राजेन्द्र महतोको घर आज पनि घेराउ, भौतिक कारवाही गर्ने चेतावनी
काठमाडौं । तराईमा उत्तेजक भाषण गर्दै हिड्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको घरमा आज पन घेराउको प्रयास भएको छ । संविधान निर्माण प्रक्रिया र संविधानका प्रावधानमा असहमति राख्दै मधेसी मोर्चामा आवद्ध रहँदै आन्दोलन गर्दै आएका महतोको काठमाडौंको सिनामंगलमा रहेको घर अगाडि बिहीबार केही युवाले प्रदर्शन गरेका थिए । त्यस्तै प्रदर्शन आज पनि भएको छ ।

तराईमा सद्भाव विथोल्ने गरी भाषणबाजी गरेको आरोप महतोमाथि लाग्ने गरेको छ । महतोको घर अगाडि देशभक्त युवा संजाल नामक संस्थाको पर्चा पनि छरिएको भेटिएको छ । त्यहाँ भेटिएको पर्चामा भारतको नाकाबन्दीका अगाडि झुक्न नहुने भन्दै सुशील कोइराला, प्रचण्ड, केपी ओलीलाई खबरदारी गदै महतोलाई भौतिक कारवाहीको चेतावनी पनि दिइएको छ ।

‘नुन तेलको बाहनामा लाइनमा बसी सरकारलाई दबाब नदेउ, हामी आधापेट खाएर बस्न सक्छौ, भारतसँग नझुक, भारतीय दलाल राजेन्द्र महतो, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, महन्थ ठाकुरलाई जनकारवाही गरौं, राजेन्द्र महतो काठमाडौमा जहाँ भेटिए त्यही भौतिक कारवाही गर्नेछौ । सरकार यथाशिघ्र तेल र ग्यास तेस्रो मुलुकबाट ल्याउने तयारी गर लिटको १० रुपैयाँ बढी तिर्न हामी तयार छौं ।’ भन्नेसहितका सरकारका मन्त्रीहरुलाई पनि खबरदारी गरिएको छ । ती युवाहरु नेताविरुद्ध जारा जुलुस गर्दै गर्दा केही प्रहरीहरु पनि त्यहाँ उपस्थित थिए ।

पछिल्लो समय भारत गई उतैको होटलमा बसेर नेपालमा अराजक आन्दोलन गर्न भूमिका खेलेको भन्दै उनको आलोचना भइरहेको छ । भारतीय नेता र स्थानीयसंग खिचाएको उनको फोटो सामाजिक संजाल र अनलाइनमा आइरहेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.