२० बर्षमै एड्स लागेका युवकको बिलौना
जीवन भ्रमैभ्रम बीचको नमीठो अर्को भ्रम हो । जीवनमा कहिलेँकाँही यस्ता भ्रमहरुले पिछा गर्छन् जुन भ्रमहरु भ्रमभित्रका सूक्ष्म भ्रमहरु लाग्छन् । यहाँ कानले सुन्नेकुरा भ्रम हुनसक्छ । यहाँ आँखाले देख्ने परिदृश्य भ्रम बन्नसक्छ । मष्तिष्क भ्रममा भ्रमित हुनसक्छ । सत्य तर आश्वस्त हुन नसकिने घटना, पात्र, इत्यादी भ्रमका खेस्राहरु हुनसक्छन् ।
∞∞∞
‘हाइ सर । आइ निड योर हेल्प’ अष्ट्रेलियाबाट आस्था भाउजुको मेसेज आयो फेसबुकमा । भाउजुले किन मलाई ‘सर’ भन्नुभो यो कुनै सरोकारको विषय अथवा गहन कुरा भएन ।
मैले ब्यस्तताका कारण जवाफ फर्काउन सकिन । एकछिनपछि कल नै गर्नुभो भाउजुले । त्यतिबेला बल्ल मेरा अाँखा मेसेज र कलमा एकैपटक पुगे । समयमै रिप्लाई गर्न नसकेकामा थकथकी भने लागिरह्यो ।
‘भाउजु नमस्ते एण्ड सरी ।’ फोन रिसिभ गर्दै एकैपटक बोलेँ । ‘हेलो’ भन्ने जरुरत पनि नपर्दो रहेछ फोनमा त ।
‘बाबु, मलाई एचआइभी संक्रमितलाई सहयोग गर्नका लागि मेसेज आएको थियो । म नम्बर दिन्छु । डिटेल्ली बुझेर मलाई खबर गस्र्यो न ल ।’
‘श्योर.श्योर । ह्वाइ नट भाउजु । आइ विल ।’ मैले भाउजुलाई बताएँ ।
भाउजुले नम्बर इनबक्स गर्दिनुभयो । मैले सम्बन्धि मान्छेलाई फोन गरेर यथास्थिति बुझ्ने प्रयास गरेँ ।
∞∞
‘हेलो । को बोल्नुभा ?’
‘हजुर, बिनोद गिरी ।’
‘घर काँ ?’
‘मेरो घरसर क्यै छैन हजुर ।’
‘बस्ने बास त होला नि कहीँ न कहीँ ?’
‘पैयुँपाटा–१ बाग्लुङ्गमा एउटा छाप्रो ‘थियो’ टिनको ।’
‘उसोभा..ठुलाखेत होत ?’
‘होइन । स्कुल नजिकै हो ।’ मैले यती भनिरहँदा बिनोदले एकआखर ‘तपैँ को ?’ भनेर पनि सोध्न सकेनन् । मैले जे सोध्थेँ उनी त्यही बताउँदै जान्थे ।
‘ओके छोड्दिउँ यी कुरा । तपैँ काँ हुनुन्च अहिले ?’
‘भरतपुर ।’
‘भरतपुर काँ ?’
‘चौबिसकोठी ।’
‘ओके । के गर्नुन्छ त्याँ तपैँ ?’ मेरो प्रश्न थियो उनलाई ।
‘एउटा छहारी नामको सँस्थामा छु ।’
‘के तपैँ बिरामी हुनुन्च र ? यस्तै सुन्चु त म ।’
‘हजुर हो ।’
‘के’भा नि ?’
‘घाँटीको टिवी । खुट्टाले टेक्दैन ।’
‘ए..ए ..उमेर कति भयो र यस्ता रोग देखिने ?’
‘२० वर्ष ।’
‘..मात्तै घाँटीको टिवी ? अनि खुट्टा प्यारालाइसिस भको हो र ?’
‘होइन । कमजोर छन् खुट्टा । तपाँइ को बोल्नुभएको र ?’ यतिसम्म कुराकानी हुँदा बल्ल उनले मेरो नाम सोधे । जवाफमा ‘मीनराज’ मैले भने । तरपनि मलाई उनले चिनेनन् । मलाई यो पनि थाहा थियो कि उनी पूर्णरुपमा एच्आइभी संक्रमित हुन् । तर भन्न लजाइरहेका छन् । केहीछिनको लागि म फ्लासब्याकमा पुगेँ । र उनको तीतो यथार्थभित्रको मीठो जीवनको पल सम्झिएँ ।
उनका बुबालाई हामीहरु प्राय ‘पहरेका भेना’ भनेर सम्बोधन गथ्र्यौँ । गाउँमा उनको जेरी पुरी तरकारी बेच्ने होटल थियो । असाध्यै चल्थ्यो । स्कुल पढ्दाताका कैयौँ युवा–युवती आएर खाजा खान्थे । प्रेम ज्यादा अभिब्यक्त गर्थे । अहिलेपनि त्यहीँबाट प्रेम फक्रिएर बैवाहिक जीवनमा बाँधिएका केही जोडीहरु जापान लगायतका देशहरुमा स्थापित भैसकेका छन् ।
भेनाको परिवार एकहिसाबले सुखी नै थियो । श्रीमान् श्रीमती दुइ छोरा र एक बहिनी गरि जम्मा पाँचजना सदस्य थिए । दिदीले होटल सम्हाल्थिन् । भेना गाउँमा कामपर्दा गइलाग्थे । जोत्ने, मकै गोड्ने, रोप्ने लगायत जस्तासुकै काममा पनि आँफूलाई बरोबर उभ्याइरहन्थे । काममा कुनै खोट हुँदैन्थ्यो । र त गाउँकाले भन्थे—‘काम पनि राम्रो गर्छ उसले ।’ हामी उनैसँग हिनिलाउँथ्यौँ ।
