प्रचण्ड र देउवाले धोका दिएको मोदीको ठहर
प्रोफेसर एसडी मुनीले इकोनोमिक एन्ड पोलिटिकल विक्लीमा नेपालबारे लेखेको लामो लेखमा भारतले आफ्ना चासो सम्बोधन नगरेकोमा नेपालप्रति आक्रोश पोखेको, तर प्राथमिकता स्पष्ट पार्न नसकेको टिप्पणी गरेका छन् ।
‘भारतको वर्तमान कूटनीतिक छवि र भूमिका बदल्नुपर्छ । अहिले भारत हार्डलाइनर भूमिकामा छ, यसबाट बाहिर आएर सरकार तथा आन्दोलनकारी दुवैलाई एकैठाउँमा ल्याउने भूमिका भारतले खेल्नुपर्छ,’ मुनीको प्रतिक्रिया छ, ‘र, संविधान संशोधनबाट निकास खोज्नुपर्छ ।’ मुनीको विश्लेषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले सहमतिका आधारमा संविधान बनाउन दिएको सल्लाह र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा प्रचण्डले यसमा कबुल गरेको कुरा कार्यान्वयन हुन्छ भन्नेमा भारत विश्वस्त थियो, तर पछि नेताले धोका दिए ।
विश्वस्त सूचना भन्दै उनले लेखेका छन्, ‘दलहरूले धोका हुने संकेत देखेपछि संविधान जारी हुनुभन्दा एक सातापहिला १४ सेप्टेम्बरमा विदेश मन्त्रालयले विज्ञप्ति निकालेर पूर्ववत: सल्लाह दोहोर्यायो । नेपाली नेता दिग्भ्रमित भए । संविधान निर्माण प्रक्रिया अघि बढ्यो ।’ मुनीको विश्लेषणमा त्यसपछि भारतलाई पछि लाग्यो कि मोदीलाई पूरै बेवास्ता गरेर नेपाली नेताले पश्चिमा, चीन, इसाईहरूको लबीका आधारमा संविधान जारी गरे । ‘त्यसकारण यो रोक्न जयशंकरलाई पठायो । मोदीका विशेष दूतका रूपमा गएका जयशंकरले सकारात्मक रेस्पोन्स पाएनन् ।
जयशंकरले नेपाली राजनीतिको आन्तरिक गाँठो नै बुझ्न सकेनन्,’ मोदीको बुझाइ छ, ‘त्यसबेला भारतले आफ्नो प्राथमिकता के हो भन्ने कुरा बुझ्न सकेन । मधेसको चासो र हिन्दुत्वको मामिला मिलाउन नसक्ने भारतीय कूटनीतिको पछिल्लो असफलता हो । यसको परिणाम हो वर्तमान असहजता ।’ उनको विचारमा दिल्लीले अपूरै भए पनि नयाँ संविधानलाई स्वागत गर्नुपथ्र्यो । संविधान नहुनुभन्दा हुनु राम्रो थियो र त्यसमा थप सुधारेर जाने बाटो तय गर्न सकिन्थ्यो । त्यसो भइदिएको भए अहिलेको जस्तो जटिल परिस्थिति आउनेवाला थिएन ।
अर्कोतिर मोदी सरकारले नेपाललाई चाहिनेभन्दा बढी प्राथमिकता दिएका कारण पनि यो अवस्था आएको उनको बुझाइ छ । – नयाँ पत्रिका
0 comments
Write Down Your Responses