‘मन्त्री मारा’ अध्यक्ष केपी ओली
एमाले महाधिबेशन ताका केपी शर्मा ओलीको अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपालप्रति एउटा गजव आरोप थियो । ‘आफु माथी बढ्दै जाने तर तलतिर अरु रुखलाई उम्रिनै नदिने रुख सल्ला हो, त्यही सल्ला चरित्र भएका ब्यक्ति माधव नेपाल हुन् ।’ नेपालप्रति लगाएका यो आरोप अहिले ओली आफै प्रमाणित गर्दैछन् । पार्टीभित्र निर्णय नै नगरी तानशाह शैलीमा ओलीले आफुलाई मन नपरेका ब्यक्तिलाई धमाधम मन्त्रीबाट निकाल्न थालेका छन् । उनको यो शैलीलाई एमालेकै पदाधीकारीहरुले एउटा नयाँ उपमा दिन थालेका छन् ‘मन्त्री मारा अध्यक्ष’ ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा आफुले भनेका ब्यक्ति नियुक्त गर्न अस्वीकार गरेकै आधारमा पुरुषोत्तम पौडेललाई युवा तथा खेलकुद मन्त्रालयबाट फिर्ता बोलाए । पार्टी भित्र निर्णय नै नगरी उनले पौडेललाई फिर्ता बोलाएर आफ्नै गृहजिल्लाका एमाले सभासद् दीपक कार्कीलाई मन्त्रीका लागि सिफारिस पनि गरिसकेका छन् । पौडेलले मन्त्रीबाट राजीनामा नबुझाउँदै ओलीले नयाँ मन्त्रीका लागि कार्कीको नाम प्रधानमन्त्री कोइरालालाई बुझाएका छन् । ओलीको शैलीबाट आजित भइसकेका एमाले केन्द्रीय समितिकै सदस्यहरु ‘अब चुनौति दिने र सामना’ गर्ने पक्षमा उभिने भएका छन् । ‘यो अध्यक्ष सञ्चालन गरेको गैरसरकारी संस्था वा प्राइभेट कम्पनी होइन’ एमालेका एक पदाधिकारीले भने ‘एकपछि अर्को गर्दै अध्यक्षले गल्ती गर्दै जाने अरुले स्वीकार गर्दै जाने बिधि अब मान्न सकिदैन ।’
५० बर्ष सक्रिय राजनीति गरेका ओली एक बर्षअघि मात्र एमालेको अध्यक्ष भएका थिए । उनी अध्यक्ष भए लगतै चार जना मन्त्रीलाई उनले सिहदरवारबाट निकालेका छन् । आफु निकटका ब्यक्तिलाई पाटी भित्र निर्णय नै नगराई सिंहदरवारमा आसिन गराएका छन् । ओलीको पहिलो निशानामा परेका थिए, पार्टीकै सचिव समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भीम आर्चाय । भीम आचार्यको स्थानमा बरिष्ठ नेता झलनाथ खनालका पूर्वस्वकीय सचिव दीपक अमात्य मन्त्री बने । तर उनलाई पनि ओलीले काम गर्न नसकेको, आफुलाई जानकारी नगराएर अमेरिका गएको जस्तो आरोप लगाएर आफ्ना प्रिय पात्र कृपासुर शेर्पालाई मन्त्री पदको कृपा गरे ।
उनले नेपाल समुहका मन्त्रीलाई मात्र सिंहदरवारबाट बाहिर निकालेका छैनन्, आफैले छोराको संज्ञा दिने कर्णबहादुर थापालाई पनि उद्योग मन्त्रीबाट हटाए । थापाको ठाउँमा  आफ्नै बिश्वास पात्र महेश बस्नेतलाई मन्त्री पद उपहार दिए । उनले आफुलाई मन नपरेका ब्यक्तिमाथी छानछानी कारवाही थाल्न थालेका छन् । तर पहिले ओलीको कार्यशैलीप्रति असन्तुष्टी राख्ने नेपाल पनि अहिले सेलाएका छन् । ओलीले पार्टीलाई प्रालीका रुपमा सञ्चालन गर्दा पनि खास्सै कदम चालेका छैनन् ।
तर एमालेभित्रको एउटा युवा समुहले भने ओलीको कार्यशैलीको अब प्रतिरोध गर्ने तयारी गर्ने भएको छ । पौडेललाई फिर्ता बोलाउने एकल निर्णय गरे लगतै युवा नेताहरुको समुहले योग्यता, योगदानका आधारमा मन्त्री बनाउनु पर्ने, मन्त्री बनाउँदा वा फिर्ता बोलाउँदा केन्द्रीय समितिमा निर्णय हुनु पर्ने जस्ता माग राख्ने तयारी गरिरहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.