राहतमा लगेको जस्ता अर्थमन्त्रीका स्वकीय सचिवले बिक्री गर्न खोजेपछि तनाव
नुवाकोटको कविलास गाविसबाट भूकम्प पीडितलाई राहतका लागि पठाएको नेपाल इन्भेस्टमेन्ट बैंकको लोगोसहितका १ सय ७० बन्डल जस्तापाता स्थानीयले नियन्त्रणमा लिएका छन्।
शुक्रबार बिक्रीका लागि ट्रिपरमा राखेर काठमाडौं ल्याउँदै गर्दा थानसिङ छहरेका स्थानीयले नियन्त्रणमा लिएका हुन्।
बिहीबार कबिलास झारिएको नेपाल इन्भेस्टमेन्टको लोगो अंकित रंगीन जस्तापाता राहतमा नबाँडी शुक्रबार बा ३ ख ३८४४ नम्बरको ट्रिपरमा राखेर काठमाडौं ल्याउँदै गर्दा धानसिंङ छहरेमा नियन्त्रणमा लिएको स्थानीय विनोद पाठकले बताए।
नुवाकोटमा आइपुगेको तीन सय बन्डल जस्तापाता मध्ये १ सय ७० बन्डल जस्तापाता काठमाडौं ल्याउन खोजिएको र १ सय ३० बण्डल जस्ता नेपाली कांग्रेस नुवाकोट जिल्ला सचिव रमेश महतको घरमा राखिएको छ।
थानसिंहस्थित छहरेमा राजनीतिक दल र स्थानीयले नियन्त्रणमा लिएका हुन्। अहिले नियन्त्रित जस्तापातालाई प्रहरीले सुरक्षा दिएको छ। स्थानीयले राहतमा आएको जस्तापाता कांग्रेसका केही नेता तथा कार्यकर्ता मिलेर बिक्री गर्न खोजेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन्।
नियन्त्रणमा लिइएको जस्तापाताको बजार मूल्य झन्डै ४५ लाख बराबर हुने बताइएको छ। पाठकले राहतमा आएको जस्तापाता अर्थमन्त्री रामशरण महत, उनका स्वकीय सचिव रमेश महत र अन्य नेता कार्यकर्ताको मिलेमतोमा बिक्री गर्न खोजिएको आरोप लगाए।
‘अर्थमन्त्री रामशरण महत, उनका स्वकीय सचिव रमेश महतलगायत कांग्रेस नेता कार्यकर्ताको मिलेमतोमा यस्तो भएको हो,’ उनले दाबी गरे। यसबारे सत्यतथ्य छानविन गर्न राजनीतिक दल र स्थानीयहरुले माग गरेका छन्। स्थानीयले रमेश महत र उनका बुबा नआएसम्म आफूहरूले नियन्त्रणमा लिएको जस्ता नछोड्ने बताएका छन्।
News/ सेतोपाटी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses