एयरपोर्टबाटै युवती तस्करीको सेटिङ ! चार जना ‘दलाल’ जहाजबाटै समातिए
जेट एयरको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेको अवस्थामा राहदानीसमेत भएका ४ महिला र नागरिकता मात्र भएका ४ पुरुष गरी ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि यसको खुलासा भएको हो । उनीहरु बिमानभित्र प्रवेश गरिसकेको अवस्थामा बिमानस्थलमा कार्यरत प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले बिमान नजिकै गई जेट एयरका कर्मचारीलाई यात्रुको सामान छुटेकोले लगिदिनु भनी दिएका थिए । त्यसपछि जेट एयरका कर्मचारीले सामान चेकजाँच गर्दा भिषा लागेको ४ थान राहदानी र टिकट फेला परेपछि उनीहरु सबैलाई प्रहरीसामु बुझाइएको थियो ।
प्रहरीले महिला तस्करीमा संलग्न नुवाकोटका ४० वर्षीय अमर तामाङ, सिन्धुपाल्चोकका ३७ वर्षीय दमछोई दोर्जे लामा, नुवाकोटका ४२ वर्षीय पूर्णबहादुर लामा र तनहुँका २७ वर्षीय किशोर नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले नुवाकोटकी २० वर्षीया रोशनी थापा, नुवाकोटकी १९ वर्षीया सपना तामाङ, सिन्धुपाल्चोककी ३४ वर्षीया सरिता तामाङ, तनहुँकी ३१ वर्षीया राधिका नेपालीलाई भारत हुँदै तेस्रो मुलकतर्फ लैजाँदै थिए । यी युवतीहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।
युवतीहरुको राहदानीमा अध्यागमन कार्यालयको छापसमेत लगाएको अवस्थामा फेला पारिएपछि तस्करीमा विमानस्थलमा विमानस्थलबाटै सेटिङ हुने गरेको खुलासा भएको थियो । अध्यागमनका कर्मचारीकै मिलेमतोमा महिलाहरुलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागेको पत्ता लागेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा सक्कल कागजैसहित प्रहरीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses