लोग्नेस्वास्नी बन्ने, घरभाडामा लिएर यौनधन्दा चलाउने
पछिल्लो समय जनकपुरमा यौनधन्दा फस्टाएपछि स्थानीय समस्यामा परेका छन् । बस्तीमा पतिपत्नी बनेर घरभाडामा लिने र यौनधन्दा चलाउने गिरोह बढेपछि स्थानीयले धमाधम प्रहरीमा उजुरी गर्न थालेका छन् । प्रहरीले होटल तथा लजमा छापा मारेर यौनधन्दा चलाउनेलाई समात्न थालेपछि यौनधन्दा चलाउनेहरुले अपनाएको नयाँ शैलीबारे पनि प्रहरी जानकार भएको हो ।
जनकपुरमा भारतका महिलासमेत आएर यौनधन्दामा सरिक रहेको पाइएको छ भने प्रहरीले यस्तो धन्दा चलाउनेलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जनकपुरमा फस्टाउँदो यौनधन्दा नियन्त्रण गर्न प्रहरीले गस्ती बढाएको र स्थानीयले पनि आफ्नो बस्तीमा भइरहेको धन्दाबारे धमाधम जानकारी दिन थालेपछि जनकपुरमा भित्रिभित्रै फस्टाइरहेको यौनधन्दा छताछुल्ल भएको छ भने यौनधन्दा चलाइरहेका र यौनकर्मीहरु भागाभाग हुन लागेका छन् ।
होटल तथा लजमा लुकेर यौनधन्दा चलाउनेमाथि प्रहरीले निगरानी बढाएपछि जनकपुरमा यौनकर्मी कोठा भाडामा लिएर यौनधन्दा गरिरहेको घटना पनि खुलासा भएको हो । दुईवर्ष पूर्वसम्म जनकपुरको जिरोमाईल क्षेत्रका रेष्टुरेन्ट र बारमा महिला यौनकर्मीले यौनधन्दा चलाउने गरे पनि त्यस क्षेत्रका स्थानीयको विरोधपछि रेष्टुरेन्ट बन्द गराएका थिए ।
रेष्टुरेन्ट र बार बन्द भएपछि विस्थापित भएका यौनकर्मी त्यसपछि नगरक्षेत्रका होटल र लजमा ग्राहक लैजाने गरेका थिए । तर, होटलमा समेत प्रहरीले निगरानी बढाएको र पटकपटक छापा मारेर यौनकर्मी र दलाललाई पक्राउ गर्न थालेपछि यौनधन्दा गर्नेहरुले नयाँ तरिका अपनाएका हुन् ।
पतिपत्नी भनेर नगरक्षेत्रको कुनै सुनसान घरमा भाडा लिने र त्यहीं यौनधन्दा सञ्चालन गर्ने गरेको पाइएको छ । यौनधन्दामा नेपालका मात्र हैन भारतबाट समेत यौनकर्मी आउने गरेको बताइएको छ । भारतीय यौनकर्मीले बढी र नेपाली महिला यौनकर्मीले कम रकम लिने गरेको प्रहरीको सुराकीका लागी नक्कली ग्राहक बनेर गएका एक सर्वसाधारणले जानकारी गराए ।
बुधबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गणेशबहादुर थापाको टोलीले जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीमा घर भाडा लिएर यौनधन्दा चलाउने गिरोह पक्राउ गरेपछि जनकपुरको विभिन्न टोलबाट सर्वसाधारणले यस्ता क्रियाकलाप आफ्नो गाउँटोलमा यौन गतिविधि भइरहेको जानकारी गराउन थालेका छन् ।
लामो समयदेखि कोठा भाडा लिएर यौनधन्दा चलाइरहेको गिरोहमा चार महिला र तीन पुरुषलाई समातिएको डिएसपी कृष्ण प्रसाईले बताए । पक्राउ परेकालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको पनि प्रसाईले बताए । जनकपुरको जनकचोक, रामचोक, जिरोमाईल क्षेत्रमा यौनकर्मी महिला खुलेआम मोलमोलाई गरेर हिँड्ने गरेको र केही रिक्साचालकले यौनकर्मीलाई ग्राहक खोज्ने शिरिष साप्ताहिकको अनलाइनले लेखेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:
0 comments
Write Down Your Responses