कोइरालाले विपत्तीको सामना गर्न सकेनन् : बाबुराम
१६ जेठ, काठमाडौं ।

एमालेका अध्यक्ष के पी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीच शुक्रबार यसै महिनाको अन्त्यसम्म ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ।

दुई पार्टीका शीर्ष नेताहरूबीच बालकोटस्थित ओली निवासमा शुक्रबार बिहान भएको छलफलअनुसार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विपत्तिको सामना गर्ने क्षमता वर्तमान सरकारमा नरहेकाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न ओली र दाहालले प्रस्ताव गर्ने सहमति भएको स्रोतले बतायो।

महाविपत्तिको एक महिनासम्म सरकारले गरेको उद्धार र राहतकार्य यथोचित नभएको हुँदा वर्तमान नेतृत्व नै परिवर्तन गरेर संविधानसभामा प्रतिनिधित्व गर्नै सबै दल संलग्न राष्ट्रिय सहमतिको सरकारको विक ल्प नरहेकोमा एमाले र एमाओवादीबीच एकमत बनेको छ।

एमाओवादीका नेता भट्टराईले नेताहरूबीच नयाँ ढंगमा राष्ट्रिय विपत्तिको सामना कसरी गर्ने र त्यसका लागि राजनीतिक शक्ति सम्पूर्ण रूपमा नै एक गराउने भन्ने विषयमा गम्भीर छलफल भएको बताए।

उनले  भने, ‘एमाओवादीका लागि सरकार ठूलो कुरा होइन। मूल कुरा लामो समयदेखि थाती रहेको संविधान निर्माणलाई तीव्रता दिनु र पुनर्निर्माण तथा नवनिर्माणको विषयलाई केन्द्रमा राख्नु हो।

यसका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य छ। सोही विषयमा ओलीजीसँग हाम्रो वार्ता भएको हो।’

राष्ट्रिय सहमतिका साथ मुलुकमा देखिएको विपत्ति सामना गर्ने क्षमता आफूहरूले प्रधानमन्त्री सुशील कोइरालामा नदेखेको भट्टराईले बताए।

‘यो महाविपत्तिमा परेका जनताको आत्मविश्वास जगाउने समय हो’, उनले भने, ‘यद्यपि सुशीलजीको लोकतन्त्रप्रतिको निष्ठामा भने शंका गर्न मिल्दैन।’

एमालेका एक वरिष्ठ नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो महिनाको अन्तिमसम्ममा ओली प्रधानमन्त्री हुनेछन्। यसका लागि एमाओवादी नेतृत्वको प्रस्ताव आएको हो।’

कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा ओली र दाहालले सोहीअनुसारको एजेन्डा प्रस्तुत गर्ने जानकारी उनले दिए।

राष्ट्रिय विपत्तिले राष्ट्रिय एकताको आवश्यकता बढाएको सन्दर्भमा लचिलो भएर संविधानका अन्तरवस्तुमा समेत सहमति खोज्न सकिनेबारे छलफल अगाडि बढिरहेको उनले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले भने, ‘भूकम्पबाट आएको विपत्तिको सामना, संविधान निर्माण र स्थानीय निर्वाचनसमेतका लागि ओली नेतृत्वको सरकार अघि बढाउने गरी विशेष गृहकार्य अन्तिम चरणमा पुगेको छ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.