नेपालीको नजरमा चीन
राजनकुमार जमकट्टेल सभापति, नेपाली जनसम्पर्क समिति चीन
एनआरएन चीनका निवर्तमान उपाध्यक्ष राजनकुमार जमकट्टेल करिब डेढ दशकदेखि चीनमा छन् । यी ४१ वर्षे दक्षिणी औद्योगिक सहर ग्वान्जाउमा बसेर व्यापार–व्यवसाय गर्छन् । नेपालमा संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण आमनेपाली आशामुखी नजरले चीनतिर फर्केका छन् । चीनतर्फका नाका खोल्न सामाजिक सञ्जालमा व्यापक दबाब पनि छ । यस्तो वेला, चीनबारे कुतूहल पनि पक्कै बढेको छ । यो समय चीनबारे बुझ्न नेपाली जनसम्पर्क समिति चीनका सभापति तथा एनआरएन चीनका निवर्तमान वरिष्ठ उपाध्यक्ष जमकट्टेलको अनुभव सहायक हुन सक्छ । प्रस्तुत छ, जमकट्टेलले सुनाएको चीनबारे उनको बुझाइ :
यस्ता छन् चिनियाँ जनता
चिनियाँहरूले नेपाल र नेपालीलाई असाध्यै मन पराउँछन् । व्यापारकै सिलसिलामा असंख्य भारतीयहरू पनि छन् चीनमा, तर चिनियाँहरूले भारतीयहरूलाई अलिक नराम्रो दृष्टिले हेर्छन्, तिनीहरू जतिसुकै धनी होऊन् । तर, नेपालीलाई चाहिँ गरिब नै भए पनि राम्रो दृष्टिले हेर्छन् । प्रहरीहरूले पनि नेपाली भनेपछि नरमै व्यवहार गर्छन् । एकचोटि म भिसा लगाउन अध्यागमनमा पुगेको थिएँ, फुजियाङमा । मभन्दा अगाडिको भारतीयको पासपोर्ट भिसा नलाईकन फर्काइदियो । मैले पासपोर्ट दिएँ, कर्मचारीले ओल्टाई–पल्टाई हेर्‍यो र ‘बुद्ध जन्मेको तपाईंहरूको देश राम्रो छ’ भन्दै सजिलै भिसा लगाइदियो ।
पर्यटनको विकासले धेरै चिनियाँ नेपाल आउने गरेका छन् । पोखराबारे सबैजसो चिनियाँलाई थाहा छ, सबैले मन पराउँछन् । काठमाडौंभन्दा पोखरा, चितवन र लुम्बिनी रमाइलो छ’ भन्ने गर्छन्, उनीहरू । हामीलाई जानकारी भएसम्म, सरकारी स्तरमा पनि नेपालबारे राम्रो धारणा छ । उनीहरू ‘संसारमा हाम्रोनिकटका मित्र देश दुइटा मात्र छन्, उत्तरकोरिया र नेपाल’ भन्ने गर्छन् । यसमा पनि उत्तरकोरियालाई स्वार्थी भन्छन् । उनीहरूका दृष्टिमा नेपालचाहिँ सच्चा मित्र हो, किनभने, नेपालको उनीहरूसँग केही लिनुदिनु छैन ।
खानपिन
हामी दालभात खानेहरूलाई चीनमा पहिलो समस्या खानपिनकै पर्छ । चिनियाँ खाना अलि गन्हाउने खालका हुन्छन् । यस्तो अप्ठयारो म गएका वेला झन् धेरै थियो । सन् २००२ तिरको कुरा हो । दुईजना साथीसँग म एउटा रेस्टुराँमा गएँ । मेनु सबै चाइनिजमा भएकाले केही बुझिएन । हामीलाई चिनियाँ बोल्न पनि आउँदैनथ्यो । माछामासुका ‘आइटम’सहित केही खानेकुरा इसाराले मगायौँ । रेस्टुराँमा चाइनिज खाना एकजनालाई मात्रै मगाए खाएरै नसकिने हुन्छ, त्यति धेरै । धेरैजना खाने हुँदाचाहिँ
चाइनिज ठीक हुन्छ ।
