प्रचण्डको प्रस्तावमा विद्या भण्डारी राष्ट्रपति उम्मेदवार
काठमाडौं, कात्तिक १० । सत्तारुढ दल नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
भण्डारीले मंगलबार पौने १२ बजे राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी नयाँ बानेश्वरस्थित सांसद भवन दर्ता गराएकी हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भण्डारीको प्रस्तावक छन् भने राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार समर्थक छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कुलबहादुर गुरुङलाई राष्ट्रपति र अमियकुमार यादवलाई उपराष्ट्रपति पदमा उठाउने निर्णय गरेको छ । एमओवादीको तर्फबाट पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन उपराष्ट्रपति पदमा उम्मेदवार हुँदैछन् । अब राष्ट्रपतिमा भण्डारी र गुरुङ तथा उपराष्ट्रपतिमा पुन र यादवबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेकपा एमालेले पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनका तर्फबाट भण्डारी उम्मेदवार बन्ने पक्का भएसँगै उनी लगभग राष्ट्रपति बन्ने पक्का देखिन्छ ।
किनभने, सत्तारुढ गठबन्धनसँग बहुमत छ । जसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए तिनै दलहरुले भण्डारीलाई मतदान गर्ने भएकाले उनी राष्ट्रपति चयन हुने कुरा यदि ठूलै राजनीतिक बदलाव नआएको खण्डमा निश्चित जस्तै छ ।
एमालेले भण्डारीलाई पार्टी्भित्र सक्रिय महिला नेतृ र जननेता स्व. मदन भण्डारीकी पत्नी भएकाले अगाडि सारेको बताइन्छ । लामो समय एमालेको सक्रिय राजनीतिमा क्रियाशील भण्डारी उति विवादित पनि छैनन् । उनले लोकप्रिय नेता स्व. मदन भण्डारीकी पत्नी भएका कारण पनि धेरैको सहानुभूति पाइरहेकी छिन् । यसअघि रक्षामन्त्री भइसकेकाले उनलाई नेपाली सेनाको समर्थन पनि प्राप्त भएको बताइन्छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको पनि समर्थन विद्यालाई प्राप्त भएकाले उनलाई एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्न थप सहज भएको मानिन्छ । ओलीको रूचीको ब्यक्तिमा उनी पहिलो नम्बरमा थिइन ।
भोजपुरमा जन्मिएकी ५४ वर्षीय विद्या राष्ट्रपति चुनिदा महिला भएकाले त्यसले राम्रो सन्देश दिन्छ भनेर उनलाई राष्ट्रपति बनाउन जोडबल गर्नेहरु पनि निकै सक्रिय बनेका छन् । यदि भण्डारी राष्ट्रपति बनेमा नेपालको राजनीतिमा यति उच्च स्थानमा पुग्ने पहिलो महिला हुनेछिन् ।
नयाँ राष्ट्रपति चयनका लागि कात्तिक ११ गते ११ बजे संसदमा चुनाव हुनेछ ।
0 comments
Write Down Your Responses