प्रचण्डलाई ज्यान मार्ने धम्की
काठमाडौँ, ३० जेठ ।
आङकाजी शेर्पाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने चेतावनी दिएका छन् । ‘प्रचण्ड जीवित रहनु १३ हजार सहिदहरुको अपमान हो’ भन्ने शीर्षकमा फेसबुक स्टाटस हाल्दै शेर्पाले प्रचण्डलाई १३ हजार नेपालीको हत्यारा भन्दै प्रचण्ड जाने सार्वजनिक कार्यक्रममा प्रेसर कुकर बम र बन्दुकले उनको हत्या गर्ने योजना रहेको खुलासा गरेका हुन् । शेर्पा संघीय समाजवादी पार्टीका विदेश विभाग प्रमुख हुन् ।
पूर्व जनमुक्ति सेनाहरुले प्रचण्डको हत्या गर्ने तयारी गरेको उनले खुलाएका छन् । ‘१३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ती सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने राजनीति विश्लेषण हाल चर्चामा रहेको छ’ उनले पोष्ट गरेको चार मध्ये पहिलो बुँदामा यस्तो खुलासा गरेका हुन् ।
संविधान निर्माणका लागि १६ बुँदे सहमतिप्रति लक्षित गर्दै शेर्पाले परिवर्तनका एजेण्डालाई पहिलो संविधानसभामा प्रधानमन्त्री र दोस्रो संविधानसभामा राष्ट्रपति पदसँग साटेर खाने दाउ गरेको भन्दै जनमुक्ति सेना र मधेसी युवाहरुले प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मार्न प्रेसर कुकर बम र बन्दुक लिएर जाने राजनीतिक विश्लेषण भइरहेको भन्दै यस्तो स्टाटस लेखेका हुन् । उनले तीन दिन अघि फेसबुकमा यस्तो स्टाटस राखेका थिए ।
साथै, उनले बमसहितको प्रेसर कुकर, प्रचण्ड र गच्छदारको फोटो पनि पोस्ट गरेका छन् । गद्दार नेतालाई हत्या गरेर दण्डित गर्ने विश्व राजीतिक इतिहास नेपालमा पनि चााडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दाबी भने पनि कुन विश्लेषकले दाबी गरेको भन्ने उनले खुलाएका छैनन् । पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड र पूर्व उपप्रधान एवं गृहमन्त्री गच्छदारलाई ज्यान मार्ने धम्की एउटा पार्टीको जिम्मेवार नेताले दिएको तीन दिनसम्म पनि प्रहरीले कुनै कदम अगाडि बढाएको छैन । – खबर डबलीबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
0 comments
Write Down Your Responses