यो हो २२ सेकेन्डअघि नै भूकम्प थाहा दिने यन्त्र
नास्टले भूकम्प आउनु अगाडि नै सूचना दिने प्रविधियुक्त यन्त्रलाई भित्र्याएर धादिङको नौबीसे–१ धार्केस्थित रेडियो राजमार्गको कार्यालयमा आइतबार जडान गरेको हो । नास्ट र चिनियाँ विशेषज्ञसहितको टोलीले भूकम्पबारे २२ सेकेन्डअघि नै थाहा दिने प्रविधिसहितको यन्त्र जडान गरेको हो ।
उक्त यन्त्रको मूल्य करिब २२ लाख पर्छ । भूकम्प आउनुपूर्व सूचना दिने यो प्रविधिलाई नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘यो प्रविधिबाट भूकम्पबारे ६ देखि २२ सेकेण्ड अगाडि नै जानकारी प्राप्त हुन्छ । संचारमाध्ययममा यो यन्त्र जडान गरी भूकम्पको पूर्वसूचना प्रसारण गर्न सकेमा मानवीय क्षति कम गराउन सहयोग पुग्छ ।’
उहाँका अनुसार यो यन्त्र धादिङसहित ललितपुरको खुमलटारस्थित नास्टको कार्यालय र काभ्रेको बनेपामा जडान गरिएको छ । यो यन्त्र जडान गरिएको ठाउँमा आसपासका क्षेत्रमा भूकम्प आउनु अगाडि नै थाहा पाइनेछ ।
चीनको इन्स्टिच्युट अफ केयर लाईफ (आईसिएल), पिपुल्स रिपब्लिक अफ चाइनाको अनुदानमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।
नास्टका अनुसार भूकम्पबारे अगाडि थाहा पाउन नेपालमा ३२० वटा सेन्टरमा यन्त्र जडान गर्नुपर्ने देखिएको छ । जसमा चिनियाँ सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भएको छ, भने २४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्दैछ । यो प्रविधिबाट जोखिम क्षेत्रका सर्वसाधारणले पूर्वसूचना पाउने हुँदा भूकम्पबाट मानवीय क्षति कम हुने नास्टको विश्वास छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses