मधेस आन्दोलनमा भारतको सहयोग रहेको महन्थ ठाकुरको खुलासा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ठाकुरले आन्दोलनमा भारत सरकार र त्यहाँका जनताको नैतिक समर्थन रहेको बताए ।
‘नेपालमा जहिले पनि आन्दोलन वा विद्रोह हुँदा त्यसको प्रभाव भारतमा पर्ने गरेको छ’, ठाकुरले भने, ‘भारत सरकार र भारतीय जनताको हामीलाई नैतिक समर्थन छ ।’
यद्यपि आफूहरुले मधेसी जनताको बलमा आन्दोलन गरिरहेको जिकिर ठाकुरको थियो । ठाकुरले मधेसी दल र नेताभन्दा शासनसत्तामा बसेका पहाडी नेताले भारतीय सत्ताधारीको पाउ पुज्ने गरेको आरोप लगाए ।
ठाकुरले आफूहरुको आन्दोलनलाई भारतद्वारा सञ्चालित भनिएकामा कुनै प्रकारको दुःख मनाउ नरहेको उल्लेख गरे ।
फरक प्रसंगमा उनले सरकार र मोर्चाबीच सुरु भएको वार्ता सरकारकै कारण रोकिएको बताए ।
‘हामी वार्ताका लागि तयार छौ’, ठाकुरले भने, ‘तर सत्ता पक्ष वार्ताका लागि गम्भीर छैन, एक हप्तादेखि वार्ताको ढोका बन्द छ । हामीलाई कुनै खबर छैन ।’
जनताले दसैंमा नाका खोल भनेकै छैनन्
सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा ठाकुरले दशैं तिहार जस्ता चाडपर्वमा नाका खोल्नेबारे जनताबाट कुनै आग्रह नआएको दाबी गरे ।
उनले आफूहरुका लागि आन्दोलन नै दसैं भएको टिप्पणी गरे । ‘दसैंमा नाका खोल्नुपर्छ भने जनताले भनेका छैनन्, तपाईंहरुले बल्ल भन्नुभयो’, ठाकुरले भने, ‘हामी दसैं मान्दैनौं, टीका पनि लगाउँदैनौं ।’
0 comments
Write Down Your Responses