समय बित्दै जाँदा जिम्मेवारीहरु झाँङ्गिदै गए । यता छोराहरुको पढाइ राम्रै थियो । होटल चलेकै थियो । होटलसँगसँगै तरकारी पसल पनि थियो, उत्तिकै चल्थ्यो । तर एकदिन खै के सोचे भेनाले, परिणाम आत्महत्यामा आएर टुङ्गियो ।
अब घर घरजस्तो लागेन । घरको मूल खाँबो भाँचिएपछि बाँकी स्वतः कमजोर बन्नु स्वभाविक थियो । त्यससको केही समयपछि उनीहरु त्यहाँबाट नजिकै बसाई सरे । होटल नगरेर तरकारीको घुम्ती पसल चलाए । म उँधो उँभो गर्दा सोध्थेँ— ‘दिदी सञ्चै ? जवाफमा दिदी भन्थिन् ‘ठिकै छ भाइ अैलेसम्म’ । तर बर्षौँपछि आज उनै दिदीको कान्छो छोरा बिनोद एचआइभी संक्रमित हुन् भन्दा खंग्रग परेँ म । भ्रम होकी जस्तो लाग्यो । तर भ्रमजस्तै लाग्ने एउटा सत्य घटना थियो यो ।
∞∞
‘भनेसी तपैँ एच्आइभी संक्रमित त होइन नि ?’ हो भन्ने थाहा हुँदाहुँदै पनि उनीबाट थप कुरा बुझ्ने उद्देश्यले प्रश्न गरेँ ।
‘के ढाँटाइ भो र हजुरसँग । हो, घाँटीको टिबी सँगसँगै एच्आइभी पनि छ मलाई ।’ एउटा एच्आइभी संक्रमित भएर पनि सामान्य तरिकाले उनी बोलेको सुन्दा होइनकि झैँ लाग्थ्यो घरिघरि ।
‘मेरो आर्थिक अवस्था एकदमै नाजुक छ । हात फैलाएर जीवनको भीख मागिरहेको छु सबैसँग । साठी सत्तरी हजारजति खर्च भइसक्यो । अरु कुनै उपाय छैन’ उनले भने अझै कति लाग्ने हो । बस्न त छहारी संस्थामा छु । आधा खर्च उसको लाग्छ, आधा मेरो हुन्छ ।’ उनले भावुक हुँदै फोनमा मलाई सुनाए । मेरा समेत आँखा रसाइसकेका थिए ।
‘कसरी सर्यो एच्आइभी थाहा छ ?’
‘छ ।’
‘नेपाल हुँदा होटलतिर काम गर्थेँ । पछि मुम्बइतिर लागेँ । अनि…..’ यति भनिसक्दा मलाई अनुमान लगाउन गाह्रो परेन उनको वास्तविकता ।
‘भनेपछि…इण्डिया बसाइको क्रममा संक्रमित बन्नुभो हैन त तपैँ ?’ मेरो अन्तिम प्रश्न थियो उनलाई ।
‘अँ..त्यो पनि हो । तर नेपालमै लागेको हो । इण्डिया गएपछि थपियो ।’ उनले ढुक्कसँग जवाफ फर्काए ।
एउटा बीस वर्षको युवक केटो । उसको निर्दोष चेहरा । यतिबेला उसका हातमा कलम किताब हुनुपर्ने हो । उसको शरीरमा जीवनका तरङ्गहरु लहराइराख्नुपर्ने हो । उसका आँखामा घरदेखी देशसम्मका लागि सपना साँचिएको हुनुपर्ने हो । तर बिचरा मान्छेभन्दा ठूलो रोगले बिस्तारै उसलाई गलाउँदैछ, सुकाउँदैछ । तर त्यसो नहोस् बिनोदको जीवन । अरुमान्छे जस्तै पूर्ण जीवन जिउन सकुन् उनी, हाम्रो शुभेच्छा उनलाई ।
यतिबेला पिडित बिनोद उपचारका क्रममा चितवनको एक ‘छहारी’ नामक संस्थामा उपचाररत छन् । उनलाई आमाले साथ दिइराखेकी छन् । घरको अवस्था अत्यन्त दयनीय भएको कुरा लुकाएर लुक्न सक्दैन । ६०/७० हजार खर्च भइसकेको र अझै थुप्रै खर्च लाग्ने बताउने बिनोद हात फैलाएर सबैसँग सहयोग मागिराखेका छन् । एच्आइभी सँगसँगै घाँटीको टिवी र खुट्टाले नटेक्ने अन्य रोगसँग पनि लड्दै छन् उनी । यतिबेला उनलाई हामीजस्तै मनकारी मान्छेको सानो सहयोग अपरिहार्य छ । यहाँ सवाल जीवनको छ जिन्दगीको होइन । स्वच्छ जीवन भएका हामीहरु अनेक श्रम गरेर खान सक्छौँ, जिन्दगी गुर्जान सक्छौँ । तर हाम्रो सानो सहयोगले कसैको जीवन सकुशल रहन्छ भने किन हामी कन्जुस्याँइ गरिरहने ।
धन्यवाद आस्था भाउजु उनलाई सहयोग गर्ने सोच बनाउनुभएकोमा । र मलाई आफ्नै समाजको कथा लेख्न घच्घच्याइरहनु भएकोमा ।
dainiknepal




0 comments
Write Down Your Responses