मुसलमान उपराष्ट्रपतिको उम्मेदवार, प्रस्तावक हिन्दू, समर्थक क्रिस्चीयन
काठमाडौँ, कात्तिक १३ । स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

व्यवस्थापिका–संसद् सचिवालय, नयाँ बानेश्वर पुगेर उनले आज विहान ११ः१५ मा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा सांसद निर्वाचित भएका  मुसलमान विगतमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील थिए । मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थकमा जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल रहनु भएको छ ।  अखण्ड पार्टी हिन्दू धर्म र जनजागरण पार्टी क्रिस्चीयन धर्मको सिद्धान्तबाट प्रभावित पार्टी हुन् ।

उम्मेदवारी दर्ता गराएपछि उम्मेदवार मुसलमानले आफू विजयी भए राष्ट्रिय स्वाभिमानलाई सगरमाथा जस्तै अटल तुल्याउने प्रतिवद्धता व्यक्त गरे ।
   
राष्ट्र र राष्ट्रियता खतरामा परेको समयमा तराई—मधेसको एउटा प्रदेशमा पछाडि परेको जाती तथा समुदायबाट राज्यको महत्वपूर्ण निकायमा प्रतिनिधित्व हुने र तराईमा जारी आन्दोलनको पनि समाधान खोज्न सकिने विश्वास व्यक्त गरे ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले राष्ट्रपति र प्रधानमन्त्री पाएको, एकीकृत नेकपा (माओवादी) ले सभामुख समेत पाएको अवस्थामा आफू उपराष्ट्रपति पदमा विजयी भए संविधान कार्यान्वयन गर्न सहज हुने धारणा राखे ।

सङ्घीय गणतन्त्र नेपालको शिशु संविधानको सहज कार्यान्वयन गर्न तथा  राष्ट्र र राष्ट्रियताको रक्षाका लागि समेत सबै वर्ग तथा समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउनुपर्ने  उम्मेदवार मुसलमानको कथन थियो ।
   
तपाई विजयी हुनुहुन्छ त ? भन्ने राससको उनले निर्वाचनमा विजय र पराजय भन्ने कुरा सामान्य भएकाले राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण  राख्न आफू प्रतिवद्ध रहेको तथा ठूला दलले उपयुक्त विकल्प दिए आफू वाधक समेत नहुने बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.