वर्षदिन नपुग्दै मध्यपहाडी राजमार्गका पुल भत्कन थाले !
दैलेख, १३ असार-मध्यपहाडी राजमार्गअन्तर्गत बनाइएको पुलमा समस्या देखिएको छ । निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै पुल आसपासबाट पर्खाल भत्कन थालेपछि समस्या देखिएको हो ।
दुल्लु नगरपालिका र जम्बुकाँध जोड्ने पादुका खोलामा निर्माण गरिएको पुल आसपासको पर्खाल भत्किएपछि पुलको गुणस्तरीयता खस्केको पाइएको छ । एक करोड ९६ लाखमा महालक्ष्मी जयदेवी एसएस जेभीले निर्माण गरेको उक्त पुलसम्म जोड्ने पर्खालको कमजोर संरचना निर्माण गरेका कारण भत्केको हो ।

पुलको सुरक्षाका लागि बनाइएको पर्खाल भत्किएपछि गुणस्तरमाथि गम्भीर प्रश्न तेस्रिएको छ । निर्माणमा उल्लेख गरिएको योजनाअनुसार काम नभएको गुनासो आएपछि सभासद् अमरबहादुर थापासहितको टोली नै पुलको अनुगमन पुगेर फर्किएको थियो । टोलीले पुल निर्माणमा ठेकेदारले गुणस्तरहीन काम ठहर गरेको छ ।

पादुका खोला आसपास पुल र सडक निर्माणमा ठेकेदारहरुले गुणस्तरहीन काम गरेको भेटिएको छ । पुल र सडक गुणस्तरहीन अवस्था देखिएकाले तत्काल प्रमुखसँग बुझेर बदमासी गर्नेमाथि छानबिन गर्न लगाउने सभासद् अमरबहादुर थापाले बताए । ‘वर्षात् मौसम सुरु हुनासाथ पुल आसपासका पर्खालहरु पनि भत्केर गाडी नै चल्न नसक्ने हुन सक्छ’ – स्थानीय दिक्पाल शाहीले बताए ।

स्थानीय निकाय सञ्चालन कार्यविधि – २०६९ अनुसार हरेक ठूला योजनाहरु निर्माण सुरु गर्दा, मध्य अवस्थामा र अन्तिममा सार्वजनिक परीक्षणसँगै सार्वजनिक सुनुवाइ गर्नुपर्ने अनिवार्य प्रावधान भए पनि जिल्लामा सञ्चालन भएका सबैखाले ठूला योजनामा कागजी प्रक्रियामात्र पूरा भएका छन् र व्यवहारमा लागू भएका छैनन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.