हाम्रो अर्डर आयो । चपस्टिकले बल्ल–बल्ल च्याप्दै खाँदै थियौँ, मैले सर्पको टाउको देखेँ । मलाई सर्पदेखि असाध्यै डर लाग्ने, रेस्टुराँको परिकारमा त्यो देख्दा वाक–वाकभन्दा पनि डरै लाग्यो । सातो गएजस्तो भयो । पेट नभरिए पनि मैले थप केही खान सकिनँ त्यहाँ ।
त्यस्तै एकचोटि मलाई चिनियाँ व्यवसायीले खाना खान बोलायो । त्यतिन्जेल म चिनियाँ खानामा अलिक बानी पर्दै गएको थिएँ । खाना खाँदै थियौँ, मैले अर्को परिकार चाख्नुपर्‍यो भनेर भाँडोमा चपस्टिक डुबाएको मात्र थिएँ, चिनियाँ साथीले भन्यो, ‘तपाईं त्यो नखानुस् ।’ कारण सोध्दा उसले भन्यो, ‘त्यो कुकुरको मासु हो ।’ ओहो, मलाई पेटै हुँडलिएलाजस्तो भयो । त्यसको पाँच–छ दिनसम्म जे खान खोज्दा पनि दिगमिग लागिरह्यो ।
पहिले–पहिले रेस्टुराँतिर बिफमा झुक्किने सम्भावना पनि त्यत्तिकै हुन्थ्यो । अचेल नेपाली र भारतीयहरूलाई चिन्दै गएकाले पनि होला, रेस्टुराँमा प्राय: वेटरहरूले नै यो खान हुने, यो नहुने भनिदिन्छन् ।
नेपाली र भारतीयहरूलाई खानपिनकै समस्या परिरहेकोले ग्वान्जाउमा केही समययता निकै रेस्टुराँ खुलेका छन् । हामी नेपाली बरु बाहिर जे भेट्यो, त्यो खाने गर्छौँ, तर भारतीयहरू निकै नाकनिक गर्ने गर्छन् । उनीहरूलाई आफ्नै स्वादको भेज खानेकुरा चाहिन्छ । केही भारतीय र नेपाली मारवाडीहरू मेरै व्यापारिक क्लाइन्ट पनि थिए । तिनलाई पनि होस् भनेर मैले रेस्टुराँ खोलेको थिएँ । तर, घाटा लागेपछि मैले भारतीयलाई नै बेचिदिएँ ।
केही नेपालीले आफू बस्ने फ्ल्याटमै रेस्टुराँ चलाएका पनि छन् । हुन त, अचेल प्रहरीले त्यसमा कडाइ गर्न थालेको छ । त्यसरी काम गरेर पनि नेपालीहरूले महिनाको पाँच–छ लाख रुपैयाँ कमाउने गरेका छन् ।
अर्को कुरा, चिनियाँहरू हातले खाना खान घिन मान्छन् । कसैले त्यसरी खाएको देखे उठेरै हिँडिदिन्छन् । मलाई यो थाहा थिएन, सुरु–सुरुमा । एकचोटि त्यसैगरी खाइरहेको वेला एउटा चिनियाँ जुरुक्कै उठेर अर्को टेबलतिर गयो । त्यहाँदेखि मैले चम्चाले खान थालेँ ।
चिनियाँहरूको एउटा राम्रो बानी के छ भने, उनीहरू खानालाई जुठो मान्दैनन् । अर्काको थालमा उब्रेको खाना सफा छ भने उनीहरू खाइदिन्छन् । तर, खाँदाखाँदैको चुरोट र पानी उनीहरू कसैसँग सेयर गर्दैनन् । कतिसम्म भने, खोलेको मिनरल वाटरको बोतल पनि उनीहरू अरूलाई दिँदैनन् वा कसैबाट लिँदैनन् । त्यस्तै, चुरोट प्रत्येकलाई एक–एक खिली चाहिन्छ । ग्वान्जाउमै एकचोटि दुईजना नेपाली एउटा पसलमा गएछन् र एउटा चुरोट मागेछन् । एउटाले सल्काएर अर्कोलाई दिएपछि पसलेले अचम्म मान्दै सोधेछ, ‘दुईजनालाई एउटै चुरोट ?’ नेपालीहरूले भनेछन्, ‘ल, थाहा छैन, चुरोट बाँडेर खाएपछि आपसमा माया बढ्छ ।’
