नेपाल आइपुग्यो चीनको तेल
नेपाली पक्षले बुधबार मात्रै नेपाल आइपुग्ने सूचना दिएको भएपनि चीनले मंगलबारै अनुदानको इन्धनलाई उत्तरी नाका रसुवागढी नजिकैको केरुङमा पुर्याएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्यांकर केरुङ पुगेर नेपाली ट्यांकरलाई पर्खिरहेको केरुङस्थित नेपाली व्यवसायी कृष्ण तामाङले बताउनुभयो । उहाँका अनुसार सय भन्दा बढी ट्यांकर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गेलालले चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्यांकर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘चिनियाँ राजदूताबासले ट्याङकर लिएर जाने चालक र सह–चालकको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भयो । सम्भवतः भोली बुधबार नेपाली ट्यांकर तेल भर्न केरुङ पुग्छन् ।’
यसअघि रसुवागढी नाका सञ्चालनमा आएकै दिन चीनले अनुदानमै करोडौंको खाद्यान्न सामग्री समेत नेपाललाई उपलब्ध गराइसकेको छ ।
यसैबीच इन्धन खरिद सम्झौता गर्न चीन पुगेको उच्चस्तरीय सरकारी टोलीले बुधबारै चाइना नेशनल आयल कर्पाेरेशनसँग वार्ता गर्ने टोलीका सदस्य एंव चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses