आफ्नो हक अधिकार संविधानमा सुनिश्चित नभएको भन्दै संविधान जलाइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष यादवले पाँच नेताहरुले बनाएको संविधानमा मधेशीहरुको हकअधिकारलाई लत्याएको जिकिर गर्दै उनीहरुले आफ्नो स्वार्थ र हितका लागि मात्र हुकुमवादी संविधान बनाएको आरोप लगाउनुभयो ।
यस्तै नेकपा (माओवादी) का अध्यक्ष मातृका यादवले मधेश र मधेशीका अधिकारका लागि सम्पूर्ण आन्दोलनरत दलहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले मधेश आफैं राष्ट्र रहेको र नेपाल बहुराष्ट्र रहेको जिकिर गर्दै अबको आन्दोलनबाट मधेशको हकअधिकार सुनिश्चित नभए अखण्ड मधेशको आन्दोलन सुरु गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले आन्दोलनकै क्रममा महोत्तरी जिल्लामा प्रहरी प्रशासनको डर त्रासका कारण स्थानियहरु छिमेकी मुलुक भारतमा शरण लिन पुगेको बताउँदै उनीहरुको शान्ति सुरक्षाका लागि अन्तराष्ट्रिय मानवअधिकारवादीसँग पहल गर्न अनुरोध समेत गर्नुभयो ।
त्यसैगरि सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले अब मधेशी जनताहरुले मधेश स्वायत्त प्रदेश नलिएसम्म अधिकारको यो आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
उहाँले मधेशी जनतामाथिको दमन बन्द नभएसम्म तथा मधेश स्वायत्त प्रदेश नदिएसम्म आन्दोलन नरोकिने उद्घोष गर्दै उपाध्यक्ष यादवले मधेशी जनताको मुक्तीको लडाई अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
मधेशी मोर्चा सप्तरीका संयोजक अध्यक्ष दिनेश यादवको अध्यक्षतामा आयोजित सो सभामा सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, तराई मधेश राष्ट्रिय अभियानका प्रवक्ता बलराम यादव, सुरेन्द्र साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, नेकपा माओवादीका जिल्ला सेकेट्ररी भुलाई राम, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव लगायतका बक्ताहरुले अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
यसैबिच मधेशी मोर्चाले सोमबार राजविराजमा आयोजित मधेश बिरोधी संविधान जलाउँने कार्यक्रममा जिल्लाको विभिन्न गाविसबाट हजारौको सहभागिता रहेको थियो ।
संविधान जलाउने कार्यक्रममा सोमबार सप्तरी सदरमुकाम राजविराजमा जिल्लाको विभिन्न गाविसबाट हजारौ सर्वसाधारणहरु बस, टयाक्टर, मोटरसाईकल, साईकल, पैदल यात्रा सहित प्रधानमन्त्री शुशिल कोईराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला सहित विशाल जुलुस प्रदर्शन गरेको थियो ।
सरकारद्वारा घोषणा गरीएको मधेशी बिरोधी संविधान जलाउने कार्यक्रममा सहभागि हुन सोमबार जिल्लाको नर्घो, झुटकी, राजविराज नगरपालिका १० डुमरी शिवथान, झुटकी, कदमाहा, कंचनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमानगर, पत्थरगाडा, बरही बिरपुर, ईटहरी विष्णुपुरको गोरगामा रंजितपुर, बनरझुला, इनर्वा, योगिनिया, रम्पुरा मल्हनिया सहित विभिन्न स्थानबाट हजारौ सर्वसाधारणहरु सहभागि भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
खबर /पुलेसो
भिडियोको लागि तल क्लिक गर्नुहोस् :




0 comments
Write Down Your Responses