अर्को कुरा, चिनियाँहरू बिहान उठेर नित्यकर्म सक्नेबित्तिकै ब्रेकफास्ट गरिहाल्छन् (चिनियाँहरू बिहान नुहाउँदैनन्, राति सुत्नुअघि मात्रै नुहाउँछन्) । दिउँसो १२ बजेदेखि दुई बजेसम्म उनीहरूको ‘लन्च आवर’ हुन्छ । मासुका परिकार अनिवार्य हुन्छ, सुप, भात, भेजिटेबल खान्छन् । उनीहरू भात थोरै, तरकारी धेरै खान्छन् । त्यसपछि एकैचोटि पाँच–छ बजे फेरि खानासाना वा केही खान्छन् । अनि राति सुत्ने बेला ११–१२ बजेतिर फेरि हल्का खानपिन गर्छन् । सुत्ने वेला हामीले जस्तो कोची–कोची नखाएकाले पनि चिनियाँहरूको पेट नलागेको हो । उनीहरू बढीजसो तातो पानी नै खान्छन्, गर्मी ठाउँमा पनि । चीनमा खानपिन सस्तो छ । घरभाडाचाहिँ निकै महँगो छ ।
लन्च आवरमा चिनियाँहरू ‘इन्द्रेको बाउ चन्द्रे’ आए पनि त्यसको काम गरिदिँदैनन् । छ–सात वर्षअघि अस्ट्रेलियाबाट एकजना नेपाली ग्लासको छाना (हुट)को अर्डर लिएर ग्वान्जाउ आए । ५० कन्टेनरको अर्डर रहेछ, करिब २० लाख रुपैयाँको । अर्को औद्योगिक सहर सेन्जेनको फ्याक्ट्रीमा उनले सम्झौता गरिसकेका रहेछन् । म चिनियाँ भाषा बोल्न जान्ने हुनाले त्यहाँसम्म पुग्न उनले सहयोग मागे र म उनलाई लिएर ग्वान्जाउबाट गएँ । हामी सेन्जेन पुग्दा सवा बाह्रजति बजेको थियो होला, फ्याक्ट्रीको अफिस बन्द रहेछ । बल्ल–बल्ल ढोका खुल्यो, फ्याक्ट्री मालिक नै रहेछ । अस्ट्रेलियाबाट लाखौँको अर्डर दिने ग्राहक आउँदा पनि उसले भन्यो, ‘हाम्रो अहिले लन्च आवर छ । म खाना खाएर दुई बजेसम्म सुत्छु । त्यसपछि गफ गरौँला ।’ उसले हामीलाई बैठकमा लगेर बसायो, कफी पट अगाडि राखिदियो अनि हरायो । ऊ ठीक दुई बजे हामी भएका ठाउँमा आयो । पसलतिर पनि लन्च आवरमा उनीहरूले जोसुकै ग्राहक आए पनि बालै दिँदैनन् ।
लवाइ
चिनियाँहरूको पहिरनको प्रसंग चल्दा मलाई जहिल्यै एकजना अग्रज नेपाली मित्रले भनेको कुरा याद आउँछ । ६० वर्षजतिका उनले ग्वान्जाउ घुमेपछि भनेका थिए, ‘चाइनामा लोग्नेमान्छेले चाहिँ सबै छोप्ने, आइमाईले चाहिँ केही नलुकाउने गर्छन् कि क्या हो हजुर ?’ हुन पनि, चिनियाँ महिलाहरू बस्दा पनि प्राय: अन्त:वस्त्र देखिने गर्छ । चिनियाँ महिलाहरूले कम्मरभन्दा माथि प्राय: छोप्ने र मुनिचाहिँ एक बित्ताको लगाउने गर्छन् । गर्मी महिनामा झन् आँखा कसरी बचाउनुजस्तो हुन्छ ।
चिनियाँ महिलाहरूको पहिरन मौलिक किसिमको हुन्छ । नेपालका महिलासँग प्राय: मिल्दैन । उनीहरूको पुरुष पहिरनचाहिँ यतैको जस्तो हुन्छ ।
किनमेल
चिनियाँहरू खानपिनमा बढी खर्च गर्छन् । लत्ताकपडामा चाहिँ त्यस्तो ध्यान दिँदैनन् । हाम्रै स्तरको चिनियाँले एउटै कपडा दुई–तीन दिनसम्म लगाइरहेको हुन्छ ।
