खुट्टाले चित्र कोरेरै आमा पाल्छन् पासवान
जन्मदै दुई हात र एक खुट्टा नभएका पासवान विगत केही वर्षदेखि सडकमै बसेर चित्र कोर्दै आफ्नो जीविका चलाउँदै आएका छन् ।
पासवानको एउटा खुट्टा मात्र चल्छ । दुई हात र एक खुट्टाले कुनै काम गर्दैनन् । शारीरिक रुपमा अशक्त भएर पनि मासिक २० हजार रूपैयाँसम्म आम्दानी गरिरहेका छन् उनी ।
आफ्नी आमालाई देखाउँदै उनले भने, “सानो छँदा कुनै चित्र देख्ने बित्तिकै त्यसलाई म उतार्ने प्रयास गर्थे । शारीरिक रुपमा सबल नभएकाले म घरमै बसेर चित्र कोर्थें । त्यस बेला मेरी आमाले मलाई निक्कै सहयोग गर्नुहुन्थ्यो । आमाको सहयोग र ममताले नै म यहाँसम्म आएको हुँ ।”
शारीरिक रुपमा सबल नभएकै कारण उनलाई हरेक काम गर्न निकै समस्या हुन्थ्यो नै । तर, यसै समस्यालाई एउटा अवसरको रुपमा लिएर अघि बढेकाले नै अहिले एउटा सक्षम मानिस बन्न सकेकामा उनलाई गर्वको अनुभूति हुन्छ ।
केही वर्षअघि आफूले बनाएको चित्रको कुनै मूल्य नतोकी अरुले दिएको पैसामै सन्तोष मान्ने पासवानले विगत एक वर्षदेखि भने एउटा चित्रको मूल्य रु १४० देखि रु ५०० सयसम्म लिन थालेका छन् ।
उनी हरेक दिन ११ बजेदेखि सुन्धारास्थित काठमाडौँ मलको ठीक अगाडि जोडी सुँगा, देवी देवता र फूलको चित्र बनाई बेचिरहेका हुन्छन । यसरी उनले बाटोमा बनाएका चित्र बेचेर नै आफू र आमाको सहरको बसाइँ सहज बनाइरहेका छन् । तर घाम, पानी र विभिन्न समयमा हुँदै आएको धर्ना र जुलुसका कारण आफूलाई निकै समस्या हुने गरेको उनले गुनासो गरे ।
उनले दैनिक सात वटासम्म चित्र बनाई बिक्री गर्छन् । आफ्ना सिर्जनालाई सजाउन विभिन्न होटल र बढी मात्रामा विदेशीले लाने गरेकामा उनले खुशी व्यक्त गरे ।
आमा चमेली देवी पासवान भने छोराको ‘कला र गला’को सम्मान हुन नसकेको बताउँछिन् । चमेलीका अनुसार आनन्दसँग चित्र कोर्ने मात्र नभई फरकफरक स्वरमा गीत गाउने र विभिन्न किसिमका माटोको भाँडाकुँडा कुद्ने खुबीसमेत रहेको छ ।
छोराको कलाको सम्मान गर्दै सरकारले कुनै स्थानमा एउटा पसलको व्यवस्था गरिदिए काममा केही सहज हुनुको साथै ऊर्जा थपिने चमेलीको विश्वास छ । आनन्दको भने स्वदेशमा धेरै चित्रकला प्रदर्शनीमा सहभागी हुने अवसर पाएको तर विदेशमा गएर पनि आफ्नो प्रतिभाको प्रदर्शन गर्न नपाएको दुखेसो रहेछ । आफ्नो छोरोको यो ठूलो कसैले पूरा गरिदेओस् भन्ने चमेलीको इच्छा छ ।
कुनै पनि औपचारिक शिक्षण सिकाइमा सहभागी नभएका पासवान चित्र कोर्ने र गीत गाउने सीपका अतिरिक्त नेपाली, हिन्दी, मैथली, भोजपुरी, अङ्ग्रेजीलगायत १३ वटा भाषा बोल्न सक्छन् ।
अहिलेसम्म कुनै पनि सङ्घसंस्थाले आफूलाई सहयोग नगरेकामा उनको गुनासो छ । पासवानले एउटा खुट्टाको भरमै भान्साको सबै काम गर्ने, साथी भाइसँग घुम्न जाने, नुहाउने, बजार गएर सामान किनेर ल्याउने जस्ता काम आफैं गर्दै अाएका छन् ।
0 comments
Write Down Your Responses