प्रतिसांसद ५० लाखसम्मको अफर आएको सुनेको छु –प्रचण्ड
काठमाडौं, २३ असोज । एकीृकत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन प्रतिसांसद ५० लाखसम्म अफर गरेको सुनेको बताएका छन् । ‘सुशीललाई प्रधानमन्त्री बनाउन भारतीय दूतावासबाट प्रतिसांसद् ५० लाखसम्मको अफर आएको जानकारीमा आएको छ,’ उनले भने, ‘हामी यसलाई असफल बनाएर आफ्नै बलबुताबाट प्रधानमन्त्री चुन्दैछौं ।’

शुक्रबार सिंहदरबारस्थित स‌ंसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डले भने– ‘सांसद् किनबेचसम्ममा सहभागी भएको जानकारी आएको छ ।’ उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउने दलहरुबीचको ‘भद्र सहमति’ विपरीत सुशीलले दिएको उम्मेदवारीप्रति लक्षित गर्दै भने, ‘दिल्लीको उक्साहटमा प्रधानमन्त्रीमा उम्मेदवारी दिइएको छ ।’ उनले सार्वभौम र स्वाधिन देश नेपालको प्रधानमन्त्री नेपालीकै निर्णयले चुनिनुपर्ने बताए ।

उनले सुरुमा रामचन्द्र पौडेलको नाम आएपनि रातारात सुशीलकै नाम आउँदा आफू आश्चर्यचकित भएको बताए । ‘यो भारतले स‌विधान रोक्न नसकेपछि यसको कार्यान्वयनमा भाँजो हाल्न दलहरुबीचको एकतामा फाटो ल्याउन गरेको प्रयास हो,’ उनले भने, ‘संविधान संशोधन र कानुन निर्माणमा अड्चन ल्याउने रणनीति अनुसार सुशीललाई भारतले अगाडि सारेको छ ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.