किनमेलका सन्दर्भमा चिनियाँहरूको सोचाइ प्राय: हामी नेपालीकै जस्तो छ । उनीहरू पनि सामान महँगो भएपछि राम्रो हुन्छ भन्ठान्छन् ।
एउटा ट्रान्सपोर्ट कम्पनीको चिनियाँ साहुले मलाई बजार लिएर गयो । ल्यापटप किन्नु रहेछ । पहिले हामी नेपाली व्यवसायीहरूकै लागि कुल्लीको काम गर्ने उसलाई हामीले नै ट्रान्सपोर्ट खोल्न उक्साएका थियौँ र पैसा पनि राम्रो कमाएको थियो । एउटा पसलमा उसले सोनीको ल्यापटप किन्ने भयो । ल्यापटपमा केके फिचर हुनुपर्छ र त्यसमा के छ भन्ने थाहा नपाएको उसलाई त्यही किन्न खोज्नुको कारण सोध्दा भन्यो, ‘दाम २० हजार आरएमबी छ, राम्रै होला ।’
ऊ ठगिएको त थिएन, तर त्यो जमानामा करिब अढाइ लाख रुपैयाँको ल्यापटप आँखा चिम्लेर किन्नुको कारण सामान जति महँगो भयो, त्यति राम्रो हुन्छ भन्ने आमधारणाले काम गरेको थियो ।
चीनका सबै सरसामान डुप्लिकेट हुन्छन् भन्ने नेपालमा आममान्यता छ, तर त्यो सम्पूर्ण सत्य होइन । नक्कली सामान पनि पाइन्छन्, तर डिपार्टमेन्टल स्टोरहरूमा तिनलाई बेच्न पाइन्न । बेचे, कडा कारबाहीमा परिहालिन्छ । ठग व्यापारीहरू गल्ली–गल्लीमा लुकेर बसेका हुन्छन् । मार्केटमा पनि हुन्छन्, त्यस्ता एक–दुईजना ।
प्राय: व्यापारीहरू मार्केटमा गएर आफ्नो अर्डरका मालसामान (प्राय: लत्ताकपडा) ठुल्ठूला बोरामा प्याक गर्न लगाउँछन् र कहिले आफैँ त कहिले त्यही पसलेलाई ट्रान्सपोर्टसम्म पुर्‍याइदिन भन्छन् । पसलेलाई पैसा पहिल्यै दिए पनि भयो, सामान ट्रान्सपोर्टमा पुगेपछि दिए पनि भयो । मेरा एकजना व्यापारी मित्रले ग्वान्जाउमा एकचोटि त्यसैगरी केही बोरामा आफ्ना सामान प्याक गराई पसलेलाई ट्रान्सपोर्टमा पुर्‍याइदिनू भनेर हिँडेछन् । उनले पसलेलाई भुक्तानी पहिल्यै दिएका रहेछन् । उनी त्यसै–त्यसै काठमाडौं फर्किए । सामान आएपछि हेर्दा आफूले प्याक गराएको होइन, अर्कै छ । चिनियाँले लगाउने लुगा नेपाल पुगेपछि के बिक्थ्यो ? उनले मलाई काठमाडौंबाट फोन गर्दै त्यो पसलमा गई कुरा राखिदिन भने । म गएँ । त्यो पसलेकै स्वास्नीसँग भेट भयो । उसले आफूलाई यसबारे केही थाहा नभएको भन्दै थपी, ‘मेरो बूढो भोलि आउँछ । तपाईं पनि भोलि नै आएर कुरा गर्नुस् न ।’ म भोलिपल्ट अरू नेपाली साथीहरू पनि लिएर गएँ । तर, पसलै उठाएर भागिसकेछन् उनीहरू ।
चिनियाँहरू इम्पोर्टेड सामानका क्रेजी हुन्छन् । हुनेखानेहरू किनमेल गर्न हङकङ, सिंगापुर, दुबईसम्म पुग्ने गर्छन् । उनीहरूको राम्रो चलन के छ भने, छुट्टीमा बच्चाहरूलाई लिएर घुम्न निस्किन्छन् । चाडपर्व, राष्ट्रिय दिवस परेका वेला सरकारले हाइवेहरूमा टोल टयाक्स फ्री गरिदिएको हुन्छ । अनि निस्किन्छन् घुमघाममा चिनियाँहरू । मैले सुनेअनुसार, हाम्रो यहाँको नेवार समुदाय र चिनियाँका चाडपर्वहरू प्राय: एकै समयमा परिरहेका हुन्छन् ।
जनताको सुरक्षा
चिनियाँ सरकारले जनताको एकदमै प्रोटेक्सन गर्ने गरेको छ । त्यसले कसै–कसैलाई फ्रड पनि बनाएको छ, तर समग्रमा जनताले आफूलाई सुरक्षित नै महसुस गर्ने गरेका छन् । एक महिनाअगाडिको मेरै एउटा केसलाई लिऔँ । एउटा फ्याक्ट्रीमा अर्डरअनुसारका सामान लिन मैले कन्टेनर पठाएँ । फ्याक्ट्रीवालाले सामान लोड गरीवरि कन्टेनरमा सिल लगाइदियो । पेमेन्ट गरेर म फर्किएँ । भोलिपल्ट उसले त्यो कन्टेनर लिन गएको मेरो ड्राइभरलाई सामान दिएनछ । फ्याक्ट्रीवालालाई फोन गरेँ, उसले भन्यो, ‘मैले यी सामानहरू अर्कै फ्याक्ट्रीमा बनाएको थिएँ, जसको पूरै पैसा मैले चुक्ता गर्न बाँकी छ । मेरो व्यवहार अहिले चौपट भएकाले पैसा दिन सकिरहेको छैन । म पैसा खोज्दै छु, भोलिसम्ममा गाडी पठाइदिन्छु । एक दिनको कन्टेनरको चार्ज म तिर्छु, चिन्ता लिनुपर्दैन ।’
म ढुक्क परेँ । तर, तीन–चार दिन भइसक्यो, कन्टेनर छोड्दैन । कन्टेनर जति दिन त्यहाँ राख्यो, त्यति दिनको डयामेज चार्ज मैले तिर्नुपर्छ । म उनीहरूलाई लिएर प्रहरीकहाँ गएँ । प्रहरीले मलाई भन्यो, ‘कानुनी हिसाबमा तपाईं नै माथि हुनुहुन्छ, तर व्यावहारिक हिसाबमा तपाईंको फ्याक्ट्रीवालाले अर्काको पैसा नदिउन्जेल दोस्रो फ्याक्ट्रीवालाले कन्टेनर छोड्दैन । हामीले तपाईंको फ्याक्ट्रीवालालाई सम्झाउने मात्रै हो, कुटपिट गर्न वा थुन्न मिल्दैन । तपाईं मुद्दा हाल्नुस्, जितिहाल्नुहुन्छ, अनि कन्टेनर लैजानुहोला ।’
अब म मुद्दाको चक्करमा कसरी
लाग्नु ? त्यो फ्याक्ट्रीवालाले धेरैको पैसा खाएको रहेछ । एउटाको १० लाख आरएमबी (एक करोड सत्तरी लाख रुपैयाँ) खाएको रहेछ, मेरो दु:ख देखेर त्यो मलाई सहयोग गर्न आयो । हामी फेरि प्रहरीकहाँ गयौँ । प्रहरीले हामीलाई आफ्नै गाडीमा त्यही फ्याक्ट्रीमा लग्यो र ‘तपाईंलाई चाहिने अरू केके सामान छन् यहाँ, हेर्नुस् र लैजानुस् ।’ मैले २२ हजार आरएमबी (पौने चार लाख रुपैयाँ)का टिभीका पार्टपुर्जा, ३०–३५ हजार आरएमबी (करिब ६ लाख रुपैयाँ)का पुराना टिभी उठाएँ । एक लाख ६७ हजार आरएमबी लिनुपर्नेमा त्यतिको भए पनि सामान लिएँ । बाँकी पैसाका लागि प्रहरीले एक महिनाको कागज गरिदियो । पैसा उठिहाल्ने भयो, के लफडा गरिरहनु भनेर म फर्किएँ । निश्चित दिनमा त्यो फ्याक्ट्रीवालालाई फोन गरेको, मरिगए लागेन । केही सीप नलागेर फ्याक्ट्रीमै गएँ, त्यहाँ त मजदुरहरूले ताल्चा पो लगाइदिइसकेका रहेछन् । फेरि प्रहरीकहाँ गएको, उसले ‘फ्याक्ट्री बन्द भइसकेकोले अब सरकारले मजदुरलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन्छ, अनि मात्र तपाईंहरूले पाउनुहुन्छ’ पो भन्यो ।
तर, यस्ता फ्रडहरू अपवादका रूपमा छन् चीनमा । हाम्रो सबैजसो व्यापार–व्यवसाय ‘अनलाइन थ्रु’ नै हुन्छ ।
कामको सम्मान
चीनमा प्राय: युवायुवती १२ कक्षा पढिसकेपछि नोकरी गर्न थालिहाल्छन् । अर्को राम्रो कुरा के हो भने, परिवारकै सबैले आम्दानीको कुनै न कुनै काम गर्छन् । चिनियाँहरूको जीवनस्तर वृद्धि हुनुको एउटा प्रमुख कारण यो पनि हो ।
केटाहरूले फ्याक्ट्रीमा काम गर्छन् भने, केटीहरूले अफिस वा पसलमा । अंग्रेजी लेखपढ गर्न सक्नेले चाँडो काम पाउँछन् । केटीहरूले अचेल अंग्रेजीमा पनि नाम राख्न थालेका छन् । जेनी, लोलिताजस्ता नाम हुन्छन् अचेलका चिनियाँ केटीहरूका, विदेशीहरूलाई उच्चारण गर्न सजिलो होस् भनेर ।
कामदारहरूको पक्षमा राम्रो नियम के छ भने, उनीहरू काम गर्ने फ्याक्ट्री वा अफिसले उनीहरूको बिमा अनिवार्य रूपमा गरिदिएकै हुनुपर्छ । फ्याक्ट्रीहरूले चाहिँ बस्ने व्यवस्था गरिदिनैपर्छ । सरकारले कामदारको न्यूनतम तलब एक हजार आरएमबी (करिब सत्र हजार रुपैयाँ) तोकिदिएको छ, तर २५ सय/तीन हजार आरएमबीभन्दा तल काम गर्ने मान्छे भेट्न सहरमा चाहिँ गाह्रो छ । त्यतिमा काम लाउँदा फ्याक्ट्रीवालाहरू पोसाउँदैन भन्छन् । त्यही भएर अचेल धेरैजसो फ्याक्ट्रीहरू ग्रामीण इलाकातिर सरेका छन् । त्यस्तो भेकमा उद्योग खोल्न सरकारले प्रोत्साहन पनि गरेको छ । पाँच वर्षसम्म कर तिर्नुपर्दैन । बैंक लोन सजिलै पाइन्छ ।
चिनियाँ सामान डुप्लिकेट मात्रै हुन्नन्
चिनियाँ सामानहरू ‘थर्ड क्लास’का हुन्छन् भन्ने आमधारणा छ । त्यो त्यति गलत त होइन, तर त्यसो हुनुमा चिनियाँहरूको होइन, त्यहाँ सामान उत्पादन गराउने विदेशीहरूको कमजोरी हो । बनाउन लाउनेले नै कुनै राम्रो टिकाउ माल देखाएर ‘यस्तै, तर कम लगानीमा बनाइदे’ भनेपछि फ्याक्ट्रीवालाले त्यस्तै बनाउने त हो नि । कम लगानीमा टिकाउ माल उसले कसरी बनाउन सक्छ र ? जस्तो, मैले चीनमा रोयल सार्क ब्रान्डका घरायसी सामानहरू बनाएर नेपालमा बेच्ने गरेको छु । अब अर्को नेपाली व्यापारीले मेरै सामानको नक्कल गर्नलाई चीन पुगेर यस्तै सामान तर सस्तो बनाइदे भन्छ र यता ल्याएर बेच्छ । सस्तो खोज्ने नेपालीहरूले त्यही किन्छन् र ठगीको आरोप अरूलाई लाउँछन् । सस्तो बनाउनेहरूले चाइनिज मार्केट बिगारिरहेका छन् ।
enayapatrika बाट


0 comments

Write Down Your Responses

Powered by Blogger.